शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड

मङ्गलबार, ०८ माघ २०७५, १२ : ५१
मङ्गलबार, ०८ माघ २०७५

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ ।  गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए । निस्कोट, रुम, देवीस्थान र बिमको डाँडागाउँमा स्वास्थ्यचौकीको भवन नजिकै हेलिप्याड बनाइएको छ । 

यसैगरी डाँडागाउँमा वडा कार्यालय परिसर, ओखरबोटको ओखरबोट मावि परिसर र दरवाङको छ्यारछ्यारेमा हेलिप्याड निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलको गलेश्वर बेसक्याम्प, नेपाल प्रहरी, जनप्रतिनिधि, युवा क्लब र आमा समूहका प्रतिनिधिले ढलान गरेर ‘एच’ आकारसहितको हेलिप्याड बनाएका हुन् । हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राविधिक सहयोग गरेको छ । 

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 

ट्र्याक खुलेको दशकपछि स्तरोन्नति 

ट्र्याक खुलेको एक दशकपछि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडकको स्तरोन्नति शुरु भएको छ । वि.सं २०६५ मा तत्कालीन स्थानीय निकाय र समुदायले ट्र्याक खोलेको जिल्लाकै जोखिमयुक्त र कठिन मानिने पोखरेबगरदेखि घार, शिख, फलाते हुँदै चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नतिको काम शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थाका सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल, ह्युमपाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्र गर्ने काम अघि बढाएको आयोजना प्रमुख शिवराम गेलालले जानकारी दिए । 

गत मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको मोतीदान–जयमाता जेभीले प्रारम्भिक चरणमा सडक चक्लाउने र पर्खाल लगाउने काममा मजदुर र एक्साभेटर परिचालन गरेको छ । वि.सं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । समयमै गुणस्तरीय हिसाबले योजना सम्पन्न गराउन अनुगमन, सहजीकरण र समन्वय गरिएको छ । 

सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, स्थानीयवासीलाई आवतजावत र ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने खिवाङका मनबहादुर गर्बुजाले बताए । सडकबाट घार, शिख, चित्रे, फलाते, घोडेपानी, खिवाङ, स्वता, किन्दु, पाउद्धारका बासिन्दाले सुविधा पाउनेछन् । 

सरकारले हालै घोषणा गरेको नेपालका १०० पर्यटकीयस्थलमा समावेश घोडेपानी र पुनहिल सूर्योदय, हिमशृङ्खला, वनजङ्गल, वन्यजन्तु र गुराँसे जङ्गलको अवलोकनका लागि प्रसिद्ध छ । शिखका बेगप्रसाद पुनले ट्र्याक खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेकामा स्थानीयवासीमा खुसीयाली छाएको बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप