शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मलाई डर लागिरहेको छ’ – विमानसँगै हराइरहेका अर्जेन्टिनी खेलाडीको अन्तिम सन्देश

बुधबार, ०९ माघ २०७५, १३ : ३४
बुधबार, ०९ माघ २०७५

एजेन्सी । इंग्लिस च्यानलमा विमानसँगै बेपत्ता हुन अघि एमिलियानो शालाले आफ्नो साथीहरुलाई पठाएको अडियो सन्देश सार्वजनिक भएको छ । 

उक्त सन्देशमा कार्डिफ सिटी क्लबको किर्तिमानी रकममा अनुबन्ध भएका शालाले आफूलाई ‘डर लागिरहेको’ बताएका छन् ।

नान्टेसबाट वेल्स आउने क्रममा उनी सवार विमान बेपत्ता भएको थियो । उनीसँगै पाइलट पनि बेपत्ता रहेका छन् ।

अर्जेन्टिनी पब्लिकेसन ‘ओले’ले सार्वजनिक गरेको ह्वाटस्एप सन्देशमा २८ वर्षीय शालाले आफ्ना साथीहरुसँग विमान र उडानबारे चिन्ता व्यक्त गरेका छन् ।

‘हेलो, मेरा साना भाईहरु, तिमीहरु के गर्दैछौ ? म निकै थकित छु । म नान्टेसमा काम, काम काम र काम गर्दै थिएँ र यो कहिल्यै सकिँदैन, कहिल्यै सकिँदैन,’ शालाले पहिलो रेकर्डिङमा भनेका छन् ।

‘म अहिले विमान छु र लाग्दैछ यो प्लेन टुक्रा–टुक्रा हुन लागेको छ, र कार्डिफ जाँदैछु, क्रेजी । भोलि म त्यहाँ शुरुवात गर्दैछु र साँझ नयाँ टोलीसँग प्रशिक्षणमा सहभागी हुनेछु ।’

अर्को सन्देशमा स्ट्राइकरले भनेका छन्, ‘के छ केटाहरु ? तिमीहरु सबै ठीक छौ ? यदी डेढ घण्टामा मबाट थप सन्देश पाएनौँ भने मलाई खोज्न सायद अरुहरुलाई पठाउनुपर्नेछ .... मलाई डर लागिरहेको छ ।’
शाला र पाइलटको खोजीका लागि मंगलबार शुरु गरिएको थियो । मंगलबारको खोजीकार्य स्थगन गर्नअघि गुइर्नसे प्रहरीले दुवैबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको बताएको छ ।

‘इंग्लिस च्यानलको आकाशबाट र जलमा गरिएको १५ घण्टाको खोजीपछि पानीमा केही तैरिरहेको वस्तुहरु देखापरेका छन्,’ प्रहरीले ट्वीटरमा जानकारी दिइएको छ, ‘तर, ती वस्तुहरु विमानकै हो भनेर हामीले पुष्टि गर्न सकेका छैनौँ ।’

‘यदी विमानले पानीमा अवतरण गरेको हो भने दुःखका साथ भन्नुपर्छ उनीहरुको जीवत रहने सम्भावना निकै कम रहेको छ ।’

शाला गत शनिबार मात्र लिग वान टोली नान्टेसबाट कार्डिफमा १.९ करोड पाउण्डमा अनुबन्ध भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप