शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोल्यान समूहको कृषि मोह, थाल्यो २ सय बिघामा अर्गानिक फलफूल खेती

सोमबार, ०७ माघ २०७५, १७ : ०४
सोमबार, ०७ माघ २०७५

झापा । गोल्यान समूह र सेल्टर (आश्रय) नेपालको सहकार्यमा प्रदेश एक र दुईमा बृहत कृषि खेती गरिने भएको छ  ।

पूर्वी नेपालको प्रतिष्ठित औद्योगिक घरानाको गोल्यान समूहले यस कार्यको थालनी गरेको हो । उनीहरुको सहकार्यमा झापाका विभिन्न स्थानमा व्यावसायिक कृषिकै लागि २ सय बिघा जग्गा खरिद गरी प्रारम्भिक चरणको कामसमेत सुरु गरिएको समूहका अध्यक्ष पवनकुमार गोल्यानले बताए । ६० करोड रुपैयाँ लगानीमा व्यावसायिक कृषिको थालनी गरिएको बताए । 

उक्त कार्यका लागि झापाको शिवसताक्षी गाउँपालिकाको मदरगाछल, चकचके, घेराबारी, गैरी गाऊलगायतका ठाउँमा २ सय बिघा जग्गा खरिद गरेको छ ।

अध्यक्ष गोल्यानका अनुसार नेपाल एसबीआई बैंक र जनता बैंकबाट ऋण लिएर करिब ४० करोड रुपैयाँ लागतमा जग्गा खरिद गरिएको हो । जग्गामा माटो परीक्षण तथा बाली लगाउने  र अन्य अनुसन्धानका लागि थप २० करोड रुपैयाँ खर्च हुने उनले बताए । 

उनले भने, ‘ हामीले उत्पादन गर्ने सबै उत्पादन पहिलो चरणमा विषादीमुक्त र दोस्रो चरणमा पूर्ण रूपमा अर्गानिक हुनेछन् । उत्पादनपछि बिक्रीसम्मका लागि आफ्नै ब्रान्ड र चेन निर्माण पनि हुन्छ । हामीे ‘माटो’ ब्रान्डमा आफ्ना र आफ्नो चेनमा रहेका कृषकका उत्पादन बिक्री गर्छौ । तर, कृषकहरुले पनि कहिले कतै कहिले कतै बिक्री गर्ने पाउने छैन ।’ 

अध्यक्ष गोल्यानका अनुसार स्थानीय किसानलाई पनि आफ्नै निगरानीमा विषादीमुक्त उत्पादन गराउन लगाइने छ । र उक्त उत्पादन लागतका आधारमा निश्चित नाफा उपलब्ध गराइ खरिद पनि गरिने छ ।

सुरुमा अर्गानिक खेती गर्दा सोचेअनुसार उत्पादन हुने भएकाले कृषकलाई घाटा पनि आफूले नै बेहोर्ने उनले बताए । उनले भने, ‘सुरुमा हामी प्रदेश १ र २ मा व्यावसायिक कृषि खेतीमा जोड दिन्छौँ । साथै भोलिको दिनमा व्यावसायिक कृषि खेतीलाई पहाडी क्षेत्रमा पनि विस्तार गर्नेछौं ।’ 

समूहले हाल स्ट्रबेरी, कागती, रेड लिली पपैया, अदुवा, बेसार, तर्बुजा, विभिन्न तरकारी  र  फलफूलको बिरुवा रोप्ने कामसमेत सुरु गरिसकेको छ । साथै केही किसानहरु गाई र भैसी पालनतिर पनि लागेका छन् । जसमा आश्रय नेपालकी संचालक खुस्बु ओलीले गोल्यान समूहलाई साथ दिएकी छन्।

यस्तै, उत्पादनलाई प्राविधिक रूपमा सबल बनाउन उत्तर बंगाल विश्वविद्यालयका वैज्ञानिकहरूले समेत काम गरिरहेका छन् । 

गोल्यानको कृषि मोह

देशमा कृषि क्षेत्रको विकास भएन भने सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराले  सार्थकता नपाउने देखेर कृषि क्षेत्रमा लागेको अध्यक्ष गोल्यानले बताए । उनले आफू पहिले देखिनै कृषि क्षेत्रमा लगानी गर्न खोजे पनि सफल हुन नसकेको अनुभव सुनाए ।

अहिले आश्रय नेपालकी संचालक ओलीको साथ र सहयोगबाट अगाडि बढ्न थप उर्जा मिलेको उनले बताए । उनका अनुसार आश्रय नेपालसँगको सहकार्यपछि सफलताको संकेत देखिएको छ । ‘नेपालको कृषि क्षेत्रमा व्यावसायिक घराना आउन चाहेनन् । कृषि प्रदान देशका नाममा परिचित हाम्रो मुलुकले वर्षेनी ठूलो परिमाणमा खाद्यान्न आयत गर्नुपर्ने बाध्यता छ ।’,

उनले भने,‘ यसलाई रोक्न व्यावसायिक घरानाका व्यक्ति कृषि क्षेत्रमा आउनै पर्ने हुन्छ । किसानलाई सरकारसँग के माग्ने भन्ने कुरा पनि थाहा हुँदैन । एउटा ट्याक्टर माग्छन् । माथिल्लो निकायमा गएर आप्mना माग पेश गर्नसक्ने अवस्था पनि हुँदैन । मैले उनीहरुको प्रतिनिधित्व मात्र गर्न खोजेको हुँ ।’ 

अध्यक्ष गोल्यानले अगाडि भने, ‘यो त हाम्रो ‘पाइलट प्रोजेक्ट’ हो, आगामी दिनमा हामीले यसलाई १ हजार बिघासम्म विस्तार गर्ने लक्ष्य राखेका छौं ।’ अध्यक्ष गोल्यानलले छोराको अल्पायुमै निधन भएपछि छोराको नाममा विभिन्न काम खोज्ने क्रममा कृषि क्षेत्रमा आइपुगेको बताए । 

उनले भने,‘ १०,१५ वर्षपहिले एक छोराको निधन भयो । उनका नाममा विभिन्न काम गर्ने सोच बनाएँ । अस्पताल निर्माण गर्ने देखि विभिन्न काम गरेँ । तर, देश कृषि प्रदान भएपनि साँझ विहान छाक टार्न नसकेर रोइकराई गर्ने किसानका दुःखले मन पोल्यो अनि यतातिर लागेको हुँ ।’

गोल्यन समूहले रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डष्ट्रिज, शिवम् प्लाष्टिकजस्ता निर्यातजन्य उद्योग सञ्चालन पनि गरिरहेको छ । शिवम् प्लाष्टिक उद्योग पनि कृषि क्षेत्रलाई नै लक्षित गरि ६ महिना पहिले संचालन गरिएको हो ।

गोल्यान समूहको विश्वसनीय योजना

एसबीआई बैंकका प्रबन्ध निर्देशक अनुकुल भट्नागरले गोल्यान समूहले कृषि क्षेत्रमा विश्वसनीय योजना ल्याएको बताए ।

उनले भने,‘ नेपालजस्तो कृषिप्रधान मुलुकमा ठूलो परिमाणमा कृषि कर्जाको माग हुन सकेको थिएन । गोल्यान समूहले कृषि क्षेत्रमा विश्वसनीय योजना पेश गरेको छ । यसको योजनाबाट हामीहरु प्रभावित भयाँै । अनि कर्जा प्रवाह गर्न पनि राजि भयौँ । ’

कृषि क्षेत्रमा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको नीति रहे पनि कर्जाको माग भने उत्साहजनक नरहेको उनले बताए । समूहको विश्वसनीय योजनाका कारण गोल्यान समूहलाइ सहवित्तीयकरण कर्जा उपलब्ध गराइएको प्रबन्ध निर्देशक भट्नागरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप