केन्द्रीय संस्करण

डा. केसीको अनशन र संसदको वज्रयुद्ध

person explore access_timeमाघ १२, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

  गाउँबस्तीका भुक्तभोगीहरु भन्छन् दुई बथान ब्वाँसाका बीच घमासान लडाइँ पर्यो भने अदना गाईहरुलाई सजिलोे हुन्छ । तिनीहरु सुरक्षित रहन सक्छन् । 

हुन पनि जङ्गलराजमा कहिलेकाहीँ समानधर्मी हिंस्रकहरुका बीच घम्साघम्सी पर्दा तिनका लक्षित शिकारहरुले उम्कन पाउने सम्भावना रहन्छ ।

नेपाली कांग्रेस पश्चिमा प्रेरित निजीकरणको अभियन्ता नै हो । निजीकरण अभियान सञ्चालन बापत पश्चिमाहरुबाट पुरस्कृत समेत हो । 

शिक्षा र स्वास्थ्यमा निजीकरण नेपालीकांग्रेसको अभियानभन्दा बाहिरको कुरा होइन । यसै भएर कांग्रेसले आफ्नो राज्यकाकालमा डा. केसीको मागअनुकूल विधेयक ल्याउने र पारित गराउने कोसिस कहिल्यै गरेन ।                                                                                                                                                                                            

यसै भएर डा. केसीको जनमुखी मागको सत्याग्रह संघर्षलाई नेपाली कांग्रेसले अस्वाभाविक समर्थन गरेर बिटुल्याइदियो भन्नेहरु समाजमा प्रसस्त भेटिन्छन् । साथै हरेक व्यवहारमा भाइ कांग्रेस भए बापत नेकपालाई नेकपाली कांग्रेस भन्नु मनासिप पर्छ भन्नेहरु पनि समाजमा भेटिन्छन् । सारमा कुरा एउटै हो ।  

यसपाली सदनमा नेपाली कांग्रेस र नेकपाली कांग्रेसका बीच घम्साघम्सी देखियो । घम्साघम्सीको यो संस्कृति कायम रह्यो भने नेपालमा एनसेल काण्ड, ३३ किलो सुन काण्ड र वाइडबडीकाण्डजस्ता काले काले मिलेर भाले खाने पचाउने काण्डहरु दोहोरिन सजिलो पर्दैन । जनताका लागि यो राम्रो कुरा पनि हुनसक्छ । 

भोका र अनशनले ओेछयान परेका एक्ला र वृद्ध डा. केसीसँग मुलुकको दुइतिहाई वहुमत प्राप्त संसद यतिसारो डराएको पनि श्रव्यदृश्यहरुमा प्रत्यक्ष देखियो । दुईतिहाईको बलमा जबर्जस्ती विधेयक पारित गर्ने हतारोमा सम्माननीय सभामुखको जिभ्रो नै लटपटिएर हुँदैन भन्नेहरुको वहुमत भएकोले विधेयक पारित भएको घोषणा गर्छु भनेको पनि प्रत्यक्ष सुनियो । 

हामी नेपाली जनता आज एक अभूतपूर्व विस्मय र अलमलमा छौं । यो स्वास्थ्य विधेयक जनताका निमित्त र जनताकै  हितमा थियो भने जनतालाई चित्त बुझाएरै पारित गर्न सकिन्थ्यो । यसरी आत्तिँदै हतारिँदै आम जनताको चित्त दुखाएर पारित गर्नुपर्ने थिएन । 

डा. केसी जनता हुन् । उनको आवाज जनताको आवाज हो । डा. केसीले जन स्वास्थ्यक्षेत्रमा जनताका पक्षबाट वकालत गरेका हुन् । डा. केसीका मागहरु जनपक्षीय र समय सान्दर्भिक थिए र नै सरकारले पटक पटक सम्झौता गरेको थियो । माग जायज नभएको भए सरकारले सम्झौता गर्ने थिएन । डा. केसीसँग सरकारले पटक पटक संझौता गर्नु र पटक पटक उल्लंघन गर्नुको प्रेरक तत्व के थियो ? यो पनि अव जनताले बुझ्न नसकिने कुरा रहेन । हामीकहाँ वहुसंङ्ख्यक सांसदहरु वहुआयामिक हुनुहुन्छ । ठेक्का व्यवसाय, शिक्षा व्यवसाय, स्वास्थ्य व्यवसाय, र अन्य विभिन्न व्यवसायका साथ राजनीति व्यवसायमा समेत योगदान दिन लागिपर्नुभएको छ । वहाँहरुका वहुआयामिक जिम्मेवारीहरु छन् । कतिपय विधेयक जबर्जस्ती पनि पारित गर्नपर्नुका वाध्यता यसैका परिणाम पनि हुन् ।

कनुन कसको हितमा हुनुपर्छ यो राजनीति दर्शनको सवालहो । जहाँ सिद्धान्त र दर्शनले चलाएको राजनीति छैन र व्यवसायीहरुले चलाएको राजनीति छ, त्यहाँ कानुन सत्तासीनहरुका स्वार्थको बाली काट्ने औजार बाहेक अरु के हुन सक्छ ? यस्तो त नेपाली जनताले राणाकाल र पन्चायत कालमा पनि भोगेकै थिए । 

नेपालमा अहिले संसदबाट जर्जस्ती पारित गरिएको विधेयक कसको हितमा छ ? सदन र सरकारको हरकतबाटै जनताले यसको जवाफ भेटेकाछन् ।

विधेयकले डा. केसीको भावनाको प्रतिनिधित्व गरेको छ भन्दै भाषण ठोक्ने नेकपाका नेताहरु प्नि मिडियामा सुनिए । विधेयकले जनताको र डा. केसीको भावनाकै प्रतिनिधित्व गरेको थियो भने डा. केसीकोमै गएर भन्न सकिन्थ्यो । जर्कनु, तर्कनु र जबर्जस्ती गर्नु आवश्यक थिएन । डा० केसीप्रति यति नकारात्मक बन्नु आवश्यक थिएन । एक सन्त सत्याग्रहीका विरुद्ध देखिने गरी यति दुःखद शैलीबाट विधेयक पारित गर्नुको आवश्यकता पनि थिएन ।

संंसद साँच्चै जनहितप्रति प्रतिवद्ध थियो र यसले राम्रो काम गर्न चाहेको थियो भने ह्वीप लगाएर जबर्जस्ती स्वासथ्य विधेयक पारित गर्नु पथ्र्यो र ? सभामुख, शिक्षामन्त्री र सांसदहरुले त्यति सारो प्रेसर बढाउनु पथ्र्यो र ? जसरी पनि पारित गर्ने भनेको के ? बलमिच्याइँ होइन ? एउटा निरीह सत्याग्रहीमाथि यत्रो दुइतिहाइ शक्तिको बलमिच्याइँ किन  ?

हे, सत्याग्रह पनि विरोधकै एउटा रुप हो । चन्द्रशमशेर, जुद्धशमशेर, मोहनशमशेरहरुलाई पनि आफुले गरेका जबर्जस्ती बापत रैती दुनियाँले गरेको विरोध मन पर्दैनथ्यो । यो हामीले हाम्रै इतिहासमा भोगेको यथार्थ हो । यस कोणबाट हेर्दा शिक्षा स्वास्थ्यमा निजीकरणका पक्षधर लगानीकर्ताहरुलाई डा. केसीको सत्याग्रह मन नपर्नु पनि कबाफ खान बसेकालाई हड्डी मन नपर्नुजस्तै स्वाभाविक हो । तर लोकतान्त्रिक भनिएको सरकार र सदन स्वयम् व्यवसायीहरुको स्वार्थमा बहकिएर यसरी जबर्जस्ती शैलीमा उत्रनुचाहिँ त्यति स्वाभाविकि देखिएन । यो जनताका धारणाको कुरा हो ।

डा. केसीका शैली र प्रस्तुति त्रुटिरहित नहुनसक्छन् । उनलाई उपयोग गरेर आफ्नो दुनो सोझ्याउन तम्सिएका देशी विदेशी तत्वहरुले उनका मागमा असान्दर्भिक माग थपिदिएका  प्नि हुन सक्छन् । मूलतः डा. केसी स्वास्थ्यक्षेत्रका व्यक्तित्व हुन् र उनको मुख्य माग स्वस्थ्यसँग सम्बन्धित मागहरु न्ौ हुन् । हामी जनताको चासो पनि तिनै मागहरुप्रति हो । गलत मानिसले पनि कदाचित् सही कुरा गर्छ भने त्यो मान्नुपर्छ भने डा. केसी गलत मानिस पनि होइनन् । उनीसँग उनका त्याग तपस्या साक्षी छन् । नेकपा हिँगबाँधेको टालो मात्र पनि हुँदो हो त डा. केसीका मागहरु ने क पा का आफ्नै नीतिगत आवश्यकताहरु बन्दाह्ुन् । हैन र ?

देश र जनताको सर्वेात्तम हितका लागि जनताले नासोका रुपमा दिएको सर्वोच्चतालाई देश र जनताका हकहित विरुद्ध उभिन नारा बनाइनु व्यङ्ग्यात्मक नाटक र प्रहसनमा मात्र स्वाभाविक देखिन सक्छ । सदनमा होइन ।

हो, यस्तोे हुनुका पछाडिको जगजाहेर कथा अर्कै छ । यो कथा यस लेखमा पटक पटक सङ्केत गसिकिएको छ । यहाँनिर सत्तासीनहरुका वाध्यताका कुरा पनि छन् । 

वाइडबडीमा नेपाली कांग्रेस र नेकपाका सवै शीर्षहरु र अवयवहरु अटाएको देखियो । एनसेल र ३३ किलोमा अटाएकाहरु वाइडवडीमा नअटाउने कुरा पनि भएन । यसबाट भ्रष्टाचारको सङ्ंक्रमण मुटुमै पुगेको संकेत भेटियो । मुटूमै पुगेको संक्रमणबाट सरकारको पक्ष प्रतिपक्ष को कसरीे जोगिन सक्थ्यो र ? यो यस्तो स्थितिमा सांसदहरु विभिन्न व्यवसायमा सम्मिलित हुनु र ती व्यवसायको हित अनुकूल कानुनहरु निर्माण गर्न लागिपर्नु पनि कुनै अनौठो कुरा रहेन । यद्यपि आजको नेपालको आवश्यकता अस्पताल हो, शिक्षण अस्पताल होइन । शिक्षण अस्पताल नेपालका गरीब घरपरिवारका विद्यार्थीहरुका पहुँच बाहिरको आकाशे फल हो र धनवान् व्यवसायीहरुका लागि तुलनात्मक रुपमा सर्वाधिक नाफाको व्यवसायहो । यसैले नाफामुखी व्यवसायीहरुका लागि मुलुकमा अस्पतालका नाममा शिक्षण अस्पताल नै चाहिएको छ ,। नफा त्यसैमा छ । यो पनि जगजाेिहेर कुरा नै भयो ।

जहाँसम्म हामी जनताको मनशायको कुरा हो, सिद्धान्त र निष्टाका तहमा कम्युनिष्ट नरहे पनि कम्युनिष्ट नाम र समाजवाद नाराका आधारमा जनताबाट भोट पाएर सत्तामा पुगेकाहरुले नाम र नाराको लाज धान्नकै लागि पनि शिक्षा र स्वास्थ्यमा निजीकरणको पक्षपोषण गर्न गति छाडेरै अघिसर्नु उचित थिएन । निजी करणका यस्ता अभियानमा लाग्दा नेकपाका प्रधानमन्त्री, मन्त्री र सांसदहरु प्नि नेपाली कांङ्ग्रेसका विगतका प्रधानमन्त्री मन्त्री र सांसदहरुभन्दा फरक देखिएनन् ।

सत्याग्रहही डा. केसीमाथि दुइतिहाइ सांसदहरुको कथित विजय पनि जनताका बगैँचाको एउटा सुन्दर फुलमाथि जङ्गे तरबार प्रहार गर्नुजस्तै लज्जास्पद मात्र देखियो ।

यो स्थितिले हामी जनतालाई थप के सङ्केत दियो भने नेपालको राजनीतिमा जनताले सचेत र सन्नद्ध रहनुपर्ने अवस्था अभैm बाँकी नै छ । ढुक्क हुन सकिने दिन अभैm आएको छैन ।

अन्तमा एउटा पौराणिक प्रसङ्गः— 

मार्कण्डेय पुराणमा शुम्भ निशुम्भ नामका दैत्यराजहरुको एउटा कथा छ । शुम्भ निशुम्भ त्यति बेलाका सर्वोच्च शक्तिशाली थिए । संसारै जित्यौँ भन्ने ठानेर  मैमत्त थिए ।  तिनका दरबारमा भोगविलाासका निमित्त  किसिम किसिमका साधनहरुको कमी थिएन । यति हुँदा पनि सन्तुष्ट थिएनन् । 

थप सुखसयलका साधन सामग्रीको खोजका क्रममा शुम्भ निशुम्भका गुप्तचरहरु संसारमा यत्र तत्र घुमिरहन्थे । तिनै मध्येका मुख्य गुप्तचर चण्ड र मुण्ड घुम्दैफिर्दै एक दिन हिमालय भेगमा पुगे । त्यहाँ तिनीहरुले  हिमाली पाखाका रङ्गीन गलैंचाजस्तै फुलबारीमा टहलिइरहेकी अत्यन्त सुन्दरी युवति पार्वतीलाई देखे । हस्याङ्फसयाङ् गर्दै दगुरेर दर्बार पुगे । शुम्भ निशुम्भसँग भेटे र भने, महाराज, हामीले हिमालयमा एउटी बेजोड सुन्दरी युवति देख्याैं। 

आज हजुरको दरबारमा के छैन ? व्रह्माको हंसक विमान हजुरकै आागनमा छ । विष्णुको गरुडक विमान यहीँ छ । इन्द्रको बाइपक्षी घोडा हजुरकै तबेलामा छ । इन्द्रको ऐरावत  हात्ती हजुरकै हात्तीसारमा छ । कुबेरका धनसम्पत्तिको अक्षय कोष हजुरकै दरबारमा छ । धर्ती र समुद्रमा पाइने हिरा मोती मणि माणिक्य,लगायतका अनमोल रत्नहरु हजुरकै दरबारमा थुप्रेकाछन् । हिमालयकी सौन्दर्य ती नारीरत्न पनि हजुरको दरबारमा हुनुपर्छ । 

चण्डमुण्डका कुरा सुनेर शुम्भनिशुम्भ जुरुक्क भए ।  युवतिलाई दरबारमा ल्याउन चौतर्फी प्रयासमा लागे । यसै प्रयासका सन्दर्भमा शक्ति स्वरुपिणी भगवतीसँग भयंङ्कर युद्ध भयो । युद्धमा अगणित योद्धाहरुका साथ शुम्भ निशुम्भको पनि  अवसान भयो । 

त्यसताका आगरामा ताजमहल ठडिएको भए शुम्भनिशुम्भलाई त्यो पनि चाहिन्थ्यो । विश्वका आठ आश्चर्य मानिने स्थापत्यहरु सवै चाहिन्थे ।

चरम भोगविलासी चरित्रका प्रतीक हुन् मार्कण्डेय पुराणका शुम्भनिशुम्भ । अहिले मार्कण्डेय पुराणको जमाना छैन ।  संसारमा शुम्भ निशुम्भ नामका विलासी महासामन्तहरु प्नि छैनन् । नेपालमा पनि छैनन् । 

तथापि सत्तासीनहरुमा अनन्त भोगविलासको अभिलाषा र आकाङ्क्षा भने आज पनि त्यत्तिकै रहेको देखिन्छ । यसैले सत्तासीनहरुलाई वेला वेला गलत अभियानमा पनि जुरुजुरु पार्छ ।

आजका शक्तिशाली भगवती अरु कोही होइनन् तमाम नेपाली जनता हुन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...