बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन

मङ्गलबार, ०८ माघ २०७५, ११ : ०८
मङ्गलबार, ०८ माघ २०७५

काठमाडौं– हिजोदेखि साँखुमा शुरु भएकोे हिन्दु धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन गरिएको छ । 

मेलामा हुने आपराधिक तथा लुटपाटको गतिविधि नियन्त्रणका लागि सादापोसाक सहितको प्रहरी टोली परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । 

शालिनदीमा स्वस्थानी बर्तालुको निकै घुइँचो लाग्ने गर्दछ । यसै भीडको फाइदा उठाएर चोरी तथा लुटपाटमा संलग्न समुहहरु हुनसक्ने बताउँदै खनालले कडा निगरानी सहितको महिला प्रहरी टोली समेत परिचालन गरेको बताइन् । 

एकमहिनासम्म लाग्ने मेलामा मन्दिर परिसरभित्र चौविसैघण्टा खटिन ३० प्रहरी परिचालन गरिएको छ । रातको समयमा हुनसक्ने घटनाको चुनौतीलाई मध्यनजर राख्दै पुरा रातनै प्रहरीलाई खटाइएको हो । 

सुधार समिति, प्रहरी र स्थानीयले मेला आउने भक्तजन तथा साना–साना बालबालिकाहरु हराउने हुँदा सुरक्षा सहितको ‘हेल्प डेस्क’ पनि राखिएको छ । 

मेलामा विभिन्न सामग्री तथा खाध्य बस्तुकोे बढी मूल्य असुल्ने तथा कम गुणस्तरका खाद्यवस्तु विक्रीवितरण सम्बन्धी जाँच गर्न शङ्खरापुर नगरपालिका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । 
बढी मूल्य असुल्ने तथा कम गुणस्तरका खाद्यवस्तु विक्रीवितरण गरेको पाइएमा तुरुन्त कारबाही गरिने नगरपालिका प्रमुख सुर्वण श्रेष्ठले बताए । 

मेला भर्न ३० लाख भक्तजन आउने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिकोे अनुमान छ । मेला भर्न आउने भक्तजनको भीड बढ्ने दिनमा सार्वजनिक यातायात रातको नौ बजेसम्म सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको समितिका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए । 
 मेलाका लागि आउने सर्वसाधारणलाई जथाभावी भाडा लिने गुनासो आउने भएकाले श्रेष्ठले सार्वजनिक यातायातमा भाडादर टाँस्न समेत लगाएको बताए । 

मेलामा आउनेहरुका लागि पार्किङ, पुजारी व्यवस्थापन, सरसफाइ र सुरक्षा व्यवस्था मिलाइएको छ ।

 यो महिनाभर स्नान गरी स्वस्थानी तथा माधव नारायणको आराधना गरे पुण्य मिल्ने जनविश्वास सहित काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका विभिन्न जिल्लाबाट भक्तालुहरु आउने समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप