शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिचिङ अस्पतालमा तनाव बढ्दै, बिरामी पनि आन्दोलनमा

सोमबार, १४ माघ २०७५, १८ : ३५
सोमबार, १४ माघ २०७५

काठमाडौँ– आज दिनभरनै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको अवस्था तनावमय रह्यो । कारण थियो प्रा.डा.गोविन्द केसीको १६ औं अनसन । साउन १० गते सरकार र केसी पक्षबीच भएको सम्झौता अर्थात चिकित्सा शिक्षा विधेयक केसीको माग अनुसार नभएको भन्दै केसीले १६ औं अनसन सुरु गरे । अनसन सुरु भएको आज २० औं दिन बितिसकेको छ । सोही बीचमा पनि सरकारले चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्यो ।

आज राष्ट्रियसभामा पनि पारित गर्नको लागि विधेयक पेश भैसकेको छ । यही बीचमा डा.केसीको जीवन रक्षा र उनले उठाएका माग सम्बोधन गर्नुपर्ने भन्दै आज टिचिङमा चिकित्सकहरुले रिले अनसन सुरु गरे ।   रिले अनसनमा नेपाल चिकित्सक संघको अगुवाईमा,आवासिय चिकित्सक संघ,विद्यार्थी चिकित्सक संघको पनि सक्रिय सहभागिता रहेको थियो । 

नेपाल चिकित्सक संघमा रिले अनसन बस्ने ठाउँ नभएको भन्दै टिचिङको गणेशमान भवन अर्थात हाल केसी अनसन बसिरहेको भवनको प्राङगणमा चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन् ।  बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रिलेअनसन बस्ने चिकित्सकहरुको पूर्व तयारी थियो तर आज रिले अनसन तोकिएको समयभन्दा धेरै पर सुरु भयो । टिचिङमा रिले अनसन सुरु हुँदा बिहानको ११.३० बजिसकेको थियो । 
रिले अनसन सुरु गरिएको समयमा ४० देखि ५० जना चिकित्सकहरु सहभागी थिए । रिले अनसनको सुरुवातमा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका बोर्ड मेम्वर डा.ढुण्डी पौडेलले सम्बोधन गरे । डा.पौडेल न्याम्सका उपकुलपतिका दाबेदार पनि हुन् । रिले अनसनलाई सम्बोधन गर्दै डा. पौडेलले सरकारले दुई तिहाईको दम्भले चिकित्सा शिक्षा विधेयक पारित गरिएको भन्दै संशोधन गरेर भए पनि डा.केसीको जीवनरक्षा गर्नुपर्ने बताए । 

डा.केसीको माग सम्बोधन नभएसम्म रिले अनसन जारी रहने समेत बताइएको छ ।  उता, गणेमान सिंह भवनमा रिले अनसनको कार्यक्रम सक्न नपाउँदै टिचिङको आकस्मिक कक्ष अघि, मनमोहन सेन्टर जाने बाटोमा चिकित्सकहरुले अनसन बस्न नहुने भन्दै विरोध सुरु भयो । विरोध गर्नेमा विरामीका आफन्तहरु समेत देखिन्थे । उनीहरुले सरकारको तलब भत्तामा काम गरेका चिकित्सकहरुले सेवा छोडेर काममा जानुपर्ने र बिरामीको बिचल्ली पार्न नहुने माग राख्दै विरोध र्याली निकाले । 

यद्यपि, विरोध गर्नेहरुले विरामीका आफन्त र सर्वसाधरण नागरिक भएको दाबी गरे पनि उनीहरु डा. केसीको काउन्टरमा अनसनमा बसेका विजय थापाको ब्यानरमा समेत देखिएका थिए ।  उनीहरु स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा चिकित्सकहरुले राजनीति गर्न नहुने भन्दै नाराबाजी गर्न थाले । नाराबाजीकै बीचमा विरामीहरुले सेवा नपाएको भन्दै ओपिडीको पूर्जा समेत फालेको दृष्य देखिन थाल्यो ।  छाती र पेट सम्बन्धी समस्या बोकेर आफू ३ दिनदेखि टिचिङमा धाउँदा पनि उपचार नपाएको टीकापुरमका अमर साउँदले गुनासो पोखे । अस्पतालमा देखाउँदा अहिले डाक्टरको अनसन छ भन्दै २१ गते अस्पताल आउनु भनेर चिकित्सकले आफूलाई फर्काएको गुनासो उनले पोखे । काठमाडौँमा आफन्त नभएपछि अहिले उनीउपचारकै लागि बसपार्कस्थित होटलमा बस्दै आएका छन् । 

विरोधमा अधिकांश युवाहरु पनि थिए । ‘डाक्टर भएर अनसन बस्ने, १६ औं पटकसम्म अनसन बस्दा नागरिकनै वाक्क दिक्क भएको’ आरोप लगाउँदै उनीहरुरुले अनसनको विरुद्धमा उत्रिनु परेको बताए । साथै उनीहरुले डा.केसी र अर्का अनसनकारी विजय थापालाई अनसन बस्ने नै हो भने टुँडिखेल र खुल्लामञ्चमा जान आग्रह गरे ।  यसरी पक्ष र विपक्षका समर्थकले अस्पताल परिसरमा रिले अनसन बस्ने र नाराजुलुस लगाई रहँदा सेवाग्राही धेरैले थापा पक्षको समर्थनको कुरामा सहमति जनाउँदै थिए । 

