शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : अङ्गदान

शनिबार, १२ माघ २०७५, १३ : ०३
शनिबार, १२ माघ २०७५

– राकेश कार्की
        
तिमी व्यर्थ किन
‘म म’ भन्छौ
जब कि तिमी तिमी नै हैनौँ
सम्झ त मानिसहरू
ड्राइभिङ लाइसेन्स भर्दा
कुन कुन अङ्ग दान गर्ने
भनेर चिन्ह लगाउँछन् 

तिमी मेरो आँखा भन्छौ
हेरेर दङ्ग पर्छौ
जुधाउँछौ, लजाएर झुकाउँछौ
राता राता पारी रिसाउँछौ
चिसाउँछौ, पुछ्छौ
निदाउछौ, सपना देख्छौ
त्यही आँखा दान गर्नासाथ
त्यो तिम्रो आँखा अर्कैको हुन्छ
अर्कैले हेर्छ, रमाउँछ
आदि इत्यादि गर्छ
अनि कसरी त्यो आँखा तिम्रो भो !

तिमी तिम्रो मुटु आफ्नो भन्छौ
माया गर्छौ, सँगाल्छौ
धड्कन चलाउँछौ, सुनाउँछौ
दुःखाउँछौ, चिराउँछौ, घाउ बनाउँछौ
शरीरकै मुख्य अङ्ग भन्ठान्छौ
तर त्यही मुटु दान गर्नासाथ
अर्कैले चलाउँछ, माया गर्छ, सँगाल्छ
दुखाउँछ, चिरा पार्छ
अनि त्यो मुटु पनि
तिम्रो हुँदैन अर्कैको हुन्छ

त्यस्तै तिम्रो मिर्गौला, फोक्सो, कलेजो 
दान गर त
त्यो पनि अर्कैको हुन्छ

अब तिम्रो शरीरको 
जुन जुन अङ्गलाई
तिम्रो अङ्ग भनेर 
घमण्ड गर्छौ
जतन गर्छौ 
माया गर्छौ
त्यही अर्कोलाई दान गरेपछि
तिम्रो हुँदैन

तिम्रो आँखा न तिम्रो हो
तिम्रो मुटु न तिम्रो हो
न त मिर्गौला, फोक्सो, कलेजो नै
तिम्रो हो
अनि तिम्रो चाहिँ के हो त ?

लस एन्जेलस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप