केन्द्रीय संस्करण
हाम्रो ब्रम्हाण्ड

पत्रमा विज्ञान: सूर्य जन्मेकै छैन रहेछ !

पूरै पत्र पढेपछि तपाईं पनि जिल्ल पर्नु हुनेछ !

person explore access_timeमाघ १०, २०७५ chat_bubble_outline0
photo: apod.nasa.gov

जिवेन्द्र दाइ,

तपाईको मप्रतिको विपुल स्नेहका कारण संयम र मर्यादाको यस्तो अदृश्य ‘औपचारिक स्ट्रिंग फैब्रिक’ (स्पेश फैब्रिक सरह)को महाजाल (नेट) निर्मित भइदिन्छ, जसका कारण म आफ्ना मूल भावना वा विचार व्यक्त गर्न प्रायः असमर्थ हुने गर्छु ।

तपाईंसँग मेरा चिन्तनको संप्रेषण वार्तालापमा हुन संभव नभएपछि, उपाय स्वरुप एकालापको बाटो रोजी यो पत्र लेख्दै छु ।

तपाईले रातोपाटीमा लेख्न लगाउनु भयो । पुछारमा मेरो फोटो राखेर लेखिन्छ, ‘लेखक विज्ञान तथा अध्यात्ममा रुचि राख्नु हुन्छ’ मलाई यसमा हाँसो उठ्नुका साथै लाज पनि लाग्छ ।

तपाईं आफ्नो घर नागार्जुन- १ रानीवनबाट १० किलोमिटर परको कुपन्डोल हाइटस्थित रातोपाटीको कार्यालय टाढा ठान्नु हुन्छ, हैन ?  

म भने आज तपाईलाई एउटा वैज्ञानिक कल्पनालोकमा लैजान खोज्दै छु, तैयार हुनुस् ।

मेरो परिवार, नाता–गोता, इष्टमित्र, छरछिमेक, साथीभाइ र यावत किसिमका सम्बन्ध एवं गतिविधिस्वरुप करिब दुई हजार मानिसले मलाई प्रत्यक्ष चिनेका होलान् ।

अरु डेढ दुई लाख मानिसले पनि रातोपाटीको स्तम्भकार भनेर परोक्षरुपमा मलाई चिन्लान् ।

समग्रमा भनौं, यीनै  मानिसलाई यो पृथ्वीमा, ‘ज्ञानमित्रको अस्तित्व छ’ भन्ने जानकारी छ ।

तपाईकै कुरा गरौं, लामो सक्रिय पत्रकारिता, सामाजिक जीवन, अन्य उपक्रम र गतिविधिले गर्दा बाह्र पन्ध्र हजार मानिसले प्रत्यक्ष अनि केही लाख मानिसले परोक्ष चिन्छन होला ।

अहँ, ‘सरी’ दाइ ! तपाई बोल्न पाउनुहुन्न । यो मेरो ‘एकालाप’ हो । यो घटी/बढी जे भएपनि तपाईको करेक्शन आवश्यक छैन ।

हाम्रा देशका शीर्ष नेताहरुकै कुरा गरौँ । देश विदेशमा गरी ३/४ करोड मानिसले चिन्लान् तिनलाई ।

नरेन्द्र मोदी, सी जिनपिंग, डोनाल्ड ट्रम्प, भ्यादिमिर पुटिन, मार्क जुकरबर्ग, बिल गेट्सको दायरा अलि ठूलो छ । यिनलाई चिन्नेको संख्या अर्ब हाराहारीमा पुग्छ होला ।

राम, कृष्ण, बुद्ध, मुहम्मद, जिसस देखि न्युटन, आइन्सटाइन, हकिन्सको नाम सुन्नेहरुको संख्या पनि त्यस्तै होला ।

