शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिचिङमा केसी समर्थकको ‘दादागिरी’ : सेवा अवरुद्ध गर्न हात हालाहाल हुन्छ !

आफ्नो अनशनका कारण सर्वसाधारणको उपचारमा बाधा नहोस् भनेर डा. केसी स्वयंले बारम्बार भन्दै आएका छन् । तर उनको अनशनलाई समर्थन गर्ने नाममा त्रिवि शिक्षण अस्पतालका केही स्वास्थ्यकर्मी र विद्यार्थीले जबरजस्ती अस्पताल प्रशासनलाई धम्क्याउँदै सेवा बन्द गर्ने गरेका छन् ।
मङ्गलबार, ०८ माघ २०७५, १३ : २९
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौँ । सुरुको केही अनशनसम्म डा. केसीको माग सम्बोधन हुनुपर्छ भन्ने पक्षमा धेरैको सङ्ख्या थियो । नेपालमा स्वास्थ्य क्षेत्रमा पहिलो पटक डाक्टर नै अनशनमा बसेको देखेर धेरैले अचम्म पनि मान्थे । स्वास्थ्य क्षेत्रको एकजना आग्रज स्वास्थ्य क्षेत्रमै आम सर्वसाधारणको हित हुने गरी सुधारको माग राख्दै अनशन बस्न थालेपछि देशभरका स्वास्थ्यकर्मीहरूको समर्थन भयो । केसीको अनशनले स्वास्थ्य क्षेत्रमा के–के समस्या छ भन्ने विषय वस्तुलाई छर्लङ्ग पारिदिने काम पनि गरेको छ । 

तर १६औं अनशनसम्म आइपुग्दा गोविन्द केसीको मागमा स्वास्थ्य क्षेत्रका मुद्दा सँगसँगै राजनीतिक मुद्दा पनि घुसेका वा घुसाइएका छन् । प्राध्यापक र जीवनरक्षक चिकित्सकको भाषा शालीनताको सीमा नाघेर व्यक्ति केन्द्रित र नेता केन्द्रित हुँदै अराजक शब्दवर्षामा परिणत हुन थालेको छ । 

स्वास्थ्य क्षेत्रका जनपक्षीय मुद्दाहरू उठाउँदा हौसिएका डा. केसीले १६औँ अनशनमा आइपुग्दा मूल मुद्दासँग नितान्त असम्बन्धित र भिन्न ढङ्गले हल हुने दिशामा अघि बढिरहेको द्वन्द्वकालीन मुद्दालाई समेत छ्यासमिस पारेर उठाउन थालेका छन् । यसले गर्दा हिजोसम्म डा. केसीको माग र मुद्दालाई सकारात्मक रूपमा ग्रहण गर्दै उनलाई समर्थन गर्दै आइरहेकाहरूमा समेत नकारात्मक भावना विकसित हुँदै गएको देखिन्छ । 

यसबीच उनको अनशनको विरुद्धमा अनशन अर्थात केसीको मागको विरुद्धमा अनशन बस्नेहरू पनि निस्किन थालेका छन् र तिनको समर्थनमा समेत एकखालको जनमत सिर्जना हुँदै गइरहेको देखिन्छ । 

यो पनि पढ्नुहोस्

अनसनरत डा. केसीलाई गणेशमान सिंह भवनमा सारियो

अनसनरत डा. केसीको अपीलप्रति योगेश भट्टराईद्वारा स्वागत (केसीको भिडियो अपीलसहित)

डा. केसीको अनशनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

अस्पतालको बेडबाट डा. केसीले भने, ‘प्रधानमन्त्री ओलीले बेइमानी गरे’

‘अहिलेको प्रतिपक्ष डा. गोविन्द केसी हुन्, जसबाट सरकार ‘थर्कमान’ हुन्छ’

डा. गोविन्द केसीको १६ औं अनसनको १२ औं दिन (८ तस्बिरमा)

डा गोविन्द केसीका समर्थक सडकमा, सरकारविरुद्ध नाराबाजी (फोटोफिचर)

गोविन्द केसीको मागबारे ओलीको जवाफः लोकतन्त्रमा कुनै व्यक्ति विशेष सर्वोपरी हुन सक्दैन

केसीको नाममा दादागिरी 

केसीको अनशन र उनले उठाएको मागको चुरो जनपक्षीय छ । यसमा शङ्का गर्ने ठाउँ छैन । तर अचम्म र उदेकलाग्दो कुरा त के छ भने, जनताको हितमा गरिएको भनिएको उनको अनशनकै नाममा आम जनताले निर्वाध स्वास्थ्य सेवा पाउनुपर्ने उनीहरूको आधारभूत हकअधिकारमाथि बन्चरो हान्ने काम पनि भइरहेको छ । 

अब्बल उपचार हुने भनी नाम कमाएको तथा सर्वसाधारण बिरामीहरूको अत्यधिक चाप रहने सरकारी शिक्षण अस्पतालमा कार्यरत चिकित्सकले सोही अस्पतालमा अनशन बस्दा, आन्दोलन गर्दा त्यहाँको स्वास्थ्य सेवा नराम्ररी प्रभावित भइरहेको छ । 

आफ्नो अनशनका कारण सर्वसाधारणको उपचारमा बाधा नहोस् भनेर डा. केसी स्वयंले बारम्बार भन्दै आएका छन् । तर उनको अनशनलाई समर्थन गर्ने नाममा त्रिवि शिक्षण अस्पतालका केही स्वास्थ्यकर्मी र विद्यार्थीले जबरजस्ती अस्पताल प्रशासनलाई धम्क्याउँदै सेवा बन्द गर्ने गरेका छन् । 

केसीको अनशनमा आन्दोलनरत स्वास्थ्यकर्मीले अस्पताल बन्द गर भन्ने र प्रशासनले नमान्दा धेरै पटक हात हालाहाल नै भएको अस्पताल प्रशासन स्रोत बताउँछ । 

त्यसले एकातिर केसीको अनशनमा दाग लगाउने काम त गरेकै छ साथसाथै सर्वसाधारणले पनि समयमै उपचार नपाएर सास्ती खप्नुपरेको छ ।  

अघिल्लो अनशनको उदाहरण दिँदै एक कर्मचारीले भने, ‘त्यतिबेला पनि डा. केसीको अनशनको समर्थन गर्ने नाममा निर्देशकको कार्यकक्षमा ताला लगाउन केसी समर्थक स्वास्थ्यकर्मीहरू आएका थिए । हामीले आन्दोलन गर्नुस् तर सेवा बन्द नगर्नुस्, देशभरबाट सेवा लिन आएका बिरामीहरू मर्कामा पर्छन् भन्दा उनीहरूले टेरेनन् । जबरजस्ती नै गर्न खोजे । फलतः प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीबीच झडप नै भयो ।’ 

त्यो त एउटा घटना भयो । त्यसरी सेवा बन्द गर्नुपर्छ भन्ने एक पक्ष र गर्नुहुँदैन भन्ने अर्काे पक्षबीच धेरै पटक भनाभन र झन्डै हात हालाहाल नै भएको बुझिएको छ । पछिल्लो समय डा. केसीका समर्थकले टिचिङ अस्पतालमा दादागिरी नै जमाउन थालेको बुझिएको छ । 

पन्ध्रौँ अनशनको कुरा गरौँ । डाक्टर केसी जुम्लामा अनशन बसे । उनको स्वास्थ्यमा समस्या भएपछि जीवनरक्षार्थ नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो । टिचिङ अस्पतालमा जनताको स्वास्थ्य उपचारमा बाधा अवरोध नहोस् भनी उनलाई उपचारको लागि वीर अस्पातलमा राख्ने सरकारको तयारी थियो । 

सोही योजनाअनुसार खुलामञ्चमा हेलिकप्टर ल्यान्ड गरियो र अन्ततः वीर लाने तयारी गर्दा केसी र उनका समर्थकले नमानेपछि टिचिङमा नै ल्याइयो । खासमा, अन्यत्र केसीलाई उपचारार्थ राखिँदा टिचिङमा हैकम चलाउन र दादागिरी देखाउन मुद्दा नमिल्ने राजनीतिका तावा सेक्न नपाउने भएकैले त्यसो गरिएको देखिन्छ । 

एक प्रत्यक्षदर्शीका अनुसार, गएको शुक्रबार बिहान डा. केसीको आईसीयूमा उपचार हुँदै थियो, केसीलाई भेट्न पहिलो नम्बरमा नेतामा पूर्वस्वास्थ्य मन्त्री गगन थापा अस्पताल पुगे । उनीसँगै केसीका समर्थकहरू पनि थिए । सबैले पूर्वमन्त्री गगनलाई दाइ सम्बोधन गर्दै भोलि शनिबार अर्थात माघ ५ गते आन्दोलन दरो चर्काउनुपर्छ भन्दै कुरा गर्दै थिए ।

‘विगतका अनशनमा अस्पताल बन्द गर्नुपर्छ र गर्नुहुँदैन भन्ने पक्षबीच हात हालाहालकै स्थिति भयो तर पनि यसभन्दा अगाडि हामीले अस्पताल बन्द गर्न दिएनौँ । नैतिक समर्थन गरे पनि अस्पताल बन्द नगरे हुन्थ्यो’, भन्छन् डा. केसीको नाममा सेवा नै अवरुद्ध गर्नेहरूको दादागिरीबाट खिन्न भएका एक वरिष्ठ चिकित्सक ।  

बिदा नै नलिई अनशन सुरु 

देशलाई नै नीति नियममको पाठ पढाउने नैतिकवान छवि बनाएका प्रा.डा. केसीले आफू अनशन बस्दा भने नियमितः बिदा लिने गरेको चाहिँ देखिन्न । चिकित्सा क्षेत्रमा पाका वर्गमा नै पर्ने डा.केसी आफ्नो १५औँ अनशनमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै १६ अनशन  सुरु गरेको १३औँ दिन पुग्दासम्म पनि बिदा नलिएको स्रोत बताउँछ । 

नियमतः एउटा सरकारी चिकित्सकले सेवामा सहभागी हुन नसक्दा बिदाको अनुमति लिनुपर्ने हुन्छ । तर डाक्टर केसीले १६औँ अनशनका यतिका दिन बितिसक्दा पनि अस्पतालमा बिदा नलिए बसेको बुझिएको छ ।  विगतमा अनशन बस्दा पनि उनले आधिकारिक बिदा लिने नगरेको र अनशन सकिएपछि बिदा स्वीकृत गराउने गरिएको छ ।  अनशन बस्दाको अवधिको उनको तलब भत्ता भने रोक्का हुने गरेको अस्पताल स्रोतले जनाएको छ । 

डा. केसी अनशन बस्दा उनले सम्हाल्दै आएको हाडजोर्नी विभागमा अन्य डाक्टरहरूले कामको जिम्मा लिने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप