शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लहानमा बलिदानी दिवस आयोजनाः शहीद परिवारलाई रोजगारीको घोषणा, घाइते–अपाङ्गलाई राहत दिइयो

शनिबार, ०५ माघ २०७५, २१ : ३६
शनिबार, ०५ माघ २०७५

लहान–०६३ माघ ५ मा भएको मधेस आन्दोलनको क्रममा लहानमा पाँच जनाले ज्यान गुमाएको दिनको सम्झनामा मनाइँदै आएको बलिदानी दिवस यो पटक प्रदेश सरकारले यहाँ औपचारिक रुपमा मनाएको छ । 

 सिरहाको लहानस्थित पशुपति आदर्श मा.वि.को प्राङ्गणमा आयोजित बलिदानी दिवसमा आन्दोलनको क्रममा शहादत प्राप्त गरेका २ नं. प्रदेश अन्तर्गत पर्ने आठ जिल्लाका ५८ शहीद परिवारलाई दोसल्ला र फूलमालासहित सम्मान गरियो । 

संघीय सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आन्दोलनमा शहादत प्राप्त गरेका ५८ परिवारका एक÷ एक जनालाई प्रदेश सरकारले रोजगारी दिने घोषणा गरिएको छ ।

 २ नं. प्रदेश अन्तर्गत पर्सादेखि सप्तरी जिल्लाबाट कार्यक्रममा सहभागी शहीद परिवारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको पत्र थमाइएको छ । 

पत्रमा ‘प्रदेश सरकारको तर्फबाट शहीद परिवारलाई एक परिवार एक रोजगार कार्यक्रम संचालन गर्न लागेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न हुन आदेशानुसार अनुरोध छ’ उल्लेख गरिएको छ । कार्यक्रममा सहभागी हुन प्रदेश अन्तर्गतका आठ जिल्लाबाट आएका शहीद परिवारलाई प्रदेश सरकारको तर्फबाट यातायात खर्च भन्दै जनही एक हजार रुपैयाँ नगद दिइएको छ ।  

मधेश आन्दोलनमा घाइते भएका आठ जिल्लाका ७४ जनालाई आन्दोलनको क्रममा भएको अङ्गभङ्ग तथा अशक्तताको आधारमा २५ हजारदेखि तीन लाख रुपैयाँसम्मको दरले राहत दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत सुवोधकुमार महतोका अनुसार आन्दोलनमा अङ्गभङ्ग भएका, हात खुट्टा काटिएर अपाङ्गता भएका, घाउ चोट लागेकाहरुलाई मुख्यमन्त्री कार्यालयबाट खटिएको समूहले गरेको वर्गीकरणको आधारमा २५ हजारदेखि तीन लाख रुपैयाँसम्म आर्थिक सहयोग गरिएको हो । 

बलिदानी दिवसलाई सम्बोधन गर्दै संघीय सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संशोधनमार्फत् स्वायत्त मधेश बनेपछि मात्र शहीदप्रति वास्तविक श्रद्धाञ्जलि हुने बताए । 

स्वायत्त मधेशसँगै आर्थिक विकास र समृद्धिको अभियानमार्फत् गरिबी, अभाव, बेरोजगारको अन्त्य गरी समृद्ध र विकसित मधेश बनाउन ध्यान केन्द्रित गर्नुपर्ने उपप्रधानमन्त्री यादवले औंल्याए । ‘प्रदेश सरकारले उपलब्ध साधन स्रोतको अधिकतम् उपयोग गरी समृद्ध प्रदेश बनाउन जुट्नु पर्छ’ उनले भने ‘कृषि, पर्यटन र जलविद्युतको अधिकतम् विकास गरी आगामी केही वर्षमै २ नं. प्रदेशलाई नमूना बनाउन सकिन्छ ।’

संघीय सरकारले मधेशका लागि हुलाकी सडक र निजगढ विमानस्थलको निर्माण तथा भरपर्दो सिंचाईको व्यवस्था गरे मधेशको समृद्धको यात्रा छिटो आगाडि बढ्ने उपप्रधानमन्त्री यादवले उल्लेख गरे । मधेशको रगत बगेपछि मात्र संविधानमा संघीयता, गणतन्त्र र समावेशिता उल्लेख गएिको तर त्यसलाई असफल बनाउने षड्यन्त्र भईरहेको चर्चा गर्दै उपप्रधानमन्त्री यादवले संविधानमार्फत् प्राप्त अधिकारहरुको संस्थागत विकास गर्दै थप अधिकारका लागि लडाई जारी राख्न आग्रह गरे । 

बलिदानी दिवसमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद परिवारलाई सम्मान, रोजागरी, घाइते अपाङ्गलाई राहत शुरुवात मात्र भएको बताए । प्रदेश सरकार बनेपछि पहिलो मन्त्रीपरिषद्को बैठकले शहीद परिवारबाट एक जनालाई रोजगारी दिने निर्णय गरेको सुनाउँदै त्यसको कार्यान्वयनको थालनी बलिदानी दिवसबाट गरेको मुख्यमन्त्री राउतले उल्लेख गरे । ‘यो थालनी मात्र हो, अन्त्य होइन’ मुख्यमन्त्री राउतले भने ‘छुटेका शहीद परिवार, घाइते अपाङ्गहरुले प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसँग समन्वय गर्न आग्रह गर्दछु ।’ 

प्रदेश सरकारले कृषि उत्पादकत्व बृद्धि, उद्योग कलकारखाना र धार्मिक पर्यटकीय स्थलको विकास र लगानीमैत्री वातावरण बनाउन मिहेनत गरिरहेको मुख्यमन्त्री राउतले बताए । ‘प्रदेश सरकारलाई विकास इकाईको रुपमा मात्र राख्ने षड्यन्त्र हुँदैछ’ मुख्यमन्त्री राउतले चेतावनी दिंदै भने ‘संविधानले दिएको अधिकार प्रयोग गर्न पनि षड्यन्त्र गरिन्छ भने प्रदेश सरकार चुप लागेर बस्ने छैन ।’

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारले जसरी आन्दोलनमा शहीद तथा घाइते अपाङ्ग भएकाहरुलाई प्रदेश सरकारले नभुल्ने दावी गरे । प्रदेश सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाको उद्घोषण रहेको कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका मुख्य सचिव हरिप्रसाद फुँयालले स्वागत गरेका थिए ।   

२०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा संघीयता र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै शुरु भएको आन्दोलनमा माघ ५ गते लहानमा विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु आन्दोलन देशव्यापी भएको थियो । ंआन्दोलनमा क्रममा सिरहाका विभिन्न ठाउँका पाँच जनाले शहादत प्राप्त गरेका थिए भने तीन दर्जन भन्दा बढी घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप