केन्द्रीय संस्करण

श्रीस्वस्थानी व्रत र धार्मिक महत्त्व

person explore access_timeमाघ ६, २०७५ chat_bubble_outline0

हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हिन्दु नारीहरू श्रीस्वस्थानीको एक महिना लामो व्रत बस्ने गर्छन् । तिथिका आधारमा मनाइने हुनाले प्रत्यक वर्ष यो पर्ब फरक–फरक मितिमा पर्ने गर्छ ।

२०७५ साल माघ महिनाको ६ गते मध्यान्ह ०१ बजेर ३९ मिनेटबाट आरम्भ भई फागुन ७ गते बेलुकी ०९ बजेर ४९ मिनेटमा पूरा हुनेछ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतील श्रीमहादेव पति पाऊँ भनी गरिएको व्रत कथा आजको दिनसम्म पनि  हिन्दुधर्ममा आस्था राख्ने विवाहित तथा अविवाहित महिलाहरूले दीर्घायू, सुस्वास्थ्य, परिवारको प्रगति तथा आफ्नो घर, समाज तथा देशमा सुख शान्ति कायम होस् तथा आफ्नो मनोकामना, पढाइ, स्वास्थ्य, विदेश यात्रा तथा राम्रो नोकरीको अभिलाषा राख्दै व्रत बस्ने गरेको पनि पाइन्छ । 

मार्कण्डेय पुराणको हिवमत खण्डमा वर्णन गरिए अनुसार व्रत सुरु हुनुभन्दा एक दिन अगाडि हात गोडाका नङ काटी पवित्र भई एक छाक मात्र भोजन गरी बस्नुपर्छ । भालिपल्ट पौष शुक्ल पूर्णिमाका दिन पवित्र खोला तथा तलाउँमा नुहाएर आई पूजास्थलमा बसी शुद्ध जलले अभिषेक गरी आजदेखि म एक महिना श्रीस्वस्थानी परमेश्वरको व्रत आरम्भ गर्छु भनी दृढ प्रतीज्ञा वा सङ्कल्प गरी व्रत आरम्भ गर्नुपर्छ ।

पूजाका लागि तामाको थालीमा ॐ कारदेखि त्यसमा पवित्र बालुवाको शिव लिङ्ग बनाई स्थापना गर्नु र अक्षता, बेलीपुष्प, यज्ञसूत्र, तिल, जौ, पान, सुपारी, बाती र फलफूल चढाइ पूजा गर्नुपर्छ । एक महिनाको अवधिभर झैझगडा, दुर्वाच्य बोल्नु तथा नराम्रो कुरा सोच्नु हुँदैन । प्रत्येक दिन उठी नित्य कर्म गरी श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्ने तथा मध्याह्न भएपछि कथा सुन्ने सुनाउने गर्नुपर्छ । 

महिनादिन पछि दीप, कलश, गणेष आदिको वैदिक मन्त्रोउच्चारण गरिन्छ । विधिपूर्वक ब्राह्मणद्वारा पूजा गराई आफ्नो नाम र गोत्र सम्झेर मन, वचर र कर्मले जानी नजानी गरेको सम्पूर्ण पाप नास हुने विश्वास छ । यस लोकमा सुख सम्पत्ति र मृत्यु उप्रान्त स्वर्गमा बास होस् भन्ने कामनाले यथाशक्ति श्रीस्वस्थानी परमेश्वरीलाई पूजा गरेँ अब मेरो मनोकामना पूरा होस भनी अर्घ दिनु र श्रीस्वस्थानी परमेश्वरलाई मनले सम्झनु पर्छ  ।

माघ शुक्ल पूर्णिमाका दिन १०८ रोटी, १०८ अक्षता, १०८ यज्ञसूत्र, १०८ बेलीपुष्प, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फलफूल आदि सबै १०८ सगुनसमेत नाना उपचार तयार पारेर आर्शीमा ॐकार लेखी गङ्गाजलले स्नान गराउनु, श्रीखण्ड, रक्तचन्दन, अबिर, पुष्पमाला चढाई धूपदीप नैवैध, वस्त्र, भेटी अर्पण गर्नुपर्छ । पुजा सकेर अर्घदिनु अनि प्रसाद झिकेर अष्टोतरमा समयमा आठरोटी, आठ अक्षता, आठ पुष्प, आठपान, आठ कुड्का सुपारी सगुनसमेत आफ्नो पतिलाई दिनु, पति नभए छोरोलाई दिनु, छोरो पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए आफूले जुन मनोकामनाले व्रत गरेको हो त्यो पूरा होस भनो खोलामा बगाइदिनु भनिएको छ । सय रोटी आफूले फलाहार गर्नु रात्रीमा जाग्राम बस्नुपर्छ भनिएको छ ।

स्वस्थानी व्रत सर्वप्रथम हिमालय पर्वतकी छोरी पार्वतीले श्रीमहादेव स्वामी पाऊँ भनी लिएकी थिइन् । व्रतका प्रभावले उनको मनोकामना पूरा भयो । त्यसछि पार्वतीले अश्वस्थामा सप्तऋषिलाई बोलाएर हे ऋषिवर पाताल लोकमा गएर को दुखी छन् तिनीहरूलाई पनि श्रीस्वस्थानी व्रत कथा विधिपूर्वक गर भनी आज्ञा गर्नुभयो ।

ऋषिमुनिहरू पनि सप्त पातालको मूल रसातलामा पुगी दुःख पाएका नागिनीहरूलाई श्रीस्वास्थानी व्रत लिँदा आफ्नो मनोकामना पूरा हुने भन्दै सबै विधि बताएर फिर्ता भए । तिनै ऋषिहरूले बताएअनुसार दुःख पाएका नागिनीहरूले श्रीस्वस्थानीको व्रत लिए । त्यस व्रतका प्रभावले तिनीहरूका वर्षांैदेखि हराइरहेका नाग घर आइपुगे । सबै प्रकारले सुख भोग गरी पातालमा रहदा भए भन्ने उल्लेख छ । गोपिनीहरू पछि गोमा ब्रह्माणीले श्रीस्वास्थानी व्रत लिएको कथामा वर्णन गरिएको छ । महादेवको श्रापपछि गोमाको सत्तरी वर्षका शिवशर्मा ब्राह्मणसँग विवाह भएको र भीक्षा माग्न गएका शिवशर्माको बाटैमा निधन भएपछि छोरा नवराज बाबुको खोजखबर गर्न घरबाट हिँडे ।

लामो समयसम्म नआएपछि गोमाले स्वस्थानी व्रतकथा दिएको र व्रत सकिएकै दिन नवराज घरमा आएको र त्यसको केहीपछि लावण्य देशमा राजा भएको कथामा उल्लेख गरिएको छ ।  नवराज लावण्य देशमा राजा भएपछि आफ्नी माइत गएकी पत्नीलाई लिन डोलेहरूलाई पढाए । डोलेहरूले पनि चन्द्रवतीलाई लिएर फर्कंदै गर्दा डोलेहरूले भने हे महारानी हामीलाई भोकलाग्यो भनी अप्सराहरूले श्रीस्वस्थानी माताको व्रत गरिरहेको ठाउँमा पुगरे प्रसाद ग्रहण गरी चन्द्रावती रानीलाई पनि प्रसाद ल्याइदिँदा प्रसादलाई  श्रस्वस्थानी परमेश्वरीको निन्दा गरेको हुनाले लावण्य देशको नजिक शाली नदी आधा पार गर्ने बित्तिकै आकस्मात चाँदनी टागेझैँ मेघ उठेर मूसलधारे पानी पर्याे र चन्द्रावती लडेर खोलामा पसिन् । त्यसपछि राजाको निमन्त्रणलाई स्वीकार्दै लावन्य देश हिँडेका दुई ब्राह्मणहरूले श्रीस्वस्थानी परमेश्वरीको व्रत विधि बताएँ । चन्दावतीले पनि पौषशुक्ल पूर्णिमाबाट नै विधिपूर्वक श्रीस्वस्थानी माताको व्रत लिई पहिले जस्तै भई लावण्य देश गएको कथामा उल्लेख छ । 
काठमाडौंको उत्तर–पूर्वमा पर्ने शाली नदीमा माधवनारायणको एक महिनासम्म मेला लाग्ने गर्छ । माघ महिनामा त्यहाँ गएर स्नान गरेमा पाप पखालिई पुण्य मिल्ने धार्मिक विश्वास छ । यो क्षेत्रमा स्नानका लागि विभिन्न ठाउँबाट लाखौँ भक्तजन आउँने गर्छन् ।

भौतिक विज्ञानका सहप्रध्यापक धनीराम सापकोटाका अनुसार सवल तथा तन्दुरुस्त व्यक्तिले व्रत बस्दा शरीरका प्रत्येक अङ्गले स्फूर्त रूपमा काम गर्छन् । पाचन प्रणाली सक्रिय बनाउनका साथै मोटोपना तथा अनावश्यक बोसोलाई कम गर्छ । व्रत बसेको समयमा पाचन प्रणालीले शरीरमा भएको चिल्लो पदार्थलाई शक्तिका रूपमा प्रयोग गर्छ । यसले गर्दा पाचन प्रणाली सक्रिय बनाउँदछ तसर्थ फोक्सो, कलेजो तथा मिर्गौला जस्ता अङ्गहरूको कार्यक्षमता बढ्दछ । तर शारीरिक रूपमा असक्त व्याक्तिहरूले व्रत बस्दा ध्यान दिनुपर्छ । शरीरलाई आवश्यक पर्ने तत्वहरू जस्तै चिल्लो पदार्थ, कार्बाेहाईड्रट, प्रोटिन अपुग हुने हुनाले रक्तचाप घट्ने, रिँगटा लाग्ने जस्ता विविध समस्या आउँन सक्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...