रिले अनसन बस्ने डाक्टरहरुलाई अस्पताल प्रशासन र प्रहरी प्रशासनले नहटाउने हो भने आफुहरु गएर हटाउने आवाज बुलन्द भएको थियो । तर सुरक्षा व्यवस्था निकै कडा भएको हुँदा उनीहरु डा.केसी समर्थक सम्म पुग्न सकेनन् । अस्पताल प्रशासन प्रमुख सूर्यप्रसाद अधिकारीले डा.केसी र विजय थापा अनसन बस्दा बिरामी भएपछि उपचार गर्न ल्याइएको बताए । 

रिलेअनसन नबस्नको लागि चिकित्सकहरुलाई सुचनानै जारी गर्दा पनि बेवास्ता गरेका कारण अस्पतालले गृहमन्त्रालयमा पत्र पठाएको उनले बताए । उनले अनसन नराख्नका लागि भन्दै थापा पक्षलाई सम्झाए । 
यता, चिकित्सकहरुले भने अनसन बस्न पाउनु नागरिकको अधिकार भएको भन्दै आफंैले काम गरेको कार्यक्षेत्रमा शान्तिपूर्ण रिले अनसन बसिएको र आफूहरुले प्रदान गर्ने स्वास्थ्य सेवामा कुनै पनि समस्या नआएको दाबी गरे । सरकारले नेतृत्व गरेको पार्टीको भातृ संगठनका युवाहरुले आफूहरुप्रति यस्तो व्यवहार गरेको चिकित्सकहरुले आरोप लगाए । 

अस्पतालमा दुई अनसनकारीका पक्ष र विपक्षबीच भनाभन भइरहँदा स्वास्थ्य सेवा आफ्नै तरिकाले चलिरहेको थियो । अस्पताल प्रशासन भने नागरिकको सेवामा कुनै पनि समस्या नहोस् भन्दै लागिरह्यो । उपचार गराउने बिरामीको तथ्याङक हेर्ने हो भने उपचारमा समस्या देखिएको छैन् । 

आज १ हजार ५ सयले टिचिङबाट स्वास्थ्य सेवा लिएका छन् । त्यस्तै आईतबार १ हजार ४ सय ९९ ले सेवा लिएका छन् । गएको विहिबार १ हजार ४ सय ९९ जना, शुक्रबार १ हजार १ सय ७३ जनाले सेवा लिएको अस्पतालको मेडिकल रेकर्ड शाखाले जनाएको छ । 

कसरी गर्ने समाधान ? 
टिचिङ अस्पतालमा भएको आन्दोलनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने प्रश्नमा अस्पतालका निर्देशक डा. प्रेम खड्गाले अनसनको माग अस्पतालले भन्दा पनि सरकारले पुरा गर्नुपर्ने भएको हुँदा समाधानको विषयमा सरकारले सोच्न जरुरी रहेको बताए । 

निर्देशक खड्गाले भने, ‘त्रिवि शिक्षण अस्पतालको प्राङ्गणमा चिकित्सकहरुले भोकहड्ताल सुरु गर्ने भन्ने विज्ञप्ति आएपछि स्वास्थ्य सेवामा समस्या नहोस् भनेर अस्पताल प्रशासनले पनि नबस्न अपिल गर्दै पत्र टास गरेका थियौँ ।’ 

सर्वसाधरणको पहुँचमा रहेको अस्पतालमा कुनै पनि धर्ना विरोध, बन्द हड्तालको कार्यक्रम नराख्न र देशको ऐन नियम र चिकित्सकको नैतिक दायित्वअनुरुप सदाझै स्वास्थ्य सेवामा सहयोग गर्न अस्पतालले चिकित्सकलाई आग्रह गरेको थियो । तर अस्पतालको अपिललाई चिकित्सकहरुले बेवास्ताा गर्दे बसेका थिए । बिहान रिले अनसन बस्ने समयमा अस्पताल प्रशासनले पटक÷पटक आग्रह गर्दा पनि नमानेको निर्देशक खड्गाले बताए । 

निर्देशक खड्गाले भोलीदेखि चिकित्सकहरुलाई अनसन बस्न नदिने बताए । निर्देशक डा.खड्गाले शान्तिपूर्ण अनसन बस्न पाएपनि स्वास्थ्य क्षेत्र जस्तो संवेदनसिल ठाउँमा बस्न नमिल्ने बताए । पक्ष र विपक्ष एउटै अस्पतालमा भएको हुँदा जति बेलामा पनि द्धन्द्ध हुन सक्ने भन्दै निर्देशक डा.खड्गाले केसी र थापालाई उपचारको लागि टिचिङमा ल्याउँदा देखिनै एकै ठाउँमा राख्न नहुने बताउदै आइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप