केन्द्रीय संस्करण
विचार

घनश्याम भुसालको विश्लेषण : अहिलेको नेकपाले समाजवाद ल्याउँदैन

दुई तिहाइको सरकार दलाल पूँजीवादको कि समाजवादको ?

person explore access_timeमाघ ७, २०७५ chat_bubble_outline0

कम्युनिष्ट पार्टीको घोषणापत्रको नाम किन ‘कम्युनिष्ट पार्टीको घोषणपत्र’ राखियो भनेर माक्र्सले एक ठाउँमा स्पष्टीकरण दिएका छन्। त्यो एङ्गेल्सको पनि स्पष्टीकरण होला– ‘युरोपमा पूँजीपतिहरुले समाजवादको झण्डा यति उठाए कि तिमीहरु भन्दा हामी फरक हौँ भन्ने कुरा समाजवाद नै हो भनेर भन्न नसकिने हो कि ? यसले गर्दा हामीले यसको नाम कम्युनिष्ट पार्टीको घोषणपत्र राख्यौँ।’

 

अहिले युरोपमा समाजवाद यति व्यापक भयो जसले पनि आफूलाई समाजवादी भन्छ। नेपालको निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी अहिले समाजवादी भएर दुःख भएको हो कि ? जसले गर्दा समाजवादमा धेरै छलफल पनि हुनु परेन, के हो समाजवाद बुझ्नु पनि परेन। पहिलेदेखि संविधानमा छ। सबै पार्टीले आफ्नो घोषणपत्रमा लेखेका छन्। विधानमा लेखिसकेका छन्।

सबै समाजवादी भएको हुनाले समाजवादको चरण सकिने हो कि भन्ने डर लाग्ने एउटा स्थिति बनेको छ। यसरी हेर्दा हाम्रो कोर्समाथि अझै छलफल हुनु बाँकी छ। हामीले न चीनको बाटो अङ्गिकार गर्न सक्छौँ, न सोभियत संघको वा अरु कसैको। हामी आफ्नो तरिकाले आएका छौँ।

कहिलेकाहीँ के लाग्छ भने चिनियाँहरुले चिनियाँ विशेषताको समाजवाद भन्छन् भने हामीले नेपाली विशेषताको समाजवाद भन्न सकिन्छ कि सकिँदैन होला ?  हाम्रो कार्यभारहरु निश्चित गर्दा निश्चय नै यो  हामीले गर्न सकिन्छ होला झै लाग्छ। सैद्धान्तिक रुपमा यसो भन्ने कि नभन्नेबारे छलफल गरौँ।

तर, हाम्रा कार्यभार चिनियाँभन्दा फरक छन्, रसियन भन्दा फरक छन्। अरुका भन्दा फरक छन्। यसले गर्दा हाम्रा कार्यभार के हुन् भनेर हामीले बुझ्न सुरु गर्नुपर्छ । नेपाली समाज पूँजीवादी समाज हो, यो सामन्ती समाज रहेन। नेपाल आफैंमा एउटा जनवादी क्रान्ति सम्पन्न गरिसकेर अगाडि बढिसकेको एउटा समाज हो, राजनीति हो। यस वरिवरि जति छलफल हुनुपर्ने हो, त्यति छलफल भएको छैन।

यसलाई आत्मप्रशंसा वा के भन्नुहुन्छ, तत्कालीन  नेकपा एमालेको आठौँ महाधिवेशनमा ६०/६२ पेजको एटा डकुमेन्ट लेखेका थियौँ। बदलिएको समाज, वर्ग, राजनीतिक दिशा, क्रान्ति, क्रान्तिको चरित्र सम्बन्धमा हामीले साठी पेजभित्र जे लेखेका थियौँ, त्योभन्दा बाहिर अरु अभ्यास भएको मैले देखेको छैन। त्यसलाई च्यालेन्ज गरेर, त्यसलाई परिपुष्ट गर्ने हिसाबले कतै छलफल भएको छैन। यसरी सैद्धान्तिक राजनीतिक उचाई हाम्रो त्यही हो कि ? यदि त्यही हो भने यो धेरै डरलाग्दो कुरा हो। यसले हाम्रो समाजवादको अबको जिम्मेवारी, यो कार्यभारलाई पूरा गर्न धेरै गाह्रो हुनेछ।

नेपालको पूँजीको मुख्य चरित्र अनुत्पादक भएकोले यो दलाल हो। यो दलाल चरित्रलाई राष्ट्रिय चरित्र, उत्पादक चरित्र, उद्यमशिलता चरित्रमा बदल्न सकेनौँ भने त्यसले समाजवादतिर जाने बाटो नै तय गर्दैन, त्यो अगाडि बढ्दै बढ्दैन।

हाम्रो आजको ठ्याक्कै समस्या, जसरी हामीले समाजको बिश्लेषण गरेका छौँ, यो समाज पूँजीवादी हो। तर, पूँजीको दुईवटा चरित्र हुन्छः उत्पादक र अनुत्पादक। नेपालको पूँजीको मुख्य चरित्र अनुत्पादक भएकोले यो दलाल हो। यो दलाल चरित्रलाई राष्ट्रिय चरित्र, उत्पादक चरित्र, उद्यमशिलता चरित्रमा बदल्न सकेनौँ भने त्यसले समाजवादतिर जाने बाटो नै तय गर्दैन, त्यो अगाडि बढ्दै बढ्दैन। किनकि यही दलाल पूँजीवादलाई  अझ बढाएर, साम्राज्यवादको आन्द्रा जस्तो बनाएर मात्रै यहाँ विश्व साम्राज्यवादी पूँजीवादले आफ्नो स्थानलाई राम्रो बनाउन सक्छ। त्यसो गर्दा यसलाई ट्रान्सफर्म गर्ने हो भन्ने कुरा हामीले भनेका छौँ।

यसरी हेर्दा हामीकहाँ समाजवादको झगडा, समाजवाद र पूँजीवाद, समाजवाद र दलाल पूँजीवादको झगडा हामीकहाँ मात्र होइन कि ? यो काङ्ग्रेसमै पनि थियो कि ? ४८ सालपछि समाजको डोमिनेट क्यारेक्टर दलाल पूँजीवादी थियो। त्यसको सत्ता जुन आउँदै थियो, त्यो अलि अन्योल थियो। काङ्ग्रेसले कुन बाटो लिन्छ भन्ने कुरा अन्योल थियो। समाजको डोमिनेटकारी, बर्चस्वकारी त्यो चरित्रसँग लड्ने राजनीति हुनुपर्दथ्यो। त्यहाँ अलि लामो समयसम्म संघर्ष चल्थ्यो। समाजवाद र दलाल पूजीँवादको संघर्ष अलि लामो जान्थ्यो होला। या त काग्रेसलाई पनि दलाल पूँजीवाद बनाउनुपर्ने थियो। यो काम गिरिजाबावुको नेतृत्वमा समाज जस्तो छ, राजनीति र पार्टी त्यस्तै बनाएर काङ्ग्रेसले समाधान गर्याे भन्ने लाग्छ  मलाई। अथवा समाजको चरित्र दलाल पूँजीवादको थियो, त्यसलाई लिड गर्नको लागि दलाल पूँजीवादी पार्टी बनाइदियो। यो सङ्गतिपूर्ण भयो। यसले एटा बाटो लियो।

दलाल पूँजीवादमा अलिअलि सङ्कट भयो। जनयुद्धले अलिअलि सङ्कट खडा गर्याे। गिरीजाबाबुले नेतृत्व गरेको दलाल पूँजीवादलाई वास्तवमा सुरक्षित गर्न सक्दैन कि भन्ने भएपछि ज्ञानेन्द्र यसोे आएका थिए। उसले गर्न सकिहाल्छ कि ? ऊ भन्दा ऊ ठूलो पूँजीवादी हो कि ? उसको नेतृत्व क्षमता यसको धेरै छ कि भन्ने एउटा ट्रायल गरेको थियो दलाल पूँजीवादले जस्तो लाग्छ मलाई। उसले सकेन। ऊ चाँडै नै बिदा भयो। यही कोणबाट हेर्नुहुन्छ भने, हामीकहाँ जुन जनयुद्ध, शान्ति प्रक्रिया आएको छ, हामीले के इन्कार गर्नु हुन्न भने समाजवाद र दलाल पूँजीवाद संगसंगै हामी लड्दै आएका छौँ। यदि यो कोणबाट हेर्नुहुन्छ भने कसको दुई तिहाइ हो भनेर हेर्नुपर्छ : दलाल पूँजीवादको कि समाजवादको ?

यहाँबाट यदि प्रश्न नै उठेन भने गिरिजाबाबुको जस्तै हुन्छ। समाज जस्तो छ, राजनीति त्यस्तै भइदिन्छ। यसो गर्दा यो दुई तिहाइको समाजवादको कुरा गर्दा त्यो दुई तिहाई कसको हो भन्ने कुरा धेरै ठूलो प्रश्न हो भन्ने लाग्छ। यस हिसाबले हेर्दा आजको समाजवाद कम्तिमा दुई तिहाइको समाजवाद हो भन्ने कु्रा ग्यारेन्टी नगरी अगाडि बढ्दैन। यहाँसम्म आउँदा, यो फ्रेमभित्र छलफल गरेर जाने हो भने  लडाई बाँकी छ। यसर्थ यो पार्टीलाई नै समाजवादी पार्टी बनाउन बाँकी  छ। अहिलेको बनिबनाउ पार्टीले, नेकपाले समाजवाद ल्याउँदैन। यो कुरा मैले धेरै अगाडिबाट भन्दै छु।  यसले धेरै राम्रो काम गरेको छ। यसका धेरै ठूूला उपलब्धि छन्। तर, त्यो पर्याप्त छैन। जे गरिएको छ, जे प्राप्त गरिएको छ त्यसले समाजवादको ग्यारेन्टी गर्दैन। किनकि हामीले गिरिजावावु पछाडिको अस्तिसम्मको संघर्षमा समाजवादको पक्षमा दुई तिहाइ भन्ने गरी हामी आफ्नो पार्टीलाई नै विकसित गरेका छैनौँ।  अथवा त्यो एजेण्डा बनेका छैन। अहिले नै हेर्दा देशको धेरै ठाउँमा यस्ता छलफल हुन्छन्। यस्तो छलफल त नेकपाको हरेक गाउँपालिका र नगरपालिकाले निरन्तर गरिरहने कुरा हो। यदि समाजवादको ग्यारेन्टी गर्ने हो भने यो विषयको छलफल त्यहाँ गर्नुपर्छ। हामीले यहाँबाट ‘प्रेसक्राइब’ गरेर यो यो गर्नुपर्छ भन्ने होइन, हुदैन पनि। त्यसलाई ग्यारेन्टी गर्ने एउटा तरिकाः यो कम्युनिष्ट पार्टीभित्र बहस कसरी भित्र हुल्दिने ?

याे पनि....

नेकपाका अगाडि अब दुई विकल्प : ‘सत्यानाश या त समाजवाद’

अबको राजनीति र अर्थतन्त्रको दिशा कस्तो होला भन्ने बारेमा धेरै छलफल हुुनपर्छ भन्ने मलाई लाग्छ। आर्थिक नीतिको कुरा गर्दा, सरकारको बजेटको कुरा गर्दा मुलतः दुई तीन ठाउँ हामीले ध्यान दिनुपर्छ होला। एक कृषि क्षेत्र नै हो।  त्यहाँ रहेका जनसङ्ख्याका हिसाबले, श्रमको हिसाबले हामीले त्यसलाई ध्यान नदिई अन्त अन्त मात्र दगुरेर रेलको कुरा गरेर, पानी जहाजको मात्र कुरा गरेर हुँदैन। यदि रेल र पानीजहाज हामीलाई जरुरी छन् भने आज त्यो जनसंख्यालाई रेल र पानीजहाज कसरी जरुरी छ भन्ने कु्रा हामीले पुष्टि गरेर जानुपर्छ होला।

किनकि त्यहाँ ठूलो जनसंख्या छ। हाम्रो टुक्रिएको कृषि क्षेत्र छ। त्यसरी हेर्दा मलाई लाग्छ, कृषि क्षेत्रमा एउटा बृहत सहकारिताकै बाटोबाट हामी जानुपर्छ। यसरी हामी औद्योगीकृत गर्दै जान्छौ। त्यसलाई लगानी बढाउँछौ। त्यसलाई मेकानाइज गर्छाै र यो क्रममा कृषि क्षेत्रबाट जनसंख्या श्रम अतिरिक्त हुँदै जानेछ। त्यसलाई हामीले तदनुसार हाम्रो सबै ध्यान गैरकृषि क्षेत्रमा कृषिको औधोगिकरण गर्दै रोजगारीहरु सिर्जना गर्ने तर्फ केन्द्रित गर्नुपर्छ होला।

हामीले रोजगारीका धेरै क्षेत्र खोज्नुपर्छ। हामीले त्यसो गर्न सक्यौँ भने कृषि समाजवादी स्वामित्व अन्तर्गत आउन सजिलो हुनेछ। किनभने तपाईले रोजगारीका विकल्प दिनुभयो भने तपाईले कृषिको क्षेत्रमा करलाई बढाउँदै लैजान सक्नुहुन्छ र त्यसमा यस्तो अवस्था हुनेछ जसमा ५० प्रतिशत मेरो छोरोले पैसा राखेपछि मात्रै मेरो सम्पत्तिमा अंश पाउँछ भन्ने कुरा आज गर्न सक्ने हो भने मेरो छोरो ५० प्रतिशत पैसा लिएर हिँड्दैन। मेरो जग्गा खानका लागि ५० प्रतिशत दाखिल गरेर आउँदैन। किनकि उसका लागि यो भन्दा राम्रा क्षेत्रहरु हुनेछन्। सम्भवतः कृषिलाई सामुहिक, सार्वजनिक स्वामित्वअन्र्तगत ल्याउने कुरा छाडेर अरु जेसुकै गरे पनि समाजवादको जग बसाउन सकिँदैन होला जस्तो लाग्छ। त्यसले गर्दा यो प्राथमिक कुरा हुन्छ। त्यो आफै मात्र पूर्ण छैन। त्यसलाई उद्योगले टेवा दिनुपर्छ। लामो समय हाम्रो अर्थतन्त्रको मोटामोटी हिस्सा त्यतैबाट जान्छ। यसको राम्ररी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरामा हामीले बढी ध्यान केन्द्रित गर्नुपर्छ।

त्यस भन्दा बाहिर अर्काे महत्वपूर्ण कुरा भनेको हामी प्रगतिशील कर लगाउनेछौँ। त्यसबाट एकातिर तलको मानिसलाई हामीले जागिरको ग्यारेन्टी गर्ने दिशामा जान्छौँ। कृषिलाई हामीले आधुनिकीकृत गर्छौ, औद्योगीकृत गर्छाै। पुग्न सक्ने बनाउँछौँ। यसो गर्दै जाँदा तलको वर्गलाई ‘इम्पावर’ गर्ने कुरा हुन्छ। एउटा यो तरिका हो। दोस्रो हामीसँग प्रगतिशील कर हुन्छ। यी दुई तरिकाले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्न सक्छ । हाम्रोमा जन्मेका छोराछोरीलाई राम्रो शिक्षाको ग्यारेन्टी गर्छाै। रोजगारीको ग्यारेन्टी गर्छाैं। राम्रो बाटोमा मुलुक दश/पन्ध्र वर्ष हिँड्दै जाँदा त्यो अभ्यासले  भूमिलाई सार्वजनिक स्वामित्वअन्र्तगत ल्याउने प्रक्रियामा, सामाजवादतर्फ हामी निरन्तर क्रमशः अगाडि  बढ्दै जाने होला। योभन्दा बढी अरु केही गर्न सकिन्छ होला भन्ने मलाई लाग्दैन।

तर राजनीति यो दिशातर्फ गएको छ कि छैन ? भन्ने कुरा सम्भवतः आजको धेरै महत्वपूर्ण प्रश्न हो। यसरी हेर्दा आज हामी त्यतातिर गइसकेका छैनौँ। किनकि दलाल पूँजीवादलाई नियन्त्रण गर्नका लागि हामीले कति काम गरेका छौँ, भन्ने कुरा नै हामी त्यतापट्टि कति गएका छौँ भन्ने कुरा हो। पहिलेदेखि हामी कम्युनिष्ट भएकोले हामी फर्किनै परेन। हामी कम्युनिष्ट हौँ किन फर्किन पर्याे ?भन्ने एउटा कुरा होला। नत्र हाम्रा कामका हिसाबले भन्नुहुन्छ भने दलाल पूजीवादलाई नियन्त्रण गर्नका लागि हामीले के गरेका छौँ ? सोचौं केही चिज। मेरो भनाईको अर्थ हो, हामीले त्यसतर्फ गम्भिरतापूर्वक सोचौँ।

समाजवादी वजेट वनाउने कुरामा संसदमा पनि मेरो चासो अलिकति कम किन हुन्छ भन्दा त्यहाँ अर्थमन्त्रीलाई चारओटा सुझाव दिएपछि त्यसले समाजवाद ल्याइदिन्छ की भनेर मान्छेले जसरी छलफल गर्छन्, मलाई त्यसमा फिटिक्कै विश्वास छैन।

समाजवादी वजेट वनाउने कुरामा संसदमा पनि मेरो चासो अलिकति कम किन हुन्छ भन्दा त्यहाँ अर्थमन्त्रीलाई चारओटा सुझाव दिएपछि त्यसले समाजवाद ल्याइदिन्छ की भनेर मान्छेले जसरी छलफल गर्छन्, मलाई त्यसमा फिटिक्कै विश्वास  छैन। अर्थमन्त्रीलाई वजेट बनाउन दिएर स्ट्यान्डिङ कमिटिको बैठक बसेर, फलाना फलानालाई मन्त्री बनाउने भनेर,  आफना नातापाता चाकर साकर लगेर राजनीतिक नियुक्ति दिलाउने यो तमाम चिज कुनै तरिकाले समाजवादतिर जाने तरिका होइन। समाजवाद जानको लागि प्लेखानवले भनेजस्तै यदि तिमीलाई क्रान्ति गर्नुछ भने क्रान्तिकारी सिद्धान्त चाहिन्छ भनेका छन्। लेनिनले यसलाई बढी दोहोराए। यदि समाजवाद ल्याउने हो भने समाजवादी पार्टी चाहियो। यसमा हाम्रो छलफल नै हँुदैन। म पार्टीको अधिकारी नै हुँ। पार्टी छँदैछ भन्ने लाग्छ मलाई पनि। दुई तिहाई आइसकेको छ। अस्ति कमरेड प्रचण्डले भनेजस्तो ड्याम ड्याम समाजवाद ल्याउने काम  छाडेर पार्टी बनाउने कुरामा त्यति जाँगर लाग्ने कुरा पनि त भएन।

ड्याम ड्याम समाजवाद ल्याउने कुरा छन्। त्यसो गर्दा मुख्यतः समाजवाद ल्याउने हो भने समाजवादी पार्टी चाहियो। अहिले बनिबनाउ पार्टीले समाजवाद ल्याउँदैन। त्यसका लागि समाजवादी पार्टी बनाउनुपर्यो। त्यो पार्टीका लागि सिद्धान्त चाहियो। त्यो संगठन बनाउनुपर्याे। ती कुरा यहाँबाट सुरु हुन्छन्। यदि यो नगर्ने हो भने यी सबै कुरा गफ हुन्। यो दुई तिहाई पनि गफ हो।  सबै कुरालाई छाडिदिने हो भने दुई तिहाईले समाजवादलाई सपोर्ट गर्दैन। त्यसले गर्दा म हरेक समाजवादी कमरेडहरुलाई के अनुरोध गर्छु भने त्यो सम्पूर्ण इफोर्ट समाजवादी पार्टी कस्तो बन्छ भन्ने कुरामा हामीले साँच्चै सोचिहाल्ने हो कि ?

मेरो पार्टी अर्काको पार्टी भन्नै पर्दैन। मलाई लाग्छ नेपालको लिडरसिपमा रहेको पार्टी त्यो गाउँ नगरपालीका देखि नै सुरु हुन्छ। लिडरसिपको बहुमत अब नकमाएको सम्पत्तिले पालिन थाल्यो भन्ने लाग्छ मलाई। ती पार्टीहरु यस्तो भयो कि अब यिनीहरु नकमाएको सम्पत्तिले पालिन्छन्। माथिदेखि तलसम्म। जति माथि गयो, त्यति यो बढ्दै जान्छ। कोही करायो भने भने ए कराएको हो ? निहूँ खोजिस् भनेपछि ऊ बोल्दैन। त्यसो गर्दा समाजवाद ल्याउनका लागि पूर्वसर्त समाजवादी पार्टी हुनुपर्छ। समाजवादी पार्टीको पूर्वशर्त समाजवादी सिद्धान्त नै हो। त्यो सिद्धान्तलाई बोक्न सक्ने तलदेखि संगठन बनाउने हो। त्यस्तो समूहले गोष्ठीहरु वार्डमा, गाउँपालिका, नगारपालिका स्तरसम्म गर्छ। हाम्रो स्वास्थ्य, शिक्षा, रोजगारी कस्तो हुने हो ? कस्तो बजेट हुँदा हाम्रो रोजगारी बढ्थ्यो होला ? कस्ता कानूनहरुले हाम्रा समाज अझै विभेदमुक्त हुन्थ्यो होला ?

पूर्ण स्वतन्त्रताका साथ आ–आफ्ना ठाउँमा वार्डमा, गाउँपालिका, नगरपालिका, प्रदेश र माथि समेत जब समाजवादका नीतिहरु के हुन् ? भनेर छलफल सुरु हुन थाल्छ, समाजवाद त्यहाँबाट सुरु हुन्छ। जहिलेसम्म त्यो बनाउन सकिँदैन, समाजवादको सुरु हुदैन। समाजवादबारे छलफल अगाडि बढाउँछौ, तब मात्र समाजवादको सुरुवाद हुन्छ।

हामीकहाँ रहेको दलित, जनजाती, मार्क्सवादले राई चिनेन लिम्बु चिनेन भन्ने जुन खालका सवालहरु छन्, यसको उत्तर त अबका मार्क्सवादीले दिनुपर्याे। हिजोको मार्क्ससँग तिमिले राई चिनेको थियौ वा थिएन भन्यौ भने आजका राईसँग  मार्क्सवादीले  त्यो तलको गाउँसँग भन्नुपर्याे यहाँ महिला र पुरुष, जाती र जनजातीका, दलित र गैरदलितका बीचको विभेदलाई हामीले यसरी हटाउँछौ भनेर। त्यहाँ त्यो छलफल हुनुपर्याे। यसरी पूर्ण स्वतन्त्रताका साथ आ–आफ्ना ठाउँमा वार्डमा, गाउँपालिका, नगरपालिका, प्रदेश र माथि समेत जब समाजवादका नीतिहरु के हुन् ? भनेर छलफल सुरु हुन थाल्छ, समाजवाद त्यहाँबाट सुरु हुन्छ। जहिलेसम्म त्यो बनाउन सकिँदैन, समाजवादको सुरु हुदैन। समाजवादबारे छलफल अगाडि बढाउँछौ, तब मात्र समाजवादको सुरुवाद हुन्छ। सम्भवतः यसले रोजगारी सिर्जना गर्छ।

समिर अमिनले दलाल पूँजीवादको व्याख्या गरेको कुरा त्यसले कृषि श्रमलाई उद्यमसँग जोड्दै जान्छ। यो एउटा प्रक्रिया सुरु हुन्छ। नयाँ रोजगारी सिर्जना हुँदै जान्छन्। प्रगतिशील कर समेत हुँदै जान्छ। यसरी हामी एउटा लामो बाटो हिड्दै जान्छौ। यो निरन्तर तल छलफल हुँदै जान्छ र समाजवाद अलि बन्छ, अलिअलि बाँकी रहन्छ। यो एकै दिन आउँदैन। अलि धेरै प्रयत्न गरेपछि धेरै समाजवाद बन्दै जान्छ। जति समाजवाद बन्दै जान्छ दलाल पूँजीँवाद खुम्चिदै जान्छ। प्रक्रिया यही हो।

(नेपाल वैकल्पिक अध्ययन समाजले समकालीन विमर्श श्रृङ्खला ६ अन्तर्गत समकालीन नेपालमा समाजवाद शीर्षकको कार्यक्रममा भुसालले गर्नुभएको टिप्पणीको उतारको सम्पादित अंश। )

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