एकदिवसीय क्रिकेटमा आर्मी च्याम्पियन
काठमाडौं– मनमोहन स्मृति (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
सुनसरीको इनरुवामा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ८३ रनले हराउँदै उपाधि जितेको हो । उपाधीसँगै आर्मीले चार लाख एक हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता पुलिसले दुई लाख एक हजार रुपैयाँ प्राप्त गर्यो ।
आर्मीले दिएको दुई ५० रनको लक्ष्य पछ्याएको पुलिस ४२.५ ओभरमा सबै विकेट गुमाएर एक सय ६६ रनमा समेटिएको थियो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले ५१ रन बनाए । हिमान्शु दत्तले २९, अमित श्रेष्ठले २५, दिपेश श्रेष्ठले १७, प्रेम तामाङले र सागर ढकालले समान १४÷१४ रन बनाए । पुलिसलाई सस्तोमा समेट्न आर्मीका आहव आलम र कुशल मल्लले तीनतीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामी मगरले ६९ रन बनाए । कुशल मल्लले ४९, बिनोद भण्डारीले २६, रोहित कुमार पौडेलले १४, बिक्रम सोबले २० र भिम सार्कीले १५ रन जोडेका थिए ।
पुलिसका दिपेश श्रेष्ठले तीन तथा राम नरेश गिरीले दुई विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी दिलिप नाथले चुनिए । नाथले ५१ हजार रुपैयाँ पुरस्कार पाए ।उत्कृष्ट बलर सागर ढकाल र ब्याट्सम्यान भिम सार्की घोषित भए । दुबैले समान २० हजार एक सय रुपैयाँ पुरस्कार पाए ।