शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नमुना गाउँ अभियानः पानी र दूधको ५ रुपैयाँको अन्तर, ‘फार्म टू टेबल’ अवधारणा आउँदैे

बुधबार, ०९ माघ २०७५, १४ : ०३
बुधबार, ०९ माघ २०७५

झापा । जयन्त गोल्यान फाउन्डेसन र सेल्टर (आश्रय) नेपाल मिलेर झापामा नमुना गाउँ अभियान सञ्चालन गरेका छन् । 

सोही अभियान अनुसार झापाका ५ स्थानीय तहका किसानहरु अर्गानिक खेती, पशुपालनलगायतका क्षेत्रमा  उत्साहका साथ लागेका छन् । गोल्यान फाउन्डेसन र आश्रय नेपालले झापाको शिवसताक्षी र बुद्धशान्तिनगर गैरीगाँउ, रंगपुर, फुलगाँछी, महारानीझोडालगायतका ठाउँका किसानहरुलाई कृषि क्षेत्रमा सघाइ रहेका छन् ।  

दुई संस्थाका नमुना गाउँ अभियान अन्तरगत अर्गानिक खेती, पशुपालन, सिलाईकटाई तथा सीपमूलक तालिम, स्वास्थ्य उपचार र होम स्टेका कार्यक्रमहरु संचालन गरिँदै आएको छ । यहाँका किसानलाई अर्गानिक खेतीतर्फ र पशुपालनमा प्रेरित कृषि विज्ञहरु पनि परिचालन गरिएको छ ।

पशुपालनका लागि किसानले एक एक लाख रुपयाँ राख्ने र गोल्यान फाउन्डेसनले २० लाख रुपयाँ दिने गरेको छ । अध्यक्ष गोल्यानका अनुसार फाउन्डेसनले दिएको २० लाखको ब्याज किसानले तिर्नु पर्दैन । पशुपालनबाट नाफा हुँदै गएपछि बिस्तारै किस्ताबन्दीमा तिर्ने गरी सहयोग गरिएको हो ।

गोल्यान र आश्रय नेपालले पशुपालनमा पहिले इच्छुक किसानलाई भारतको हरियाणामा तालिम गराएको थियो । गोल्यान फाउन्डेसन पाँच वर्षअघि लम्कीबाट कृषिमा प्रवेश गरेपनि सफल हुन सकेको थिएन । गत जेठ महिनाबाट गोल्यान फाउन्डेसनले आश्रय नेपालसँग मिलेर काम गर्न थालेको हो । 

दुई संस्थाहरुले मिलेर काम गर्न थालेदेखि काममा सकारात्मक संकेत देखिएको गोल्यान बताउँछन् । 

यता आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले पनि पहिलो वर्ष आफूहरुसँग जोडिएका प्रत्येक किसानले कम्तिमा २ लाख रुपैयाँ आर्जन गर्ने लक्ष्य लिएको बताइन् । उनले अहिलेसम्मको प्रगति हेर्दा लक्ष्य भेटाउनेमा आफूहरु आशावादी रहेको सुनाइन । 

के भन्छन् कृषकहरु ?

‘शुभलक्ष्मी अर्गानिक कृषि फार्म’ संचालक देवीप्रसाद अधिकारीले ३० लाख रुपयाँबाट सुरु गरेका थिए । गोल्यान फाउन्डेसन र आश्रय नेपालसँगले साथ दिएपछि ६० लाख रुपयाँमा उनले पशुपालन गरिरहेका छन् । 

‘शुभलक्ष्मी अर्गानिक कृषि फार्म’ अहिले ८ भैसी १६ गाई र १८ वटा पाडा र बाच्छा बाच्छी छन् । नियमित तीन जना गाई भैसीको लालनपालनमा खट्ने गर्दछन् । उनीहरुलाई मासिक १२ हजार ज्याला दिने गरिएको छ । 

दैनिक ५ हजारको आम्दानी हुन्छ भने दैनिक १० हजारको खर्च हुन्छ । दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ । एउटा भैंसीले दैनिक १० देखि १५ लिटर दूध दिन्छ । तर गाईले दिनमा २५ देखि ३० लिटर दूध दिने गरेको अधिकारी बताउँछन् । खरिद मूल्य गाईको भन्दा भैंसीको केही बढी छ ।

सञ्चालक अधिकारीका अनुसार सुरुवाती चरण भएकाले उक्क्त कृषि फार्मबाट नाफा भने हुन सकेको छैन ।  तर उनी भोलीका दिनमा नाफा गर्न सफल हुने आशामा छन् । 

गोल्यान फाउन्डेसनले सुरुवाती चरणमा भएको घाटालाई बेहोर्ने गरेको छ । जसले किसानमा आशा मरेको छैन । बरु अधिकारीको कामबाट प्रेरित भएर पछिल्लो समय त्यहाँका २२ जना किसान पशुपालनमा लागेका छन् । 

यस्तै उपेन्द्र आचार्यले पनि महारानीझोडामा अर्गानिक कृषि फाम सञ्चालन गरेका छन् । उनले ७५ गाई र ५० भंैसी पालेका छन् । जहाँ ७ जना कामदार छन् । उनी पनि नाफामा छैनन् । तर आर्चाय पनि भोलीका दिनमा राम्रो हुनेमा आशावादी छन् । 

फुलगाँछीमा डेढ सय परिवार  किसान छन् । अहिले फुलगाँछी गाउँमा मात्रै ८ देखि ९ हजार लिटर दूध उत्पादन हुने गरेको अधिकारी  बताउँछन् ।गाउँमा अर्गानिक खेती, पशुपालन, बायो ग्याँस तथा सीपमूलक तालिम संचालन गरेपछि परिवर्तन महसुस हुन थालेको अध्यक्ष ओली बताउँछिन् ।

पानी र दूधको फरक ५ रुपैयाँ मात्र

किसानहरुमा पशुपालनप्रतिको आकर्षण बढेको छ । तर आकर्षण सँगसँगै आक्रोश पनि बढ्दै गएको छ । दूध संकलन केन्द्रको ३५ सय लिटरमा भ्याट मूल्यसहित दूध बिक्री हुन्छ । त्यसमा पनि हप्ताको ३ दिन दूध बिक्रि गर्न असमर्थ छन् किसान ।

शुभलक्ष्मी अर्गानिक कृषि फार्म संचालक देवीप्रसाद अधिकारीले दूध र पानीको मूल्यमा ५ रुपैयाँको मात्र फरक रहेको दाबी गरे । ‘हाम्रो यहाँ एक लिटर (मिनिरल वाटर) पानीको ३० रुपैयाँ पर्छ । हामीले दूध पनि ३५ रुपैयाँमा बिक्रि गरिहेका छौँ । त्यो पनि नियमित बिक्रि हुँदैन । हप्ताको तीन दिन हाम्रो दूध कसैले लिँदैन ।’ किसान अधिकारीले भने । उनका अनुसार फुलगाँछीमा मात्रै ९ हजार लिटर दूध उत्पादन हुन्छ ।

तर, आगामी दिनमा कृषकहरुले उत्पादन गरेको  बस्तुले बजारकार साथै उतिच मूल्य पाउन नमुना गाउँ अभियानमा जुटेको गोल्यान फाउन्डेसन र आश्रय नेपाल दाबी गर्छन । 

उनीहरुले दूध किसानको समस्या हल गर्न गाउँमै छुर्पी कारखाना खोल्न तयारी भइरहेको बताउँछन् । गोल्यान फाउन्डेसन र आश्रय नेपालले किसानलाई बिचौलियाबाट टाढा राख्न ‘फार्म टू टेबल’ अवधारणामा पनि ल्याएको गोल्यान फाउन्डेसनका अध्क्षय पवन गोल्यानले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप