बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शेयर विवादले होटल हायातको बिस्तारमा बाधा

शुक्रबार, ११ माघ २०७५, ०९ : २९
शुक्रबार, ११ माघ २०७५

सरकारको शेयर घट्दै गएको बिबादले काठमाडौंको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल ‘हायात’ नेपालको स्तरोन्नति र बिकासमा बाधा पुगेको छ । नेपाल सरकार अन्तर्गतको तारागाउँ विकास समितिको सुरुको शेयर लगानी २२.६७ प्रतिशत रहेकोमा त्यसको अनुपात घटेर हाल ९.०१ प्रतिशत कायम भएको छ ।

तर, होटल हायात व्यवस्थापनको स्पष्टोक्ति छ, ‘ऋण पुनर्तालिकिकरणको व्यवस्थाअनुसार २०६४ मा जारी अग्राधिकार शेयरलाई २०७१ मा साधारण शेयरमा परिवर्तन गरेको थियो, जसबाट बैंक तथा वित्तिय संस्थाहरुको शेयर प्रतिशत बढ्न गयो भने संस्थापक र साधारण शेयरधनीहरुको शेयर प्रतिशत घट्न गयो ।’ 

जव कम्पनी घाटामा चल्छ तव हकप्रद शेयरबाट पूँजी वृद्धि गर्नुपर्ने हुन्छ कि ऋण लिनुपर्ने हुन्छ । २०६३ सालमा हकप्रद शेयर खुल्ला गर्दा तारागाउँ विकास समितिले १० करोड २० लाख बराबरको हकपद शेयर किन्नु पर्ने थियो, त्यो नकिन्दा सरकारको शेयर घट्न सुरु भयो । होटलको लागत बढ्दै जाँदा शेयर थप्नु पर्ने थियो तर सरकार यसबाट पछि हटेको देखिन्छ ।

‘०६३ मा कम्पनीले जारी गरेको हकप्रद शेयरलाई तारागाउँ विकास समितिले नकिन्दा शेयर अनुपात स्वत घटेको हो । लगानीकर्तामध्येका शेयर किन्नेहरुको शेयर बढ्यो भने नकिन्नेको स्वत घटेको हो ।’ होटलका जनसम्पर्क प्रमुख तथा प्रवक्ता गोविन्दराम परियारले बताए, ’घाटामा गइरहेको होटलमा आइसीटीसी र सर्राफ समूहले भने लगानी थपेका थिए । उक्त समय तारागाउँ विकास समितिको शेयर घटेर १५ प्रतिशतमा पुगेको थियो ।’

२०५१ मै एशियाली विकास बैंकसँग भएको सम्झौता अनुसार शेयर संरचनामा केही फरक आएको थियो । शुरुमा ५ करोड बराबर शेयर हायात इन्टरनेशनल कर्पोरेशन अमेरिकाले खरिद गर्ने भनेर छुट्याइएकोमा हायातले त्यस बखत असमर्थता जनाएपछि सो साधारण शेयरहरु पनि संयुक्त लगानी साझेदारले खरिद गरेको थियो ।

२०६४ सालमा एशियाली वकास बैंक र कोरियन बैंकबाट कम्पनीले लिएको ५८.६० करोड ऋणलाई  साधारण शेयरमा र ब्याज रकम मध्येको केही रकम २१.२० करोडलाई अग्राधिकार शेयरमा परिवर्तन गरिएको हुनाले बैंक तथा वित्तिय संस्थाहरुको शेयर प्रतिशत बढ्न गयो ।

तर संस्थापक र सर्वसाधारण शेयरधनीहरुको शेयर प्रतिशत भने घट्न गएको थियो । तत्पश्चात तारागाउँ विकास समितिको १०.५ प्रतिशत, संयुक्त लगानी साझेदारको २९.३८ प्रतिशत, सर्वसाधारणको ११.४७ प्रतिशत र बैंक तथा वित्तिय संस्थाहरुको ४९ प्रतिशत शेयर हुन पुगेको थियो ।

सरकारी जग्गाको विषयमा महालेखा परीक्षकको प्रतिवेदनले पुनर्विचार गर्नुपर्ने सुझाव दिएको थियो । प्रतिवेदनमा होटलले भाडामा लिएको बाँकी १ सय ५४ रोपनी जग्गाको हकमा उचित तवरले पुनर्मुल्याङ्कन गरी उपयोग गर्न निर्देशन पनि दिएको थियो ।

यस विषयमा होटलले भने लगानी भईसकेको पूँजी एक पक्ष लगानीकर्ताको लागि मात्र कुनैपनि अवस्थामा पुनर्मुल्याङ्कन हुने कानुनी व्यवस्था तथा मान्यता कहि नभएको बताएको छ । कम्पनीले वार्षिक ३७ लाखमा ४९ वर्षको लागि जग्गा लिजमा लिएको थियो । अहिले आएर जग्गाको मोलमोलाई गरिनु तर्कसंगत नहुने कम्पनी बताउँछ ।

त्यस्तै हो भने नेपालमा खुलेका थुप्रै प्राइभेट कम्पनीहरु जग्गा लिजमा लिएर संचालित छन् यदी ति कम्पनीहरुलाई जग्गाको मुल्यअनुसार लीज रेटमा पनि थपघट गर्ने हो भने कम्पनीहरु स्वतह मर्कामा पर्छन् । लीज सम्झौतामा यती वर्षसम्मको लागि भनिएपछि त्यही अनुसारको प्लानिङ कम्पनीले गरेको हुन्छ ।

जहाँसम्म यो विवादको विषय छ, यसमा विवाद गर्नु भन्दा पनि वास्तविकता छानविनमा सरकार जानुपर्ने तारागाउँ रिजेन्सी होटलको पनि भनाई छ ।

सरकारले हायातको सत्यतथ्य पत्ता लगाएर छिटो निर्णय गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघिनै बताइसकेको छ । यसबाट तारागाउँ रिजेन्सी होटल (हायात)को विवादमा मन्त्रालयले देखाएको चासोले समस्या समाधानमा सरकार अग्रसर देखिन्छ जसले विवाद समाधान हुने विश्वास गर्न सकिन्छ ।

शेयर किचलोका कारण, हायात होटलको अन्तर्रा्ष्ट्रिय स्तरको एक्जिभिसन सेन्टर बनाउने तयारीमा अवरोध पुगेको छ । ’नक्सा पास भइसके पनि केही कानुनी अड्चनले काम अगाडी बढाउन नसकिएको’ प्रवक्ता परियारले बताए ।

होटलले इन्डियन र चाइनिज पर्यटकलाई लक्षित गरेर ४ सय बेडको विजनेश होटलको कन्सेप्ट पनि ल्याएको छ, जसले नेपालमा धेरै भन्दा धेरै इन्डियन र चाइनिज पर्यटकलाई भित्र्याउन सहयोग गर्नेछ । 
त्यसैगरी, होटलले कल्चरल भिलेज बनाउने अर्को प्रजेक्ट पनि अगाडी सारेको छ ।

कल्चरल भिलेजले नेपालका विभिन्न जातजातीका कल्चरलाई प्रतिनिधित्व गर्नेछ । साथै पर्यटकलाई नेपालको कला संस्कृतिबारे जानकारी दिनेछ । कल्चरल भिलेजको रुपमा गुरुङ, शेर्पा अनि थारु समुदायलाई प्राथमिकतामा राखेको होटलले बताएको छ ।

हायातले कल्चरल भिलेजलाई ’मिनि ठमेल’को रुपमा निर्माण गर्ने बताएको छ । जसलाई हायात होटलबाट बौद्ध स्तुपासम्म मिनि ठमेलको स्वरुपमा विकास गरीने र पर्यटकले १ दिन त्यही स्थानमा विताउन सक्ने खालको हुने हायातले बताएको छ ।

