शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘डान्स टिचर’ को जागिर छोडेर ट्रक चलाइन्, अहिले संसारकै सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित

मङ्गलबार, ०८ माघ २०७५, १३ : १२
मङ्गलबार, ०८ माघ २०७५

जापानकी २१ वर्षे युवती संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभरको रुपमा चर्चित भएकी छिन् ।

जापानको कोची प्रान्तमा हुर्किएकी राइनो सासाकीले कहिले पनि ट्रक ड्राइभर बन्ने सोच नभएको  बताइन् । तर सात वर्षअघि आफ्ना ट्रक ड्राइभर बुवा एकाएक बिरामी भएपछि उनले बुवाकै पाइला पछ्याउने निर्णय गरिन् । बिरामी भएपनि कामलाई निरन्तरता दिइरहेका बुवालाई घरभन्दा हज्जारौं किलोमिटर टाढा, बाटोमा एक्लै र हेरबिचार गर्ने कोही नभएको देख्दा उनले सहन सकिनन् । त्यतिबेला स्कूलमा ‘डान्स टिचर’ को रुपमा काम गरिरहेकी उनले आफ्नो बुवालाई ट्रकको लामो यात्रामा साथ दिने निर्णय गरिन् । उनले ट्रकको लाइसेन्स पनि पाइन् । ट्रक चलाउन सुरु गरिसकेपछि पनि उनले आफ्नो नृत्य सिकाउने जागिरलाई निरन्तरता दिने प्रयास गरिन् । तर ट्रकमा लामो यात्रामा निस्किएपछि आफ्नो कामका लागि घर फर्कन कहिलेकाँही सम्भव नहुने पनि उनले अनुभव गरिन् । त्यसकारण उनी आफ्नो पुरानो व्यवसाय छोड्दै पूर्णकालीन ट्रक ड्राइभर बनिन् ।

आफ्नो करियर परिवर्तन गरेकोमा उनलाई कुनै पश्चाताप नभएको बताउँछिन् । उनी भन्छिन्, ‘म आफ्नो बुवासँग समय बिताउने मौका पाउँछु । उहाँ ठिक भए नभएको सुनिश्चित गर्न पाउँछु । उहाँले मलाई ट्रक ड्राइभिङबारे सधैं नयाँ कुरा सिकाउनु हुन्छ । ’

जापानमा निकै थोरै महिला ट्रक ड्राइभर छन् त्यसकारण उनीहरुमाथि धेरैको रुची हुन्छ । इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा राइनो सासाकीका हज्जारौं फलोअर्स भएकाले उनी एशियाली मुलुककी सबैभन्दा चर्चित महिला ट्रक ड्राइभर बनेकी छिन् । उनलाई संसारकै सबैभन्दा सुन्दर महिला ट्रक ड्राइभरको संज्ञा पनि दिइएको छ ।

आफ्नो चर्चाले जापानमा अन्य महिलालाई पनि यातायात क्षेत्रमा आफ्नो करियर स्थापित गर्नमा सहयोग गर्ने सासाकीले आशा गरेकी छिन् । आफ्ना अनुभव, फोटो र विभिन्न कथा सोसल नेटवर्कमा राख्दा अरु पनि प्रभावित होलान् कि भन्ने उनको भनाई छ ।

यो व्यवसायमा लागेको सात वर्ष भइसकेपछि उनको यो क्षेत्रप्रति एउटै मात्र गुनासो छ, त्यो पनि ड्राइभिङका लागि आफ्नो साइजको लुगा नपाउनु । पञ्जा, सेफ्टी सुजलगायतका सम्पूर्ण सामान महिलाका लागि निकै ठूला हुन्छन् त्यसकारण उनले यो क्षेत्रमा लाग्ने महिलाका लागि सही साइजको लुगा उपलब्ध गराउनु उनको उद्देश्य भएको बताउँछिन् ।

राइनोले वर्षमा दुई लाख किलोमिटरको यात्रा गर्छिन् । उनी जापानभरी ताजा तरकारी र फलफूल ओसारपसार गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप