शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्मार्ट सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरपालिकाले बनायो कार्यदल

मङ्गलबार, ०८ माघ २०७५, ११ : ११
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि कार्यदल गठन गरेको छ । 

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न कार्यविधि तयार गर्नेछ । 
महानगरले विगत दुई वर्ष अघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन । 

प्रवक्ता डङ्गोलको संयोजकत्वमा गठित समितिका सदस्यमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजश्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख वसन्त आचार्य र कानून महाशाखाकी शाखा अधिकृत शरी वाग्ले सदस्य छन् ।  

कार्यदललाई आवश्यकताअनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्नसक्ने अधिकार दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थानअनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्तावबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको छ । 

थोरै स्थानमा कम लागतमा शौचालय निर्माण गर्ने योजनामा कामपा छ । अहिले आवश्यकताअनुरुप सार्वजनिक शौचालय नहुँदा र भएका केही स्थानका पनि अत्यन्तै फोहर रहँदा नागरिक समस्यामा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप