लिभरपुलको जितमा सलाहको दुई गोल
एजेन्सी –इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले उपाधि दौड थप बिलयो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ४–३ गोलले हरायो ।
घरेलु मैदानमा खेलको अन्तिमतिर १० खेलाडीमा समेटिएको लिभरपुलले कठिन जित निकालेको थियो । लिभरपुलको जितमा मोहमद सलाहले ४६औं र ७५औं मिनेटमा दुई गोल गरे । रोबर्टो फिर्मिन्होले ५३औं र साडियो मानेले ९०औं मिनेटमा एक एक गोल थपेका थिए । खेलमा सुरुवाती अग्रता क्रिस्टलले लिएको थियो ।
क्रिस्टलका एन्ड्रोस टोनसेन्डले ३४औं मिनेटमा गोलगर्दै टोलीको उत्साह बढाएका थिए । जेम्स टोमकिन्सले ६५औं र म्याक्स मेयरले दोस्रो हाफको इन्जुरी समयमा एक एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । जेम्स मिल्नर ८९औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि अन्तिममा १० खेलाडीमा समेटिएको लिभरपुल दवावमा देखिएको थियो ।
जितसँगै लिभरपुलले २३ खेलबाट ६० अंक बनाएको छ । लिभरपुल दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटी भन्दा सात अंकले अगाडी छ । सिटीले २२ खेलबाट ५३ अंक बनाएको छ । लिभरपुलसँग हार खेपेको क्रिस्टल २२ अंक सहित १४औं स्थानमा छ ।