दाई ! झर्को लाग्यो । ठीक छ, चुरोट सल्काउनुस् ।

हामी बस्ने पृथ्वीको डायमिटर १२७४२ किमी छ जम्माजम्मी । कुल क्षेत्रफल ५१ करोड ७२ हजार वर्ग किलोमिटरमध्ये पनि झण्डै ७०.८% पानीको साम्राज्य छ, भूमि भने २९.२% का हिसाबले १४ करोड ८९ लाख ४० हजार वर्ग किलोमिटर मात्रै छ । आज यो पत्र लेखिरहेको बेला, २०७५ माघ ६ गते आइतवार साँझ ७ बजेर ४५ मिनेट हुँदा, पृथ्वीको जनसंख्या ७ अर्ब ६७ करोड ८३ लाख ८८ हजार ७ सय २० पुग्यो । आजैको दिनमा अहिलेसम्म, १ लाख ३३ हजार १ सय ७० जना व्यक्ति धर्तीबाट विदा भए भने ३ लाख १७ हजार ३ सय ६१ नवजात शिशु थपिएका छन् ।

केहीबेरमै मरेर जाने, बाँचिरहेका र भर्खरै जन्मिएका सबैको क्रीडाभूमि यही १२७४२ किमी व्यासको पृथ्वी हो ।

सौर्यमण्डलमा पृथ्वीबाहेक विभिन्न ग्रह, उपग्रह, क्षुद्रग्रह, ‘एस्टेराइड’, धुम्रकेतु, जस्ता लाखौं पिण्ड भएपनि त्यहाँ ज्ञानमित्र, जिवेन्द्र सिम्खडा, केपी ओली, नरेन्द्र मोदी, सी जिनपिंग, डोनाल्ड ट्रम्प, भ्यादिमिर पुटिन लगायत कसैलाई पनि चिन्ने कोही छैन ।

परग्रही सभ्यता छैन भन्ने आशय होइन मेरो । तर अब के स्पष्ट भइसकेको छ भने हाम्रो सौर्य मण्डलमा चाहिं पृथ्वीबाहेक अन्यत्र मानव छैनन् । र  सौर्यमण्डलमा मानव जीवनयुक्त पृथ्वीको स्थान भने अत्यन्त नगण्य छ ।

पृथ्वीभन्दा सौर्यमण्डलमा रहेका अन्य ग्रहहरु वरुण ३.८८ गुना, अरुण ४ गुना, शनि १० गुना र वृहस्पती ११ गुना ठूला छन् । फेरि सूर्यका सामु यी ग्रह के नै हुन् ? सम्पूर्ण सौर्यमण्डलको ९९.८६% द्रव्यमान एक्लै सूर्यसंग रहेको छ ।

सूर्य ४.६ अर्ब वर्ष पहिला अस्तित्वमा आएको हो र त्यसपछि मात्रै सौर्यमण्डलका ग्रह, उपग्रह लगायतका पिण्डहरु अस्तित्वमा आएका हुन् । सूर्य जन्मेको डेढ दुइ अर्ब वर्ष पछि पृथ्वीमा जीवन चक्र प्रारम्भ भएको ठानिन्छ ।

सौर्यमण्डल निकटको तारामण्डल ‘प्रोक्सिमा सेञ्टुरी’ हो, जुन झण्डै ५ हजार खर्ब (३१५९८४० ऐ.यू. अथवा ४.२ प्रकाश वर्ष) किमी टाढा छ ।

वैज्ञानिकहरुले सन् २०४० सम्ममा ‘प्रोक्सिमा सेञ्टुरी’मा यान पठाउने तयारी गरी रहेका छन् । प्रकाशको गतिको २०% गतिले उड्ने यो यान झण्डै २१  वर्षमा त्यहाँ पुग्नेछ । मानिलिनुस्, त्यहाँ हामी जस्तै मानिस रहेछन् र भाषा पनि मिल्दो रहेछ र उनीहरुले यानमा जडित उपकरणबाट हामीलाई सन्देश पनि पठाए । तर त्यो संदेश पृथ्वीसम्म आइपुग्न ४.२ वर्ष समय लाग्छ । र, हामीले दिएको प्रत्युत्तर त्यहाँ पुग्न थप ४.२ वर्ष लाग्छ । दुवै बीचको वार्तालाप यस्तो हुन्छ होला:

‘हेलो, म ‘प्रोक्सिमा सेञ्टुरी’मण्डलबाट यो सन्देश पठाइरहेको छु, यहाँ आएको यानमा जडित उपकरणबाट । सन्देश पाउनेले जवाफ फर्काउनु होला ।’

८.४ वर्षपछि उनीहरुले जवाफ पाउनेछन्

‘हेलो, हामीले सन्देश पायौं । हामी तपाईको तारामण्डलको छिमेकी तारा सौर्यमण्डलबाट जवाफ फर्काइरहेका छौं । त्यो यान हामीले पठाएका हौं ।’

जिवेन्द्र दाइ, अब यस ‘प्वाइन्टमा’ व्यक्ति, गाउँ, शहर, देश, पृथ्वीको स्तरको पहिचान काम लाग्दैन । यहाँ त मातृताराको परिचय नै प्राथमिक हुन जान्छ ।

फेरि यो ताराको परिचय पनि कति नै पो व्यापक हुन्छ ? हाम्रो आकाशगंगा ‘मिल्की वे’ मै २ सय अर्ब भन्दा बढी तारा छन् । कुनै न कुनै दिन मानवले निकटस्थ अर्को कुनै ‘ग्यालेक्सी’मा आफ्ना यान पठाउनेछन । यो ‘लेभल’मा तारा, तारामण्डलको ‘आइडेन्टिटी’ काम लाग्दैन । संवाद यसरी पो हुन जान्छः

‘हेलो, म ‘मिल्की वे’ ग्यालेक्सीबाट बोल्दैछु ।’

‘हेलो, धन्यवाद ! यो प्रत्युत्तर ‘एण्ड्रोमेडा’ ग्यालेक्सीबाट प्रसारित गरिएको हो ।’

यो संवाद पुग्न र जवाफ आउन मात्र २५ लाख + २५ लाख वर्षको समय लाग्छ । ‘मिल्की वे’ र ‘एण्ड्रोमेडा’ को दूरी २५ लाख प्रकाश वर्ष रहेको छ । यी दुबै ‘लोकल ग्रुप अफ ग्यालेक्सीज’ का सदस्य हुन् । जम्मा ५४ वटा ‘ग्यालेक्सीज’ यस ग्रुपमा छन् । यस ‘लोकल ग्रुप’को विस्तार १ करोड प्रकाश वर्ष रहेको छ ।

यी ५४ वटा जुनसुकै ‘ग्यालेक्सी’ मा पुगे पनि ‘ग्यालेक्सी’को नामले परिचय आदान प्रदान गर्न सकिन्छ ।

विभिन्न ‘लोकल ग्रुप अफ ग्यालेक्सीज’ मिलेर ‘भिरगो क्लस्टर’ (Virgo Cluster) बन्छ । यस ‘क्लस्टर’मा झण्डै २ हजार ‘ग्यालेक्सी’ छन् । यस ‘क्लस्टर’को विस्तार ५.४० करोड प्रकाश वर्ष छ ।

‘भिरगो क्लस्टर’ जस्तै धेरै  ‘क्लस्टर’ मिलेर ‘भिरगो सुपर क्लस्टर’ बनाउँछन । यस ‘सुपर क्लस्टर’को विस्तार झण्डै ११ करोड प्रकाश वर्ष छ । र यस ‘सुपर क्लस्टर’मा १ सय भन्दा बढी ‘ग्यालेक्सी क्लस्टर’ रहेका छन् । सन् २०१४ को खोजपछि के मानिएको छ भने ‘भिरगो सुपर क्लस्टर’ पनि  ‘ल्यानिकिया सुपर क्लस्टर’ (Laniakea Supercluster) को एउटा अंश मात्रै हो ।

दृष्य ब्रम्हाण्ड चारैतिर ४६.५ अर्ब प्रकाश वर्षसम्म फैलिएको छ । ‘भिरगो सुपर क्लस्टर’ जस्ता १ करोड जति ‘सुपर क्लस्टर’ छन् । लोकल ग्रुपमा ५४ वटा ग्यालेक्सी भएजस्तै २ सय अर्ब ग्यालेक्सी छन् दृष्य ब्रम्हाण्डमा । यी सबै ग्यालेक्सीमा हाम्रो सूर्यजस्ता ताराको संख्या २ का पछाडि २२ वटा शुन्य राखेर पढ्नु पर्ने हुन्छ ।

सूर्य जन्मेकै रहेनछ !

