मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी मुख्यालयमा बिचौलियाको बिगबिगी !

सोमबार, ०७ माघ २०७५, १३ : ५५
सोमबार, ०७ माघ २०७५

काठमाडौं– सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा बिचौलियाको बिगबिगी नै हुन थालेको छ ।

सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बिचौलियामार्फत काम गर्न थालेपछि बिचौलिया आतंक अझै बढेको बताइएको छ ।

२०७४ चैत अन्तिम साता सशस्त्र प्रहरी बलको महानिरीक्षक बनेका खनालको कार्यकक्षमा हरप्रहर देखिने ब्यक्ति हुन् सुरज अधिकारी ।

हेटौंडा स्थायी घर भएका अधिकारी हलचोक स्थित ‘एपिएफ क्लव’ मा एक्सरसाइज गर्छन्, अनि खनालको कार्यकक्षमा छिर्छन् ।

‘सुरज अधिकारी दिनभर मुख्यालयमै हुन्छन्’ शसस्त्र प्रहरी मुख्यालयमा कार्यरत एक सिनियर अफिसरले भने, ‘कल्याणकारी, खरिद र अप्रेशनका मिटीङहरुमा समेत सुरज अधिकारी सहभागी हुन्छन्, उनी को हुन् भन्ने थाहा छैन तर हामीले आईजी सा’पको निकट भनेर बुझेका छौं ।’

आफूलाई माओवादी र ऊर्जामन्त्री बर्षमान पुनः निकट भनेर परिचय दिने अधिकारीलाई सशस्त्र प्रहरी बलका डीआईजीसम्मका उच्च अधिकृतहरुले नमस्कार गर्ने गरेका छन् ।

सशस्त्र प्रहरी बलको गण, गुल्म र पेट्रोल पम्पहरुमा आफूले भनेको मान्छे पोष्टिङ गराउने ल्याकत राख्ने अधिकारीले भर्ना छनोटमा समेत हस्तक्षेप गर्ने गरेका छन् ।

‘भर्ना छनोट स्थलमा अधिकारी भीआईपी पास लगाएर जाने गरेका छन्’ सशस्त्र प्रहरी बलमा कार्यरत एक सिनियर अफिसर भन्छन्, ‘चिफ सापले नै लिफ्ट दिएको कारण मुख्यालयमा गैरफौजी हर्कत बढ्दै गएको छ ।’

शैलेन्द्र खनाल सशस्त्र प्रहरी बलको प्रमुख हुनुअघि सामान्य सेन्ट्रो गाडी चढेर हिँड्ने अधिकारी अहिले ६० लाख मुल्य पर्ने कोरियन सस्याङयोङ्ग चढ्छन् ।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार आईजी खनालले अधिकारीलाई सशस्त्र प्रहरीकै चालक दिएका छन् ।

सशस्त्र प्रमुख खनालले सरुवा–बढुवाको काममा परिचालन गर्ने गरेका अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत उनको अकुत सम्पत्तिमाथि अनुसन्धान गरिरहेको बताइएको छ ।

हेटौंडाका स्थायी बासिन्दा अधिकारीले पछिल्लो समय पुल्चोकमा आलिशान महल किनेका छन् ।

बिचौलियालाई लिफ्ट दिएकोबारे, प्रतिक्रिया लिन सशस्त्र प्रहरी बलका प्रमुख शैलैन्द्र खनालको मोवाइलमा पटक पटक फोन र म्यासेज गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

विदेशमा हुने तालिम र युएन मिशनहरुमा पनि आर्थिक मोलाहिजा गरेर सुरजको सिफारिस गरेका मानिसहरु नै पर्ने गरेको बताइएको छ ।

सशस्त्र प्रहरी बलको माइक्रो म्यानेजमेन्टमा चलखेल गर्ने अर्का ब्यक्ति हुन् नरेश भट्टराई ।

सुदुरपश्चिम स्थायी घर भएका भट्टराईलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाले सशस्त्रकै चालक र घरेलु कामदारको रुपमा फलोअर्स समेत दिएका छन् ।

यसबारे प्रतिक्रिया लिन सुरज अधिकारीसँग सम्पर्क गर्दा उनले शैलेन्द्र खनाल आफ्नो चिनजानको ‘दाइ’ भएको बताए ।

उनले भने, ‘म एपीएफ क्लवको मेम्बर हुँ, क्लव आउँदा जाँदा बोलचाल हुन्छ, अरु कुरा थाह भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप