शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्णप्रसादसँग भेटेपछि कलेज गइरहेका गजेन्द्रबाबु बाटैबाट फर्के

बिहीबार, १० माघ २०७५, १५ : ४०
बिहीबार, १० माघ २०७५


–एसके यादव

मधेसको मुद्दालाई स्व. गजेन्द्रनारायण सिंहले संस्थागत रूपमा उठाएको ३५ वर्ष भसकेको छ । उनको निधन भएका आज १७ वर्ष भइसकेको छ । तर उनले ३५ वर्ष पहिले उठाएका मुद्दा अझै पनि जस्ताको त्यस्तै छ । त्यही एजेन्डामा अन्य मधेसवादी दलले १२ वर्षदेखि आन्दोलन गरिरहेको छ तर ती माग अझै पूरा नभएको नेताहरू बताउँछन् । मधेसमा २०६३ मा सुरु भएको मधेस आन्दोलन २०७४ सम्ममा ११७ जना मधेसीको ज्यान गएका छन् । 

तर मुद्दा जस्ताको त्यस्तै छन् । गजेन्द्रनारायण सिंहले नै २०४० मा उठाउनुभएको मागलाई मधेसवादी दलले आत्मसात गर्दै पुन सोही पूरा गराउनका लागि आन्दोलन गरिरहेको छ । गजेन्द्रनारायण सिंहले उठाएको मागलाई आत्मसात गर्दै मधेसवादी दलले आन्दोलन गरे पनि उनको अहिले कुनै नामोनिसान छैन । ३४ वर्षदेखि उठाउँदै आएको त्यही सङ्घीयता, समावेशिता, नागरिकता, नेपाली सेनामा मधेसीको समावेशीलगायतका मुद्दाबारेमा नै बहस भइरहेका छन् । तर हालसम्म कार्यान्वयन भएको छैन र सोही प्राप्तीका लागि सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपाललगायत दलहरू सङ्घर्षरत छन् । 

सप्तरी जिल्लाको कोइलाडीबरसाइनको एक सम्भ्रान्त राजपूत परिवारमा गजेन्द्रनारायण सिंहको जन्म भएको थियो । वि.सं. २००३ सालमा कलिलै उमेरमा नेपाली राष्ट्रिय काँग्रेसमा प्रवेश गरेका उनी विद्यार्थी छँदा भारतमा अङ्ग्रेजविरुद्धको स्वतन्त्रता आन्दोलन र नेपालमा निरङ्कुश राणा शासनको अन्त्य गर्ने लडाइँ चरम उत्कर्षमा थियो । वारि र पारि प्रजातन्त्रका लागि भइरहेको सो सङ्घर्षलाई अत्यन्तै नजिकबाट हेर्ने मौका पाएका स्व. गजेन्द्रनारायण सिंह नेपालको राणाविरोधी आन्दोलनलाई सफल पार्न बीचैमा पढाइ छाडेर काँग्रेस पार्टीको सम्पर्कमा गएका थिए । 

जाडो बिदा सकाएर पढ्नका लागि घोडचढी गरी भारत विहारको पटना गइराखेको बेला बाटोमै काँग्रेसका तत्कालीन नेता कृष्णप्रसाद भट्राईसँग गजेन्द्रनारायण सिंहसँग भेट भएको थियो । भट्टराई र गजेन्द्रनारायणबीच भएको भेटघाटपछि न उनी स्कुल गए न घर फर्के । त्यही दिनदेखि राणा विरुद्धको आन्दोलनमा सक्रिय उनी सक्रिय भएका थिए । सानैदेखि ठूला ठूला नेताको सङ्गतमा रहेर सङ्घर्ष गरेका कारण उनको राजनीतिक चेतना उच्च थियो । विसं. २००७ देखि २०३३ सालसम्म काँग्रेसमै सक्रिय रही सप्तरी जिल्लाका अध्यक्ष समेत बन्न भ्याएका गजेन्द्रनारायण सिंहको राजनीतिप्रतिको लगाव र प्रजातन्त्र स्थापनाको अभिलाषाकै कारण काँग्रेसले सुरुमा उनलाई उच्च मूल्याङ्कन गर्दै वि.सं. २०३४ मा पार्टीको पूर्वाञ्चल संयोजक बनायो । त्यसपछि त उनको राजनीतिक भेटघाट र सक्रियता झनै बढेर गयो । विसं. २०३६ मा बहुदलको पक्षमा उनले खुलेरै प्रचार प्रसार गरे ।

नेपालकै इतिहासमा पहिलो पटक भएको जनमत सङ्ग्रहमा बहुदलीय पक्षले सफलता हासिल नगरे पनि उहाँ त्यसका लागि जहिले पनि सक्रिय रहनुभयो । स्कुले उमेरदेखि राणा विरोधी सङ्घर्षमा लाग्नुभएका गजेन्द्रनारायण सिंहको सक्रियता र उच्च विचारका कारण त्यसबेलाका केही काँग्रेसी नेताहरूले उनीमाथि डाह पनि गर्थे । पछि त उनलाई त्यस पार्टीबाट पाखा लगाउने काम पनि हुन लाग्योे । उनी मधेसका थिए, सिङ्गो मधेसीको प्रतिनित्व गर्न चाहेका थिए, एउटा नेपालीको छोरो भएर त्यो कुरा काँग्रेसका नेताहरूलाई पचेका थिएन । उनलाई आफ्नै घरमा विभेदको शिकार भइरहेको महशुस भयो । त्यसपछि उनी काँग्रेसबाटै विरक्तिएर छुट्टै सङ्गठन बनाउनेतिर लागे । 

वि.सं. २०४२ सालमा नेपाल सद्भावना परिषद् गठन गरी आफ्नो राजनीतिक सक्रियतालाई कायमै राख्ने प्रयास गरे । विसं. २०४३ मा तत्कालीन पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुँदा उनले पनि आफ्नो उम्मेदवारी दिएका थिए । तर कालो पञ्चायती शासकहरूले उनको प्रचारमा बन्देज मात्रै लगाएन, उनलाई निर्वाचन क्षेत्रमा निर्धक्क रूपमा हिड्डुलमा समेत प्रतिबन्ध लगाएको अवस्था थियो । विभिन्न अवरोध र आरोहलाई छिचोल्दै जनताका माझ उनी गोप्य रूपमा प्रचारको नीति अङ्गीकार गरे । 

तत्कालीन सरकारको षड्यन्त्रमा आफ्ना नेता परेको भन्दै सप्तरीका जनताले सिंहलाई अत्यधिक मत दिई विजयी बनाएका थिए । यहाँका दलहरूले पञ्चायतविरुद्ध आन्दोलन जारी राखेकै कारण २०४६ सालमा जनआन्दोलन सफल भयो र मुलुकमा बहुदलीय व्यवस्था आयो । त्यसपछि २०४७  साल वैशाखको पहिलो साता आफ्नो नेतृत्वमा रहेको नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गरे । त्यसपछि भएको चुनावमा पनि उनले विजय हासिल गरे । विसं २०४८ र २०५१ म भएको प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित भए । त्यसपछि सुरु भएको सत्ता राजनीतिमा उनी पनि सहभागी हुन थाले । सत्ताबाहिर रहेर मधेस र मधेसीको मागको सम्बोधन हुन नसक्ने भन्दै उनी पटक–पटक सरकारमा सहभागी भएका थिए । उनी आपूर्ति, स्थानीय विकास, विज्ञान तथा प्रविधि र उद्योगमन्त्री समेत बनेका थिए । 

हिन्दी भाषालाई मधेसको सम्पर्क भाषा बनाउनुपर्ने अडान राख्दै आएका प्रतिनिधिसभामा हिन्दीमै भाषण दिँदा उनको भाषणमा रोक लगाइएको थियो । जति अवरोध भएपनि उनले प्रतिनिधिसभामा कहिले पनि हिन्दी भाषाबाहेक अरू कुनै भाषा प्रयोग गरेनन् । तत्कालीन सरकारले प्रतिनिधिसभामा हिन्दीमा दिएको उनको भाषणलाई अभिलेख राख्नसमेत उचित ठानेका थिएनन् । उनले आफ्नो पार्टी स्थापनाकालदेखि नै सङ्घीयताको कुरा उठाउँदै आएका थिए । उनी त्यतिबेला मधेसमा दुईवटा प्रदेशसहित उपत्यका र पहाडी क्षेत्रमा दुई गरी पाँच प्रदेशको पक्षमा थिए । अहिले मधेस पाँच टुक्रा भएको छ । यदि गजेन्द्रनारायण सिंहले उठाएका माग आत्मसात गरेको भए अहिल मधेसमा दुईवटा प्रदेश हुन्थ्यो । 

गजेन्द्रनारायण सिंहलाई मधेसी राजनेताको उपाधि प्राप्त थियो । उनलाई विभिन्न उपनामसमेत दिइएको थियो । कसैले गजेन्द्र बाबु, केहीले गज्जुबाबु र केहीले मधेसका मसीहा भनेर सम्बोधन गर्थे । गज्जुबाबु चाहिँ नेपाली मिडियाहरूले होच्याउनका लागि प्रयोग गरिएको शब्द भएको भन्दै पार्टी कार्यकर्ताहरूले धेरै पटक आपत्ति प्रकट पनि गरेका थिए । 

राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा नेपालका तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेता गजेन्द्रनारायणले मधेसको आवाजलाई बुलन्द बनाए पनि उनले कहिल्यै मधेसी नेताको रूपमा रहेर ‘स्तुतिगान’ गराएनन् ।  गजेन्द्रनारायण सिंह लोककल्याणकारी प्रतिष्ठानद्वारा प्रकाशित ‘गजेन्द्रनारायण सिंह स्मृति ग्रन्थ’ नामक पुस्तकको राष्ट्रपति भवन शीतल निवासमा २०६६ फागुन २१ मा विमोचन गर्दै तत्कालीन राष्ट्रपति यादवले पनि भनेका थिए । 

सत्य र निष्ठाको राजनीति गर्ने सिंहले नै सबैभन्दा पहिला अहिलेको पाँच विकास क्षेत्रलाई प्रान्तको स्वरूप दिनुपर्ने बताएका थिए ।’ राष्ट्रपति महोदयको यो भनाइले गजेन्द्रनारायण सिंह दीर्घकालीन सोच भएका राष्ट्रवादी नेता भएको पुष्टि गर्न काफी छ । अझ सो कार्यक्रममा तत्कालीन सभामुख सुवास नेम्वाङले गजेन्द्रनारायण सिंहलाई ‘सिंगो मुलुकका लागि उनी आदरणीय नेताका रूपमा रहेको सिंहले मुलुकको पहिचान, मानवअधिकारको मूल्यमान्यता र लोकन्त्रका लागि लडेका थिए’ भनेर उच्च सम्मान दिनुले पनि गजेन्द्रनारायण सिंह ऐतिहासिक पुरुष भएको प्रमाणित गर्छ । त्यही कार्यक्रममा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले गजेन्द्रनायारणलाई यसरी सम्झ्नु भएको थियो, ‘मधेसी जनताको सम्मान र अधिकारका लागि जीवनभर सङ्घर्ष गर्नुभएका नेता सिंहले नेपालमा मधेसवादको जन्म दिएको थियो ।’ पूर्वसभामुख दमननाथ ढुङ्गानाले ‘आजको नेपाल सिंहकै सपनाको नेपाल हो भन्दै मधेसको आवाजलाई उहाँले बुलन्द पार्नुभएको हो’ भनेको थियो । 

