केन्द्रीय संस्करण

गजेन्द्रबाबुले यसकारण रोजे ‘जय मातृभूमि’

person explore access_timeमाघ १०, २०७५ chat_bubble_outline0

 गाउँ, समाज एवं राष्ट्रको निम्ति आफ्नो जीवन तथा सर्वस्वलाई समर्पित गर्ने वीर सपूतहरू मरेर गए पनि समय–समयमा श्रद्धा एवं आदरका साथ स्मरण गर्ने गरिन्छन् । नेपाली राजनीतिको क्षितिजमा ज्वाज्वल्यमान एक यस्तै ताराको रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ । सत्र वर्षअघि उनको निधन हुँदा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्षा एवं अस्थिरताको वातावरण थियो तर उनी जस्ता नेताहरूकै निरन्तरको त्याग एवं समर्पणको कारण देश निरन्तर रूपमा अग्रगमनको बाटोमा लम्किरहेको छ । इमानदारिता, त्याग, समर्पण, सहिष्णुता एवं लोकतन्त्रको उच्च आदर्शलाई आत्मसात गर्दै देशमा सामाजिक न्यायको स्थापनाको निम्ति उनले चलाएका अहिंस्रक एवं शान्तिपूर्ण आन्दोलनका कारण उनले चर्चामा ल्याएका समानता तथा सामाजिक न्यायलगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन भएका छन् ।  भौतिकरूपमा उनी मरेर गए पनि देशको राष्ट्रिय राजनीति अहिले पनि उनले उठाएका राजनीतिक मुद्दाहरूकै वरिपरि केन्द्रित छ भन्दा अतिशयोक्ति नहोला । 

जनआन्दोलन–२ को सफलतापश्चात् देशको राष्ट्रिय राजनीतिमा धेरै परिवर्तन भए । एक दशकसम्म सशस्त्र सङ्घर्ष गरेको नेकपा माओवादी पार्टीले शान्तिपूर्ण राजनीतिमार्पmत् राष्ट्रिय राजनीतिको मूलधारमा आफैलाई प्रवाहित गर्न सहमति व्यक्त गर्यो भने २४० वर्ष पुरानो राजसंस्थाको इतिहास बोकेको नेपालले गणतन्त्रलाई आत्मसात गर्यो । हिन्दु राष्ट्रको रूपमा विश्वमै ख्यातिप्राप्त गरेको नेपालले धर्मनिरपेक्षतालाई स्वीकार गर्यो भने २०६४ सालको मधेस आन्दोलनका कारण देशको अन्तरिम संविधानमा संशोधनपश्चात् सङ्घीयतालाई स्वीकार गरियो । २०६४ सालको मधेस आन्दोलनका कारण देशको राजनीतिमा नयाँ–नयाँ अभियन्ताहरू आफँलाई मधेसी आन्दोलनका एकमात्र सच्चा नेतृत्वकर्ताको रूपमा परिभाषित गर्न थाले । जब कि २००९÷०१० सालतिर नै कुलानन्द झा एवं रामजनम तिवारी जस्ता नेताहरूले तराई काँग्रेसको स्थापना गरी मधेसको समस्यालाई उठाउने काम गरिसकेका थिए । सङ्घीयताको मुद्दालाई पनि तराई काँग्रेसले २०१० सालमा नै उठाएको थियो । २०१५ सालको आम निर्वाचनमा त्यस पार्टीको प्रमुख राजनीतिक मुद्दा नै सङ्घीयता थियो । २०४६ सालको परिवर्तन पछि गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गरे तथा नागरिकता आरक्षण (समानुपातिक समावेशिता), सङ्घीयता, नेपाली सेनामा समावेशीकरण, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सबै भाषा एवं संस्कृतिले राजकीय संरक्षण पाउनुपर्ने मुद्दा उठाएका थिए । गजेन्द्रनारायण सिंहले उठाएका मुद्दाहरूभन्दा फरक तथा थप विषयलाई कुनै पनि नयाँ–नयाँ मधेसवादीहरूले उठाएका छैनन् । 

सप्तरीको एक उच्च मध्यमवर्गीय किसान परिवारमा जन्मेका गजेन्द्रनारायण सिंह, लोकतन्त्र, सामाजिक, न्याय तथा समानताको निम्ति आफ्नो सम्पूर्ण जीवनलाई समर्पित गरेका थिए । उनको निधन भएको १७ वर्ष बितिसकेको छ । सैद्धान्तिक राजनीतिमा विश्वास राख्ने गजेन्द्रनारायण सिंहले राजनीतिलाई विशुद्ध रूपमा समाजसेवाको पवित्र माध्यम मान्दथे । भ्रष्टाचार एवं अनियमितताको आरोपबाट मुक्त उनीजस्ता नेताको राजनीति यात्रा तथा उच्च विचार वर्तमान पुस्ताको निम्ति प्रेरणाको स्रोत हुन सक्दछ । विद्यालयस्तरको अध्ययनका बखत नै दक्षिणी छिमेकी राष्ट्र भारतमा जारी स्वाधीनता प्राप्तिको आन्दोनल तथा स्वयं आप्mनो देशमा पनि जारी राणाविरोधी आन्दोलनको गहिरो प्रभाव उनको मन–मस्तिष्कमा परेका कारण उनले आफूलाई पनि आन्दोलनमा होमी दिए । राणाविरोधी आन्दोलनमा सहभागी हुन उनलाई बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर आदि  नेताहरूले प्रेरकको काम गरेका थिए । नेपाली राजनेताहरूमा सुवर्ण शमशेरबाट उनी सर्वाधिक प्रभावित थिए । राजविराजस्थित गणेन्द्रबाबुको निवास सप्तरी सेवा आश्रममा प्रत्येक वर्ष सुवर्ण जयन्तीलाई धूमधामका साथ पर्वको रूपमा मनाउने गरिन्थ्यो । नेपाली काँग्रेस सप्तरीको जिल्ला अध्यक्षसमेत रहिसकेका गजेन्द्रबाबँले आप्mनो जीवनको अधिकांश समय (तीन दशकसम्म) नेपाली काँग्रेसमै बिताए । नेकामा रहेर हतियार उठाउनुदेखि जेलनेलको कठोर यात्रा एवं निर्वासनसमेत उनले भोग्नुपर्यो । उनी जेलमै हुँदा उनको आमाको निधन भएको थियो तथा जेलमै हुँदा एक मात्र पुत्रको पनि निधन भएको थियो । उनी सन्तानविहीन भएर बाँचे । 

वि.सं. २०४० सालमा जनसङ्ख्याविद् डा. हर्कबहादुर गुरुङको बसाइँसराइसम्बन्धी जनसङ्ख्या प्रतिवेदन चर्चामा आएपछि त्यसको विरोध गर्न उनले आफ्नो मातृपार्टी नेपाली काँग्रेसलाई परित्याग गरे तथा नेपाल सद्भावना परिषद् नामक सामाजिक सङ्ठन खोलेर पर्सा, वीरगञ्जका पुराना मधेसी नेता रामजनम तिवारीलाई त्यसको संयोजक बनाएर गोप्यरूपमा मधेसका बुद्धिजीवीहरूसँग सम्पर्क एवं सहकार्य गर्न थाले । आखिरकार त्यो प्रतिवेदन कार्यान्वयनमा आउन सकेन । 

२०४३ सालमा उनले तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) को सदस्यको रूपबाट सप्तरीबाट ठूलो मतसहित विजयी भए । राष्ट्रिय पञ्चायत सदस्यको रूपमा राजसंस्थाको प्रशंसा गरे पनि आफ्नो प्रत्येक भाषणमा मधेसीको समस्यालाई राष्ट्रिय पञ्चायतमा पनि उठाउने गरेका थिए । गजेन्द्र नारायण सिंहले वि.सं. २०४६ सालको परिवर्तनपछि आफ्नो सामाजिक सङ्गठन नेपाली सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गरे र त्यसको अध्यक्ष भए । लगातार तीन पटक उनी पार्टीको अध्यक्षको रूपमा निर्विरोध निर्वाचित भएका थिए । उनी बाँचुञ्जेलसम्म नेकपा माओवादीको सशस्त्र सङ्घर्षलाई राजनीतिक समस्याको रूपमा परिभाषित गरेका थिए, जतिबेला सरकारले माओवादीका नेताहरूलाई आतङ्ककारी घोषित गरी तिनका टाउकोको मूलय तोक्ने काम गरेको थियो । त्यतिबेला पनि उनले माओवादी आन्दोलनलाई भोक, गरिबी, बेरोजगारी, अशिक्षा एवं पछौटेपनका कारण उत्पन्न राजनीतिक समस्याको रूपमा विश्लेषण गरेका थिए । माओवादी समस्याको समाधान शान्तिपूर्ण वार्ताको माध्यमबाट मात्रै हुन सक्दछ भन्ने उनको अडान अन्ततः सत्य नै सावित भयो । 

दक्षिणी छिमेकी राष्ट्र भारतसँग विशेष सम्बन्धको वकालत गर्नेगरेका गजेन्द्रनारायण सिंहले नेपाल एवं भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अवसरको रूपमा विकसित गर्नुपर्ने वकालत गर्दथे । 
हालै आएको एक अध्ययन अनुसार नेपालले सन् २०४५ सम्म बिजुली बेचेर प्रतिवर्ष १० खर्ब ६९ अर्ब रूपैयाँ कमाउन सक्नेछ । गजेन्द्रनारायण सिंहले दुई दशकअघि नै भनेका थिए कि हामीले आफ्नो जलसम्पदाको सदुपयोग गर्ने हो भने देशको पानीलाई ‘वाटर डलर’को रूपमा विकसित गर्न सकिन्छ । अरब राष्ट्रहरू आफ्नो सम्पदा पेट्रोलियम पदार्थको सदुपयोग गरेर ‘पेट्रो डलर’ कमाएजस्तै नेपालले पनि ‘वाटर डलर’ कमाउन सक्ने विश्लेषण उनको थियो । २०४७ साल वैशाखको पहिलो सातामा नेपाल सद्भावना पार्टी स्थापना गरेका उनले आफ्नो पार्टीको प्रमुख एजेन्डाको रूपमा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सङ्घीयतालाई अघि सारेका थिए । उनी बाँचुञ्जेलसम्म उपरोक्त राजनीतिक मुद्दाहरूले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन । नेपालजस्तो बहुजातीय, बहुभाषी एवं विभिन्न संस्कृति भएको मुलुकमा सबै जातजाति एवं भाषाभाषीले आफ्नो भाषा एवं संस्कृतिको विकासको निम्ति राजकीय संरक्षण पाउनुपर्ने उनको मान्यता थियो । भाषा एवं संस्कृतिको मान्यताको क्षेत्रमा धेरै हदसम्म काम पनि भएको छ भने भाषा आयोगको प्रतिवेदनपछि भाषा समस्या पनि समधान हुने ठम्याइ विश्लेषणकहरूको रहेको छ । उनले साढे दुई दशकअघि सुरु गरेको समतावादी आन्दोलन अब लक्ष्यसम्म पुग्ने अवस्थामा आइसकेको छ । 

गजेन्द्रनारायण सिंहले एघार वर्षसम्म नेपाल सद्भावना पार्टीको नेतृत्व गरे । उनी बाँचिरहेको अवस्थामा पनि पार्टीकै वरिष्ठ नेताहरू रामजनम तिवारीको नेतृत्वमा वि.संं. २०५० सालतिर नेसपा (आर) को तथा २०५५ सालमा रामेश्वर राय यादव, राजेन्द्र महतो एवं हृदयेश त्रिपाठीहरू मिलेर समाजवादी जनता दलको गठन गरेका थिए तर आप्mनो जीवनकालमै उनले ती सबै पार्टीलाई पुनः नेपाल सद्भावना पार्टीमै विलय गराए । उनको निधनपश्चात सद्भावना पार्टीकै केही नेताले उनकी विधवा श्रीमती आनन्दी देवी सिंहलाई राजनीतिमा तान्ने काम गरे । तर तिनै सद्भावना पार्टीका नेताहरूले पहिले नेपाल सद्भावना पार्टी आनन्दी देवी तथा अन्त्यमा नेपाल सदभावना पार्टीलाई समेत बागमती नदीमा तिलाञ्जली दिई विसर्जित गर्ने काम गरे । गजेन्द्र बाबुको त्याग इमानदारी एवं विचारलाई ओझेलमा पारेर जातिवाद, परिवारवाद एवं भ्रष्टाचारलाई बढावा दिनेहरू आफ्नो इतिहास आफै लेख्ने असफल प्रयास गर्दैछन् । 

गजेन्द्रनारायण सिंहको निधन हुँदा उनको बैङ्क खातामा साह्रै न्यून रकम थियो । उनले चढ्ने गरेका गाडी पनि अरूकै नाममा दर्ता रहेको कारण त्यो पनि उनको पारिवारिक हुन सकेन । उनको श्राद्ध–भोजको खर्च पनि उनका आफन्तहरूले नै बेहोरेका थिए । वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनको खर्च धान्न नसकी उनले आफू चढ्ने गरेको गाडी पनि बेच्नुपरेको थियो । दुई वर्षपछि मात्रै उनले नयाँ गाडी खरिद गर्न सके । उनले काठमाडौंसहित देशको कुनै पनि बजारमा घरजग्गा खरिद गरेका थिएनन् । राजविराजको सेवा आश्रममा पनि टिनकै छाना थियो । गजेन्द्रनारायण सिंहले आफ्नो पार्टीको अभिवादनको नारा पनि ‘जय मातृभूमि’ नै रोजेका थिए । 

स्पष्टतः यो मातृभूमि नेपालको जयकार हो । उनी राष्ट्रप्रति समर्पित थिए । उनको निम्ति राष्ट्र सर्वाेपरी थियो । मधेसी समस्याको समाधान पनि नेपालको भूगोलभित्रै नै खोजेका थिए । उनी मूल्य, मान्यता एवं निष्ठामा आधारित राजनीतिमाथि विश्वास गर्दथे । 

राजनीतिमा परिवारवादका उनी घोर विरोधी थिए । उनी बाँचुन्जेलसम्म नेपालको राजनीतिमा मधेसवाद शब्दको जन्म भएको थिएन । तर नवमधेसवादीहरू आफूलाई मधेसवादको अभियन्ता त बताउँछन् तर तिनको पार्टीको नामबाट सद्भावना र तराई मधेसजस्ता शब्दहरू लुप्त भइसकेका छन् । गजेन्द्रनारायण सिंहको त्याग, समर्पण एवं सैद्धान्तिक प्रतिबद्धता उच्च कोटीको थियो ।

(लेखक मिश्र तत्कालीन नेपाल सद्भावना पार्टीका नेता हुन् ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