बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूर पहाडमा भारी हिमपात

मङ्गलबार, ०८ माघ २०७५, १३ : ३०
मङ्गलबार, ०८ माघ २०७५

बैतडी– मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ ।  बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ ।

यस्तै, दार्चुलाको उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्करलगायतका ठाउँमा हिमपात भएको छ । डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको हो । 

हिमपात भएसँगै पहाडी जिल्लामा चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा बालबालिकामा निमोनिया र वृद्धवृद्धामा दम, श्वासप्रश्वाससम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले जोड दिएका छन् । 

हिमपातले हिउँदेबाली सप्रने भन्दै किसान खुशी भएका छन् । हिमपातले गहुँलगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । यसअघि गएको पुसको अन्तिम साता र मङ्सिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप