केन्द्रीय संस्करण

विवेकशील–साझाको ‘रोमान्टिक पोलिटिक्स’

person explore access_timeमाघ ७, २०७५ chat_bubble_outline0

कुरा केही दिन अगाडिको हो । दिनभरको दौडधुप सकेर साँझ बुटवलस्थित एक अखबारको न्युज रुममा बसेर दिनभरको अपडेट हेर्दै थिएँ, अनलाइनहरूले ब्रेकिङ दिए– ‘विवेकशील साझा फुट्यो’ । समाचार हेर्दैगर्दा वैकल्पिक राजनीतिप्रति अलिक चासो राख्ने एक मित्रले टेलिफोन गरे । मित्रको चासो थियो– विवेकशील साझामा आएको फुटबारे तपाईंको धारणा के छ ? यसले वैकल्पिक शक्ति निर्माणलाई कस्तो असर पर्छ ? अब नयाँ शक्ति र उनीहरूसँग एकता हुने सम्भावना के छ ? यस्तै यस्तै । 

पङ्क्तिकारको सरल उत्तर थियो– नेपालमा राजनीतिक दलहरूको निर्माण र विनिर्माण नियमित प्रक्रिया जस्तै भएको छ । यसमा वैकल्पिक राजनीति गर्ने दलहरू पनि अछुतो रहन सकेनन् । किनकि तिनीहरू पनि यही समाजका उपज हुन् । त्यसैले पार्टीहरू फुट्नु र जुट्नुमा के नै अनौठो भयो र ? 

विवेकशील साझालाई नजिकबाट नियालेर हेर्दा उनीहरूको राजनीति अलिक ‘रोमान्टिक’ प्रकृतिको देखिन्छ । पठित र ढङ्ग भएका मानिसहरूको जमातबाटै समाज बदल्ने चाहनाले उद्देश्यमा पवित्रता कायम गरे पनि नेपाली समाजको अर्थराजनीतिक जटिलता छिचोल्न सक्दैन । साझा विवेकशीलको राजनीतिक यात्रा समाजका अर्थराजनीतिक जटिलता पर्गेल्दै समाधान खोज्नेतिर होइन ‘आफू राम्रो त जगतै राम्रो’ को अमूर्त नारामै केन्द्रित देखिन्छ । उनीहरूले जसरी सरल रेखामा राजनीतिलाई बुझ्ने गरेका छन्, पार्टी बन्दै गएपछि त्यो सरल रेखा यसै पनि बक्र हुँदै जान्छ । उनीहरूमा आएको विभाजन पनि त्यही बक्र रेखाको सङ्केत हो ।

मेरा लागि विवेकशील साझाको विभाजन अप्रत्यासित समाचार त थियो नै तर अपत्यारिलो भने थिएन । किनकि विवेकशील साझाको एकीकरणताकै त्यो एकीकरण धेरै लामो नटिक्ने आशङ्का थियो । साथै औपचारिक रूपमा बाहिर नआएको सेक्रेट थियो– ‘दुई पार्टी साँच्चिकै एक भएकै छैनन्’ । 

यही कुरालाई विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीको केन्द्रीय समिति बैठकको निर्णयबारे जानकारी दिने क्रममा खुलाए । पत्रकार सम्मेलनमा उनले तेल र पानी घुल्न नसकेजस्तो विवेकशील र साझाबीच पार्टी एकतापछि पनि अन्तरघुलन हुन नसकेको बताएका थिए । 

त्यस्तै अर्का नेता केशव दाहालले पनि पार्टी विभाजनपश्चात्को प्रतिक्रियामा विवेकशील सम्बद्ध अभियन्ताहरूलाई ‘राजनीतिक मेटेरियल’ नभएको बताउँदै विवेकशील साझा एक हुनै नसकेको तर्क पेश गरेका छन् । यसबाट विवेकशील साझाभित्रको वैचारिक एवम् साङ्गठनिक अलमल नै दृष्टिबोध हुन्छ । 

जब विवेकशील साझा विभाजनपछिका बाछिटाहरू देखापर्दै गए, दुवै घटकका नेतृत्व तथा केन्द्रीय समितिका नेताहरूको भद्र तर कटाक्षपूर्ण अभिव्यक्ति सुनिँदै गयो, जसबाट उनीहरूको अलगावले वैकल्पिक राजनीतिमा पार्ने प्रभावबारे म पनि घोत्लिन पुगेँ । अनि विकल्प दिन भनेर कस्सिएको पार्टी एकीकरणको डेढ वर्षमै किन फेरि फुट्यो ? न त कुनै चुनावी झमेला, न त सत्ताको कचिङ्गल । आखिर साझा विवेकशील फुट्नुको कारण के हो ? 

वैकल्पिक राजनीतिमा पनि उही टुट र फुटको पुरानै राजनीतिक संस्कार किन र कसरी हाबी भयो ? साँच्चिकै वैकल्पिक पार्टीमा आएको विभाजनले आम नागरिकमा कस्तो मनोविज्ञान निर्माण होला ? अनि वैकल्पिक राजनीतिको यात्रा कसरी अघि बढ्ला ? अब नागरिकले कसरी विश्वास गर्लान् ? यी दुवै घटकले त्यही सुर, लय र तालमा कसरी वैकल्पिक राजनीति अगाडि बढाउलान् ? यी प्रश्नहरूले अझै पनि मथिङ्गल अकुपाई गरिरहेका छन् । 

यसो गम खाँदा मूलतः यिनै प्रश्नहरूको वरिपरि दुई पार्टी विभाजनको कारण अनि आगामी राजनीतिक कार्यदिशा घुमिरहेझैँ प्रतीत हुन्छ । यद्यपि विभाजनपछि एकले अर्कोलाई (अ) राजनीतिक देखिरहेका छन् । केही अनलाइन तथा ब्रोड सिट दैनिकहरूमा छापिएका समाचार टिप्पणी तथा लेखहरू पढ्दा विवेकशील साझा फुट्नु भनेको नेपाली समाज वैकल्पिक राजनीतिका लागि तयार नभएको वा साझा विवेकशीलको विभाजनले ‘विकल्पकै बर्बादी’ भएको जस्तो अत्यन्तै बालसुलभ तर्कहरू पनि सुनियो, पढियो । जुन स्वभावैले सतही र एकपक्षीय छन् । 

वैकल्पिक राजनीतिको विचार, दृष्टिकोण र कार्यक्रमिक तयारीसहित झण्डै तीन वर्षदेखि यात्रारत नयाँ शक्तिको प्रभाव र लोकप्रियतालाई पूर्णतया बेवास्ता गर्दै वैकल्पिक राजनीतिक यात्राको बारे निकालिने कुनै पनि निष्कर्ष अपूर्ण हुन्छ । हालसम्म मिडियामा छाएका गन्थनहरू यस्तै अपूर्ण कथाको फेहरिस्त मात्रै हो । त्यसैले विवेकशील साझाको फुटले वैकल्पिक राजनीति नै धरापमा पर्यो भन्नु अतिशयोक्ति मात्र हो ।

दलहरूको विभाजन भन्दा एकीकरणले नै सकारात्मक सन्देश जान्छ भन्नै पर्दैन । तर पनि विभिन्न समयमा पार्टीहरू जुट्ने र फुट्ने क्रम चाहिँ चलिरहन्छ । दलहरूको निर्माण र विनिर्माणको इतिहास हेर्दा मूलतः दुईवटा कारणले दलहरू बन्ने र भत्कने हुन्छ । 

पहिलो कारण हो– समयक्रमसँगै आएको परिवर्तनलाई सम्बोधन नर्गका लागि पार्टीहरू बन्ने र भत्कने हुन्छ । समय र सन्दर्भ अनुसारको नयाँ युगको एजेन्डालाई बोक्नका लागि नै नयाँ पार्टीहरू जन्मने गर्छन् । समयक्रमसँगै ती एजेन्डा कि त पूरा हुन्छन् कि त समय सन्दर्भसँगै आउटडेटेड हुन्छन् । अनि फेरि पार्टीहरूले पुनर्जन्म लिन्छन् । वा नयाँ जन्मिन्छन् ।

दोस्रो कारण हो– नेतृत्व र व्यक्तित्वमा आउने टकरावका कारण पार्टीहरू फुट्छन् र नयाँ जन्मिन्छन् । त्यस्तै कार्यशैली र दृष्टिकोणमा आउने बदलावका कारण पनि पार्टी फुट्ने गरेका छन् । नेपालको सन्दर्भलाई हेर्दा पारम्परिक राजनीतिक दलहरूको टुटफुट र जुटको इतिहास मूलतः व्यक्तित्वबीचको टकराव र मिलाप नै हो । 

यद्यपि समाजको बृहत्तर हित र परिवर्तनका लागि भने नयाँ पार्टी बन्ने पहिलो कारण नै जीवन्त लाग्छ । अब प्रश्न जन्मिन्छ– विवेकशील साझामा आएको विभाजनको कारण चाहिँ के हो ? यो पार्टीमा आएको विभाजनको कारण भने अलिक फरक देखिन्छ । 

पहिलो कुरा– विवेकशील साझाले अगाडि सारेको वैकल्पिक राजनीतिको वैचारिक पक्षबारे प्रष्टता थिएन, छैन । यद्यपि पछिल्लो समयमा संयोजक रविन्द्र मिश्रले कल्याणकारी लोकतन्त्रलाई आफ्नो पार्टीको वैचारिक पक्षको रूपमा प्रस्ताव गरेका छन् । लोकतन्त्र विचार होइन, शासन पद्धति वा व्यवस्था हो । पद्धतिलाई नै विचार भन्न सकिँदैन । त्यस्तै कल्याणकारी राज्यको अवधारणाले पनि वैचारिक आधार निर्माण गर्न सक्दैन । किनकि त्यो केवल पुँजीवादमा थपिने विशेषण मात्र हो । कल्याणकारिता विकल्प होइन, व्यवस्थाको विशेषता (क्यारेक्टर) हो । विशेषतालाई नै ध्येय मान्न सकिँदैन । यस मानेमा विवेकशील साझाको वैचारिक अस्पष्टता देखा पर्छ । 

दोस्रो कुरा– विवेकशील साझाले वैकल्पिक राजनीतिको बृहत प्लेटफर्म तयार गर्न सकेको थिएन, छैन । वैचारिक, साङ्गठनिक तथा कार्यक्रमिक आधारहरू स्पष्ट नपारी केवल आदर्शवादी कल्पनाका साथ आन्दोलनमुखी भएर साझा विवेकशील अगाडि बढेको थियो । केवल सतहमा आएका वा आइपरेका विषयवस्तुहरूलाई उठाएर मात्रै पार्टी बन्न सक्दैनथ्यो । अनि अभियानात्मक भएर मात्रै पार्टीको आधारशिला तयार हुँदैन । यसका लागि बृहत दृष्टिकोण, वैचारिक र राजनीतिक कार्यक्रमसहितको पहलु आवश्यक हुन्छ । त्यसैले एकीकृत दुई पार्टीको कार्यशैली र दृष्टिकोण एक हुन सकेको थिएन ।

तेस्रो कुरा– यो पङ्क्तिकारले दुई पार्टी एकीकृत हुँदै लेखेको थियो– साझा विवेकशीलको ‘नैतिकता र इमानदारिता’को कोरा धागोले मात्रै विकल्प निर्माणको अभियानलाई लामो समयसम्म बाँधेर राख्न सक्दैन । हो यी आदर्शीकृत नाराले मात्रै राजनीतिको जटिलता छिचोल्न सकेन । त्यसैले पार्टी विभाजित भयो । 

विवेकशील साझाको विकल्प निर्माणको बृहत आर्थिक, सामाजिक एवम् राजनीतिक आधारशिला के हो भन्ने प्रश्न अद्योपान्त अनुत्तरित नै छ । त्यस्तै वैकल्पिक राजनीतिको आधार, विचार अनि साङ्गठनिक अवधारणामा अझै पनि प्रष्टता हुन सकेको छैन । जेजति चर्चा परिचर्चा अनि लोकप्रियता कमाएको थियो, त्यो सबै अभियानकै बलमा आर्जन भएको शक्ति थियो । जसको दिगोपना आफैमा सन्देहमूलक थियो । किनकि अभियानमा आर्जन गरेको शक्ति दिगो हुँदैन । 

समाजवादी अर्थराजनीतिक व्यवस्थाको जस्तो चरित्र भएको राज्यको कल्पना गर्ने विवेकशील साझाले आफ्नो राजनीतिक दर्शनको रूपमा ‘समृद्ध पूँजीवाद’लाई अँगालेको कुरा केही समयअघि मात्र संयोजक मिश्रले बहसमा ल्याएका थिए । विवेकशील साझाको राजनीतिक लाइन थियो– मूलतः पुराना पार्टीहरूमा राजनीतिक नैतिकता हरायो । त्यसैले अब नैतिकता र इमानदारितको राजनीति गर्नुपर्छ बाँकी कुरा सबै आफै मिल्छ । 

साझाबाट अलग्गिएको विवेकशीलले आफूलाई अबको राजनीतिक रथ हाँक्न पछिल्लो जेनेरेसनको युवा पुस्तालाई संवाहक ठानेको देखिन्छ भने साझाले देशका प्रशासक तथा विज्ञहरूको समूहलाई नै मुलुक बनाउने अभिभारा दिनुपर्ने नीति अङ्गीकार गरेको देखिन्छ । यसरी मूलभूत रूपमा दुई पार्टीको दृष्टिकोण र चरित्रबीच बेमेल थियो र नै दुई पार्टीको एकीकृत यात्राले लामो निरन्तरता पाएन । 

यसर्थ, दुई वैकल्पिक पार्टीलाई जोड्ने वैचारिक खुराक र राजनीतिक चरित्रकै अभावले नवगठित दुई पार्टीको राजनीतिक एकीकरणले लामो यात्रा तय गर्न सकेन । त्यसैले अब वैकल्पिक राजनीति गर्नेहरूले तेस्रो वैचारिक तथा राजनीतिक ध्रुव बनाउने प्रयत्न गर्नुपर्छ । यसका लागि नयाँ शक्तिले अघिसारेको समुन्नत समाजवादको तेस्रो ध्रुव नै अबको राजनीतिक विकल्प हुनसक्छ । 

किनकि कल्याणकारी राज्य र समाजवादी राज्यको अवधारणा एउटै होइन । कल्याणकारी राज्य पुँजीवादमा थपिने एक विशेषण हो । जहाँ स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा एवम् बेरोजगारीको अवस्थामा राज्यले नागरिकलाई बाँच्नका लागि केही राहत उपलब्ध गराउँछ । जबकि अर्थतन्त्रको सञ्चालन र नियन्त्रणमा मिश्रित मोडेल अवलम्बन गरिएको हुन्छ । अर्थात् अर्थतन्त्रका हरेक क्षेत्र आफैमा राज्य र बजारको संलग्नता हुन्छ । अर्थतन्त्रमा दोहोरो स्वामित्व देखापर्छ र त्यस्तो स्वामित्वले अन्तरविरोध सिर्जना गर्छ ।

अर्कोतिर ‘समुन्नत समाजवाद’मा अर्थतन्त्रको पुनर्संरचना गरिनेछ, जहाँ राज्य र बजारबीच अर्थतन्त्रमा क्षेत्रगत संलग्नता रहनेछ । मूलतः पूर्वाधारजन्य क्षेत्र र शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाहका क्षेत्रहरू राज्यले नै सञ्चालन गर्छ भने उत्पादन र वितरण तथा सेवामुखी क्षेत्रमा बजार अर्थात् निजी क्षेत्रको संलग्नताको प्रबद्र्धन हुनेछ । अनि बजारलाई निश्चित नियमको परिधिमा नियमन गरिनेछ र प्रगतिशील कर प्रणालीमार्फत अनियन्त्रित र अस्वाभाविक मुनाफा आर्जन गर्ने चाहनालाई सुधार गरिनेछ । यसरी वैकल्पिक राजनीतिलाई वैचारिक रूपले समृद्ध बनाउनुपर्छ । 

पुनश्चः वैकल्पिक राजनीति भविष्यमुखी लामो यात्रा हो । यो यात्रामा धेरै बाधा व्यवाधानहरू आउनेछन् । ती व्यवधानहरू छिचोल्दै अघि बढ्ने हिम्मत गर्नुपर्छ । विकल्प निर्माणको अभियान कसैको रहर वा बाध्यता होइन, यो युगको आवश्यकता र अपरिहार्यता हो । यो एउटा वैचारिक दृष्टिकोण पनि हो । त्यसैले वैकल्पिक राजनीतिका अभियान्ताहरूले यो बुझ्नुपर्छ कि सतही आग्रह र आदर्शवादी कल्पनाले मात्र यो अभिलाषा पूरा हुँदैन । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...