जिवेन्द्र दाइ, तपाईलाई पढ्दा झर्को लाग्यो कि र?  म यो लेखlरहँदा यी सबै ‘ग्यालेक्सी’को यात्रामा छु । मस्तिष्कले नभ्याउने ‘म्याथ’ गर्दै ‘ह्यालोसिनेट’     (HALLUCINATE) हुन पुगें । मनोविदले विभिन्न खाले ‘ह्यालुसिनेशन’ बारे व्याख्या नगरेको होइन । तर मलाई भएको ‘ह्यालुसिनेशन’ शायद मस्तिष्कको अत्यन्त सक्रियताले भयो । र, यसले मलाई स–शरीर पृथ्वीभन्दा धेरै टाढा ल्यायो ।

म अहिले वैज्ञानिकहरुले पत्ता लगाएको सबैभन्दा टाढाको ‘ग्यालेक्सी’ को एउटा सौर्यमण्डलको (पृथ्वी भन्दा झण्डै एक तिहाई व्यास भएको) एउटा ग्रहमा छु ।

यो ‘ग्यालेक्सी’ को नाम पृथ्वीका खगोलविदहरुले जी एन–जेड ११  (GN-z 11) राखेका हुन । र, यो ‘ग्यालेक्सी’ पृथ्वीका वैज्ञानिकहरुले पत्ता लगाएको सबैभन्दा टाढाको कुनै खगोलीय संरचना हो । यो ‘ग्यालेक्सी’ ‘उरसा मेजर’ (URSA MAJOR) ‘कान्सटीलेशन’ (CONSTELLATION) मा अवस्थित छ । यसको सूर्यबाट दूरी ३२ अर्ब प्रकाश वर्ष रहेको छ ।

जिवेन्द्र दाइ, एउटा अर्को रमाइलो कुरा गर्छन् नि हाम्रा वैज्ञानिकहरुले, उनीहरु ब्रम्हाण्डको शुरुवात १३.८ अर्ब वर्ष पहिला ‘बिग बैंग’ बाट भएको मान्छन् । र उनीहरुका अनुसार ‘मिल्की वे’ ‘ग्यालेक्सी’को निर्माण ‘बिग बैंग’ भएको २० करोड वर्षपछि प्रारम्भ भएको थियो । त्यसबेलादेखि यहाँ ताराहरुको निर्माण ध्वंश र पुनः निर्माण प्रक्रिया हुँदै आएको छ । यही क्रममा हाम्रो सूर्य ४.६ अर्ब वर्ष पहिला बनेको हो ।

जी एन–जेड ११  ‘ग्यालेक्सी’को ‘एक्स’ सौर्य मण्डलको ‘टेरा’ नामक ग्रहमा सबै मानिस निलवर्णी रहेछन् । पुगेको केही बेरमै मलाई परग्रही ठम्म्याएर आदरपूर्वक एउटा ‘ल्याब’मा लगियो । आठ फिट जति अग्लो संरचनाका सामु उभ्याएर मेरो ‘ब्रैन म्यापिंग’ र ‘स्केनिंग’ हुनासाथ चार जना मानिसले अघि आएर भनेः

‘स्वागत छ कविज्यू ! हाम्रो ग्रहमा तपाईलाई स्वागत छ ।’

के यहाँको भाषा पनि नेपाली हो ? मेरो मुखबाट हठात् निस्कियो ।

होइन, होइन हामीले तपाईको ‘ब्रैन म्यापिंग’ गरेर नेपाली भाषा सिकेका हौं, संवाद गर्न सजिलो होस भनेर ।

‘ओह, फन्टास्टिक’ मेरो मुखबाट फेरि फुत्त निस्कियो ।

‘नथिंग फन्टास्टिक’ , ‘इट्स जस्ट आवर साइन्स’ । ‘नाउ वी क्यान स्पीक अल ड्याट ल्यांगवेजज ह्वीच यु क्यान स्पीक । क्यान आई आस्क यु ह्वेर यु फ्रम ? ’

‘म काठमाडौ, नेपालबाट । अनि यो कुन ठाउँ हो ?’, मैले जवाफसँगै प्रश्न गरें ।

‘तपाई अहिले ‘टेरा’ नामक ग्रहमा हुनुहुन्छ । भन्नुस, तपाई यहाँ कसरी आइपुग्नुभयो ?

‘मलाई थाहा छैन, म ब्रम्हाण्ड यात्रा विषयक एउटा लेख लेख्दै थिएँ । विभिन्न ‘ग्यालेक्सी’बारे, ‘ग्यालेक्सी क्लस्टर’बारे लेख्दा लेख्दै यहाँ कसरी आइपुगें मलाई थाहा छैन ।’

‘राम्रो, तपाईलाई ब्रम्हाण्ड र ‘ग्यालेक्सीज’बारे ज्ञान रहेछ, अब हामी नै पत्ता लगाउँछौं, तपाई कुन ‘ग्यालेक्सी’बाट आउनु भएको हो ।’

‘के म पृथ्वीमा छैन र ?’

‘हेर्नुस्, पृथ्वीबारे त हामीलाई थाहा छैन । तपाई भने अहिले ‘उरसा मेजर कन्सिटेलशन’मा अवस्थित ‘जी एन–जेड ११ ग्यालेक्सी’को ‘एक्स’ ताराको ‘व्युटिफुल प्लानेट’ ‘टेरा’मा हुनुहुन्छ ।’

‘केरे, केरे, तपाईले के भन्नुभयो रे ? म ‘उरसा मेजर कन्सिटेलशन’को ‘जी एन–जेड ११ ग्यालेक्सी’मा छु । यो त मेरो तारा सूर्यबाट ३२ अर्ब प्रकाश वर्ष टाढा छ । हामी पृथ्वीवासीले पत्ता लगाएको सबैभन्दा टाढाको कुनै ‘अब्जेकट’ नै ‘जी एन–जेड ११ ग्यालेक्सी’ हो ।

‘राम्रो, तपाईलाई खगोल विज्ञानबारे थाहा रहेछ । हामी तपाईको ‘ग्यालेक्सी’ र ग्रह खोज्ने प्रयास गर्छौं । भन्नुस त, तपाईको ‘ग्यालेक्सी’को नाम के हो ?’

‘मिल्की वे’ नियर टु ‘एण्ड्रोमेडा’, मैले एक सासमै भनें ।

‘डिफिकल्ट’ ‘ग्यालेक्सी’को नामबाट खोज्न सजिलो छैन । ‘डु यु नो, इन ह्विच कान्सटीलेशन इट इज’ ?

‘यस’ ‘सेगिटेरियस कन्सिटेलशन’ । यो आकाशको पन्ध्रौं ठूलो ‘कन्सिटेलशन’ हो । यो क्याप्रीकोर्नस, कोरोना, अस्ट्रालिस, इण्डस, स्कार्पिअस कान्सटीलेशनले घेरिएको छ ।

‘यस’, हामीले ‘सेगिटेरियस कन्सिटेलशन’ पत्ता लगायौं । अब तपाईको ‘ग्यालेक्सी’ खोज्छौं ।

‘होइन के तपाईको आँखामै ‘टेलिस्कोप’ छ र यति छिट्टै खगोल अनुसन्धान गर्न सक्नुहुन्छ ?’

‘ठीक बुझ्नु भयो तपाईले । हामीले चाहेमा आँखामा ‘टेलिस्कोपिक’ क्षमता जडान गर्न सक्छौं । तपाई हेर्न चाहनुहुन्छ भने हामी तपाईका लागि ‘टेलिस्कोप’को व्यवस्था गरी दिन्छौं ।’

‘भैगो, म आत्तिएको छु, ‘टेलिस्कोप’मा रमाउन सक्दिनँ ।’

‘तपाईको अवस्था हामी बुझ्न सक्छौं । ठीक छ, हामी तपाईको ‘ग्यालेक्सी’ खोजेर ‘म्यापिंग’ गर्छौं । बरु भन्नुस, तपाईको तारा ‘मिल्की वे ग्यालेक्सी’को सेन्टरबाट कति टाढा छ ?

‘ओके, ‘मिल्की वे स्पाइरल ग्यालेक्सी’ हो । मेरो मातृतारा सूर्य ‘ग्यालेक्टीक सेन्टर’बाट झण्डै २७ हजार प्रकाश वर्ष टाढा छ ।’

ल त्यो छेउमा रहेको ‘स्क्रीन’मा हेनुर्स त, यही होइन तपाईको ‘ग्यालेक्सी’ ?

ठूलो ‘स्क्रीन’मा ‘मिल्की वे’को नक्शा देखा पर्यो । म हर्षले गद्गद भएँ र चिच्याएर भनेस् हो यही हो ‘मिल्की वे’ मेरो ‘ग्यालेक्सी’ । अब कृपया मेरो सूर्यको सौर्यमण्डल खोज्नुस्, मेरो पृथ्वी खोजिदिनुस्, म यहाँबाट हेर्न चाहन्छु । ‘यहाँबाट मेरो पृथ्वी कस्तो देखिन्छ’ ?

‘तपाईले आफ्नो तारा ‘ग्यालेक्टीकल सेन्टर’ बाट कति टाढा भन्नुभएको रे ?’

२७ हजार प्रकाश वर्ष ‘इन ओरियन आर्म’ ! मैले तुरुन्तै भने ।

‘सरी’, २७ हजार प्रकाश वर्षमा त्यहाँ तपाईले भनेको सूर्य जस्तो कुनै तारा छैन ।

के भन्नुभएको तपाईले ? १३ लाख ९२ हजार किमी व्यासको सूर्य पनि तपाई छैन भन्नु हुन्छ ।

‘मित्र खेदपूर्वक भन्नुपर्छ, तपाईको सूर्य हाम्रो लागि जन्मेको छैन । जस्तो कि तपाईलाई थाहा छ, हामीले तारा पत्ता लगाउने भनेको उसको प्रकाशबाट हो । तपाईले भनेको स्थानमा हामीलाई कुनै पनि प्रकाश वा प्रकाशको श्रोत फेला परेन । हुन सक्छ तपाईको सूर्य कुनै नयाँ तारा हो जसको प्रकाश अहिलेसम्म हाम्रो छेउछाउ आइ पुगेको छैन ।

मैले रुन्चे स्वरले भनें, ‘मे बी यु आर राइट’ !  सूर्य बनेको ४.६० अर्ब वर्ष पहिला मात्रै त हो । र हामी ३२ अर्ब प्रकाश वर्ष टाढा छौं ।

‘यु गट इट’ तपाई जुन सौर्यमण्डलबाट आउनुभएको हो, यस ग्रहको सापेक्ष त्यो सौर्यमण्डल ‘सरी टु से, डज नट एक्जिस्ट’

त्यसो भए म को हुँ ? कहाँबाट आएको ?

हाम्रो ग्रहका लागि भविष्यबाट आएको भविष्य यात्री ।

म डाँको छोडेर रुँदै बेस्सरी चिच्याएँ, म भविष्य यात्री होइन, म वर्तमानकै मानिस हुँ । रातोपाटीको विज्ञान तथा अध्यात्म विषयक सतम्भकार हुँ । चिच्याउँदा जोडले हात टेबुलमा बजारियो । मुखबाट हत्तेरिका निस्कियो । ‘ह्यालुसिनेशन’बाट बाहिर आएँ । कोठामा बत्ती गएर अँध्यारो पो भएको रहेछ । छामछुम गर्दै लाइटर खोजेर चुरोट सल्काएँ ।

जिवेन्द्र दाइ, देख्नु भयो नि, मेरो त के यस ब्रम्हाण्डमा सूर्य कै अस्तित्व नहुने सम्भावित सापेक्षता विद्यमान रहेछ ।

(यो ‘साइन्स फिक्शन’ लेखबारे केही प्रश्न वा जिज्ञासा भएमा रातोपाटीको कमेन्ट बक्समा गएर सोध्नु होला — लेखक । )

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...