गजेन्द्रनारायण सिंहको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीको पहिलो विभाजन २०५१–०५५ को अवधिमा भएको थियो । त्यो बेला उनी निकै दुःखी भएका थिए । विभाजनको मुख्य कारण गठबन्धनको राजनीतिमा कांग्रेससँग कि एमालेसँग जाने भन्ने विवाद थियो । 

गजेन्द्रनारायण सिंह काँग्रेससँग जान चाहन्थे तर सोही पार्टीका तत्कालीन नेता ह्रदयेश त्रिपाठी एमालेसँग जान चाहन्थे । एमालेले त्रिपाठीलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने आश्वासन दिएको थियो । जुन पार्टी विभाजन गरेर पूरा पनि भयो । पार्टी विभाजनमा मुख्य भूमिका खेल्ने रामेश्वर राय यादव सोही पार्टीबाट वन मन्त्री पनि बनेका थिए । 

त्यसपछि त लगातार पार्टी विभाजन भयो । नेपाल सद्भाना पार्टीका पुराना नेता खुशीलाल मण्डल भन्छन्, गजेन्द्र नारायण सिंहको निधनपछि पार्टी क्षतविक्षत भयो । सत्ता स्वार्थकै कारण नेताहरूले नेपाल सद्भावना पार्टीलाई टुक्रा टुक्रामा विभाजन गराएका थिए । तर विडम्बना ती दलहरूमध्ये अहिले एउटा पनि दल छैन । सबै आफै विलाए । जतिपटक विभाजन भए मन्त्री पदको लोभमा विभाजन भए । उनको निधन भएको २०५८ माघ १० गतेलाई गजेन्द्रनारायण सिंहको पुण्यतिथिको रूपमा मनाउँदै आएको छ । विभाजित रहेका हरेक सद्भावना पार्टीहरू त्यस दिन छुट्टा छुट्टै कार्यक्रम गरेर सम्झने गरेका छन् । गजेन्द्रनारायण सिंह २००६ मा सत्याग्रहमा भाग लिए, कुटाइ खाए । लामो समयसम्म काँग्रेसमा बसे । २०१७ सालमा जेल परे । १८ वर्ष भारतमा निर्वासित जीवन बिताए । जनमत सङ्ग्रहको बेला उनी स्वदेश फर्के । मधेसको मुद्दामा पार्टीभित्र टक्कर पर्यो । हर्क गुरुङको प्रतिवेदनले सद्भावना परिषद्का नेताका रूपमा नयाँ गजेन्द्रनारायणको जन्म भयो । त्यसपछि झनै दुःख । गिरफ्तारी, जेल, राजकाज मुद्दा सामान्य कुरो बन्यो । २०४२ मा रामराजाप्रसाद सिंहले बमकाण्ड गराएका थिए तर, पक्राउ परेका थिए गजेन्द्रनारायण सिंह । उनको हातमा हत्कडी, खुट्टामा सिक्री लाग्यो । 

हनुमान ढोकाबाट छोडिँदा एक प्रहरी अधिकृतले सोधे, ‘तपाईं बारम्बार पक्राउ पर्ने काम किन गर्नुहुन्छ ?’ ‘राजा, देश र जनताविरुद्ध मैले केही गरेको छैन’, गजेन्द्रनारायणले जवाफ फर्काएका थिए । अनि किन पहाडे–मधेसे भन्नुहुन्छ ? अधिकृतको प्रश्न थियो । ‘म सम्पूर्ण मधेसीलाई नेपाली बनाउन चाहन्छु’, उनको अर्को जवाफ थियो । आफ्नो एउटा भाषणमा उनले भनेका थिए, ‘मधेस र मधेसीलाई यस देशको अभिन्न अङ्गका रूपमा मान्यता दिलाउने मेरो उद्देश्य हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप