मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

महिला फुटबल टोलीले मासिक तलबभत्ता पाउने

शनिबार, ०५ माघ २०७५, १८ : १८
शनिबार, ०५ माघ २०७५


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु सात हजार तलब र रु तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए । यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने गरेका थिएनन् । 

एन्फाले ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीलाई नगदसहित सम्मानित गर्ने निर्णयसमेत गरेको छ । एन्फाको कार्यसमिति बैठकले महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजारबाट सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए । 

म्यान्मामा गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपालले दोस्रो चरणका लागि स्थान पक्का गरेको थियो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो । 

यस्तै एन्फाले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई जनही रु २५ हजारबाट सम्मान गर्ने निर्णय गरेको छ । गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै उपविजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप