केन्द्रीय संस्करण

व्यङ्ग्य : हरि हरि ! हरिहीन  नेपाली वाघ्घरि ?

person explore access_timeमाघ १४, २०७५ chat_bubble_outline0

जन्तुहरूमा मान्छे श्रेष्ठ हुनाको कारण उसको चेतना, व्यवहार, नैतिकता र बोधको अलावा बोली नै हो । त्यसैले त हाम्रा मनीषिहरूले भने ‘वाक्भूषणं भूषणम्’ अर्थात् बोली वचन गहनाको पनि गहना हो ।

‘वाचकस्य गुणाः तिस्राः, स्पष्टं शुध्दं च सुन्दरम्’ मतलव बोलक्कडमा तीन गुण हुन्छन्– स्पष्टता, शुध्दता र सुन्दरता । अनि उखानकारहरूले सुझाव दिए– बोल्नु थोरै, बुझ्नु धेरै । बोल्यो कि पोल्यो । बोल्ने देख्दैन, देख्ने बोल्दैन । यी उक्तिलाई भन्दा ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चैँ चामल पनि बिक्दैन’ भन्ने उखानको आफूलाई सप्ठेरो अर्थ लाग्ने बनाएर जहाँ पायो त्यहाँ आवेगमा जाग्ने, उद्वेगमा छँटाउने वाघ्घरिहरूको बिग्बिगी पो छ त नेमुनिको देशमा । 

नेपाली जनजीवनका हरेक क्षेत्रमा बहुदल आएछि वाघ्घरि, वाचाल, वाक्पटु, वाग्मी ह्वात्तै बढे । गणतन्त्रपछि त मध्य बर्खाको खहरे र च्याउ उम्रेझैँ वाग्जाली, वाक्शिल्पी, वाचाल, वाचाट, वाचास्तेन, वाचावृद्ध, वाचस्पति, वाक्शार्दूल तथा वाक्तस्करका लस्कर बिरिल–बिरिलै उत्पादन भए । राजनीतिक र प्रशासनिक क्षेत्रमा त वाक्जालीहरूले ताली पाएर बित्थामा शासक र प्रशासकको लाली लगाई साँढे पल्टिँदै राज्यकोषका भएभरका बालीमा हालीमुहाली पो मच्चाए । परिणाम नेपाल विश्वमै भ्रष्टाचारको उर्वर भूमि, असी प्रतिशतभन्दा बढी आयातमुखी र प्रतिव्यक्ति तीस हजार विदेशी ऋणको कुम्लो बोक्नेमा दरिन पुग्यो । बच्चो जन्मेर च्याँहाँ गर्ने बित्तिकै तीस हजारको कुम्लो यहाँ ! भन्न पर्ने थिति आयो । भिक्षाटन र विप्रेषण समाजवादोन्मुख देशको अर्थतन्त्रको स्तम्भ र अचूक मन्त्र पो बन्यो बा ! 

त्यसै भएर हिजोका नीतिकार र योजनाविद्ले भने– ‘मनस्येकं वचस्येकं, कार्यस्येकं महात्मनाम् । मनस्यन्यत् वचस्यन्यत्, कार्यस्यन्यत् दुरात्मनाम् ।।’ यो संसारमा दुई प्रकारका मानिस छन्, जो मन, वचन र काममा एकरूपता देखाउँछ त्यो महात्मा वा महानायक हो, जो मनले एउटा कल्पना गर्छ, बोलीले अर्कै भन्छ र काम बेग्लै गर्छ त्यो दुरात्मा वा खलनायक हो । आज हामी दोस्रो सूत्रले पेलिएर बेलिएर जेलिएर अन्धकारको जँगारमा यात्रारत छौँ भन्दा अति हुँदैन । हो वाक्शिल्पी र वाघ्घरि त मनग्गे छन् तर गलत तत्वले आत्मामा राज गर्दा सुशासन संवृद्धि, विकास, अन्धोलाई ऐना र खोरण्डो जमातलाई दौड प्रतियोगितामा थमाउनुजस्तै बन्न पुगिराखेको छ । 

न्यायमूर्तिको बोली सुन्दा अब त भोलि अन्याय हिरण्यकशिपुकी बहिनी होलीझैँ सकिने होला जस्तो लाग्छ । योजनाविद्को भाषण श्रवण गर्दा यी त श्रवण कुमारै हुन् भान हुन्छ । शिक्षाबेत्ताको पोटिलो कार्यपत्र पढ्यो अब त बल्ल चोटिलो हुने भो शिक्षा भनेर नाच्न मन लाग्छ ।

विकासविद् र मेलमिलाप– विज्ञका योजना देख्दा ह ! भनेर हाँस्न जोस उठ्छ । त्यस्तै सामाजिक सुधार, आर्थिक उत्थान, निरक्षरता उन्मूलन, देशमा भएका खानीहरूको उत्खनन् र परिचालन, बजारनियन्त्रण, उपभोक्ताका हित, औद्योगिक क्रान्तिका भीष्म प्रतिज्ञाका मुद्दा सुन्दा नेपाली वाघ्घरिहरूलाई हरि हरि भनेर प्रणाम गरूँझैँ हुन्छ । विडम्बना ! तर यी सबैका मन धनतिरै कुदेका, अकूत सम्पत्ति कसरी कमाउने भनेर चिन्तित हुँदै कामले बाङ्गो बाटो समातेको नाङ्गो रूप देख्दा वैरागै छुटेर आउँछ बा ! 

हरेक क्षेत्रका बेत्ता वा विज्ञ किन यसरी अज्ञ बनेर प्रज्ञमा ध्वाँसो दल्छन् ? प्रश्नहरू चिमोट्छन्, निमोठ्छन् र घाँटी समाएर हैरान बनाउँछन् । बोल्यो कि पोल्यो भन्ने चुरो कुरो भुरो बनेर बिर्सन मिल्छ र ? दायित्वको पगरी गुतेकाहरूले ? अब यहाँका वाघ्घरि, वाक्पटु, वाक्शिल्पी र प्रखर वाक्हरिले कर्महरि, मनहरि, जाँगरहरि आफूलाई बनाउन सक्नुपर्यो । मात्रै बक्बकोपाध्याय भई वाक्छलीको छडीलाई कडी बनाउने घडी सकिए । धेरै वाक्चट्टूका ढँट्टू वाचाले आचा खाए ।

वाक्जालीका धसेका लालीले विकास, समृद्धि र सुशासनमा इन्फेक्सन मच्चाए । नेपालीका दुःख र पीडा हर्न सक्ने हरि नै हरि हो, सच्चा करी हो, मधुर चरी, जरी, परी र नम्बरी सुन हो । आफू वाक्पटु छु भनेर यी आख्यानलाई कटु ठानी व्याख्यान गर्न भुल्ने थुतुनु कसरी मुखको दर्जा पाउँछ ? बोलक्कड मात्र भएर हुँदैन बुझक्कड पनि हुनुपर्छ । तर यो कुरामा मै हूँ भनेर गर्जने भाषणबाज सधैँ भुलक्कड बनेको देख्दा जङै उठ्छ गाँठे ! 
   

 बोल बोल मछली मुख भरी पानी, भन्ने ब्रह्मसूत्र भुलेर काँ के भन्दा ताली पाइन्छ त्यही बोलिदिने जमातले बोली, गोली, पानी र ग्राहक कहिल्यै फर्किन्नन् भन्ने ध्रुव सत्यलाई इन्कार गरेको देख्दा अचम्मै लाग्छ बा ? बोलीचाली धेरै मिठो, चलन व्यवहार साह्रै छोटो भनेझैँ हुँदा कैयौँ वाघ्घरि जनताका घोर अरि हुन पनि पुग्छन् । बोली मीठो तर पटेमा करौँती, भयो भने जस्तोसुकै वाचाल पनि पाताल पुग्छ । बोलेर साध्य र नुहाएर उपाध्य हुने हैन, भन्ने सूत्रलाई वाग्मीहरूले गोमूत्र मानेमा राम्रो । बोलेर टाठो र दगुरेर छिटो बनिँदैन वक्ता प्रभु हो ! बोल्न नजाने रुनुपर्छ भनेर हाम्रा बूढापाकाले त्यसै भनेका हैनन् । त्यसै भएर बक्बकेहरूलाई चेतावनी दिँदै हाम्रा उखानशिरोमणिहरूले फलाके– बोल्न नजाने लेख्नुपर्छ, हग्न नजाने सोहोर्नुपर्छ । थुतुनो र  ...के जात्ति जोगाउन गाह्रो छ । कम बोल, धेरै सुन । जो मितभाषी त्यो सबैको खासी । 

‘वाक्’ भन्नाले शब्द, आबाज, भाषा, उखान, वयान, वाणी, बोली, वचन, सरस्वती भनेर बुझिन्छ भने ‘हरि’को अर्थ प्राणीहरूको ताप हरण गर्न सक्ने, भगवान् (विष्णु, इन्द्र, ब्रह्मा, शिव, अग्नि, कृष्ण, राम, घोडा, सिंह, सूर्य, किरण, स्याल, सुगा, कोइली, भ्यागुतो, हाँस, सर्प, वायु, यमराज, शुक्र)  मयूर, राजा भर्तृहरि, मानिस, विवेक, आदि थाहा हुन्छ । यस्तो महान् आसय लुकेको वाघ्घरि, वाचाल, वाग्मी, वाक्शिल्पी, वाक्पटु, शब्दको उज्यालो विम्ब बिर्सिएर नेपाली वाघ्घरिहरू हरिहीन हुँदा उनीहरूमा श्री नै चम्कन छोडिसक्यो । भर्खरै भेनेजुएलाको आन्तरिक मामलामा एक वाक्पण्डाले दिएको भाषणलाई लिएर अमेरिकाले सरकारसित स्पष्टीकरण सोध्न कसिएको छ ।

राता वक्ताका ताता वक्तव्यले सत्ताधारी दलकै हातामा भूकम्प जाला कि जस्तो जोखिम पो भयो त गाँठे ?  होसियार, हरि मरेका वाक्हरि ! विचार विनिमयको सशक्त साधनको बोली खोलीमा पुग्ला ? विवादको भुँमरीमा देश फस्ला ? सबै क्षेत्रका वाचाल पण्डाहरू ! ठण्डा भएर सोच ! त्यसै सस्तो नबनाऊ सरस्वतीको प्रतीक वाणीलाई । 
                       

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...