हायातले विगत लामो समयदेखि भाडा मात्र तिरेर राखेको १ सय ५४ रोपनी खाली जग्गामा कल्चरल भिलेज, विजनेश होटलका साथै इन्टरनेशनल इभेन्ट र एक्जिभिसन सेन्टर बनाउने तयारी गरेको हो । तर, तारा गाउँ विकास समितिको स्वीकृति नपाउँदा उक्त प्रोजेक्ट रोकिएको प्रवक्ता परियारले बताए ।

तारागाउँ विकास समितिसँग र पर्यटन मन्त्रालयसँग पनि पत्राचार भइसकेकाले यदी बेलैमा स्विकृती पाएमा योजना पूरा गर्न होटल तयार रहेको उनि बताउँछन् ।
तारागाउँ रिजेन्सी होटललको अर्को योजना हो,  ७ तारे होटलको । निकट भविष्यमा होटलको स्तरोन्नति गरी अत्याधुनिक सुविधाको ७ तारे बनाउने योजना व्यवस्थापनले अगाडी सारेको छ ।

पर्यटन प्रवर्धनमा हायात होटल

पर्यटन प्रवर्धनमा टेवा पुर्याउन सहयोगी हुने लक्षसहित खोलिएको थियो हायात होटल, जस अनुरुप संचालनमा आएको लामो समय पश्चात २०७२–७३ र २०७४–७५ मा नेपालमा सवैभन्दा धेरै पर्यटक भित्र्याएको र सवैभन्दा धेरै कर तिरेको भनी नेपाल सरकारले पुरस्कृत पनि गर्यो । तारागाउँ रिजेन्सी होटलले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको होटलका जनसम्पर्क प्रमुख तथा प्रवक्ता गोविन्दराज परियारले बताए । 

सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । यसमा हायात होटलले सरकारलाई पूर्णरुपमा सहयोग गर्ने र पर्यटक भित्र्याउन सक्दो पहल गर्ने बताएको छ । 

यसरी संचालनमा आएको हो हायात होटल 

तारागाउँ रिजेन्सी होटल हायात नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य स्वरुप विसं. २०५७ सालबाट संचालनमा आएको हो । विसं. २०४९ सालमा नेपालमा सुविधा सम्पन्न पाँचतारे होटलको आवश्यकता महसुस गरी सरकारले नै योजना अगाडी सारेको थियो । सरकार मातहतको तारागाउँ विकास समितिकी अध्यक्ष अंगुरवावा जोशीले उक्त योजनाबारे सरकारलाई प्रस्ताव गरे पश्चात होटल खोल्ने तयारी सुरु भयो । 

नेपालमा बढ्दो पर्यटक अवागमन र वेलावेला हुने अन्तर्रा्ष्ट्रिय सभा सम्मेलनमा आउँने पाहुनालाई राख्ने उच्चस्तरीय होटलको परिकल्पना स्वरुप हायातको अवधारणा आएको थियो । जसको स्वामित्व सरकारले लिने र संचालन निजी क्षेत्रले गर्ने गरी मोडालिटि तयार भयो । 

जोशीले पर्यटन मन्त्रालय समक्ष पेश गरेको प्रस्तावमा नेपालमा एउटा यस्तो पाँचतारे होटल बनाउने, जसले नेपालको कला संस्कृती झल्काउने र पर्यटकलाई आकर्षित गर्ने खालको होस् भन्ने थियो । र, उक्त प्रस्तावलाई सरकारले स्विकृती दियो ।

सोही योजना अनुसार तारागाउँ विकास समितिले ग्लोबल टेन्डरको आव्हान ग(यो। उक्त टेन्डर श्रेष्ठ तथा सर्राफ समूहले पाउन सफल भयो । र, तारागाउँ विकास समिति र संयुक्त लगानीकर्ताबीच सम्झौता भयो । 

सरकार मातहतको तारा गाउँ विकास समितिसँग उक्त समय ३ सय ४ रोपनी जग्गा रहेकोमा १ सय ५० रोपनी होटल निर्माणका लागि दिने र बाँकी १ सय ५४ रोपनी ४९ वर्षका लागि लिजमा दिने निर्णय भयो । होटल निर्माण गर्न दिने जग्गाको मूल्य बराबरको शेयर भने सरकारको हुने निर्णय भयो । 

१ सय ५० रोपनी जग्गाको पर रोपनी १० लाखका दरले १५ करोड बराबरको सरकारी स्वामित्व रहने गरी शेयर लगानीको प्रस्ताव भयो । भने जग्गामा रहेका केही पुराना संरचना (घरहरु)को २ करोड मूल्य तोकी जम्मा १७ करोड शेयरको प्रस्ताव पास भयो । 

होटलको जम्मा पूँजी १ सय ५० करोड तय भयो । जसमा ७५ करोड शेयर लगानीबाट र ७५ करोड लोनबाट होटल निर्माण गर्ने निर्णय भयो । 

७५ करोड शेयर इक्यूटीबाट प्राप्त गर्ने भएकाले तारागाउँ विकास समितिको २२.६७ प्रतिशत (१७ करोड), संयुक्त लगानी साझेदार (श्रेष्ठ र सर्राफ समूह)को ३४.३३ प्रतिशत (२५ करोड ७५ लाख), बैंक, सर्वसाधारण तथा अन्य गरी ४३ प्रतिशत (३२ करोड २५ लाख)को शेयर लगानी सम्झौता पास भयो । र होटल निर्माण प्रक्रियाको थालनी भयो ।

नाफाबाट लाभांश बाँड्न थाल्यो हायातले 

तारागाउँ रिजेन्सी होटलको प्रतिफलको विषय वेला वेला विवादमा आउने गरेको छ । तर होटल संचालनमा आउँदा देश द्वन्द्वको चपेटामा परेको र पर्यटक आवागमन लगभग ठप्प जस्तै बनेकाले सुरुका ६ वर्ष होटल पूर्णरुपमा घाटामा संचालन गर्नुपरेको होटलले बताउँदै आएको छ । 

देशमा चलेको द्वन्द्वको प्रत्यक्ष असर पर्यटन व्यवसाय र होटल व्यवसायमा पर्यो । होटलले आफू संचालनमा आएपश्चात देशमा कहिले द्वन्द्व त कहिले राजनीतिक अस्थिरताले आफ्नो व्यवसायलाई हानी गरेको तथ्याङ्क अगाडी सार्ने गरेको छ । 

अन्तर्रा्ष्ट्रिय बैंकबाट लोन लिएको र डलरमा बारम्बार आउने उतार चढावले पनि असर गरेको होटलको दावी छ । साथै लोनको भारले पनि होटलको प्रतिफलमा असर पारेको थियो । तारागाउँ रिजेन्सी होटलले विगतमा लोनका कारण लाभांश बाढ्न नपाए पनि अहिले त्यो अवस्था नभएको बताउँछ ।

होटलले २०६५–६६ देखिनै पूर्णरुपमा नाफा कमाउन सफल भई बर्षेनी करोडौंको राजस्व तिरेको बताएको छ । २०६९ सालबाट ऋणमुक्त भएको होटल आर्थिक वर्ष २०७१–७२मा पर्यटन समूह अन्तर्गत सबैभन्दा बढी कर तिरे बापत अर्थ मन्त्रालयबाट पुरस्कृत समेत भएको थियो ।

गत वर्ष तारागाउँ विकास समिति लगायत ३४ हजार भन्दा बढी सर्वसाधारण सहितका सबै शेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गरेको होटलले यो वर्ष १२ प्रतिशत बाढ्ने बताएको छ । २०६९ सालमा ऋणमुक्त भएको होटलले मुलुकको अर्थ व्यवस्थामा टेवा पुर्याउँदै सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रुपमा पुरस्कृत समेत भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप