शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीआइजेको रिपाेर्ट खण्डन गर्दै अरुण कुमार चौधरीले निकाले यस्तो विज्ञप्ति

शनिबार, ०५ माघ २०७५, १८ : ०४
शनिबार, ०५ माघ २०७५

काठमाडौं– व्यवसायी अरुण कुमार चौधरीले आफ्नो र परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी दर्ता रहेको भनी सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

यस्तै सूचनालाई आधार बनाई ३/४ वर्ष पहिला पनि यो विषय बाहिर आएको आएको स्मरण गर्दै त्यसबेला समेत यो विषयमा स्पष्ट पारिसकेको उनले उल्लेख गरेका छन् । 

उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ ।’

ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले आफूहरुको नाम दुरुपयोग गरेको भए, बरु त्यो छानविनको विषय बन्न सक्ने उनको विज्ञप्तिमा उल्लेख छ । 
उनले भनेका छन्, ‘ट्याक्स हेवन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत हामीलाई जोडिएको छ। ती दुई कम्पनी कम्पनीमा हाम्रो साझेदारी छैन । मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिंग्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन । यो विषयले आम जनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ ।’

अहिलेसम्म आफ्नो नेतृत्वमा संचालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी (एफडीआई) नआएको पनि उनले बताएका छन् । 

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा चौधरी र उनका परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरेपछि अरुण कुमार चौधरीले यो खण्डन गरेका हुन् । 

प्रेस विज्ञप्ति

खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस(आईसीआईजे)को सहकार्यमा तयार पारेको रिपोर्टमा म र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी उल्लेख गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्तै सूचनालाई आधार बनाई ३÷४ वर्ष पहिला पनि यो विषय बाहिर आएको थियो, त्यसबेला समेत हामीले यो विषयमा प्रष्ट पारेको सर्वविदितै छ । सीआइजेको रिपोर्टमा उल्लेख भएको कम्पनी १५ वर्ष पहिला खुलेको र ६÷७ वर्ष पहिला स्ट्राइक अफ भइसकेकोछ ।

यस विज्ञप्तिमार्फत म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आबद्धता र सरोकार नभएको जानकारी गराउँदछु । जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रष्ट हुन्छ ।

सो कम्पनीको सेयरहोल्डर भनी मेरा छोराहरुको नाम जोडिएकोमा सो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो ।

हाम्रा बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरुले छोराहरुलाई बेलायतमा पढाउने हो भने कम्पनी खोल भनेका थिए हामीले खोलेनौं । ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता गर्न सकिने सो बेलाको सहज व्यवस्थाको फाइदा उठाई कोही कसैले हाम्रो नाम दुरुपयोग गरेको भए, त्यो छानविनको विषय बन्नसक्ला ।

त्यसैगरी, ट्याक्स हेवन गर्नजीमा दर्ता रहेका दुई विदेशी कम्पनीमा समेत हामीलाई जोडिएको छ। ती दुई कम्पनी कम्पनीमा हाम्रो साझेदारी छैन । मेरो कुनै पनि स्वीस बैंकमा खाता छैन, कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता छैन र सिजी होल्डिंग्स समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी आएको छैन । यो विषयले आम जनमानसमा द्विविधा सिर्जना नगरोस् भन्ने उद्देश्यले यो विज्ञप्ति जारी गरेको हुँ ।

अहिलेसम्म मेरो नेतृत्वमा संचालित कुनै पनि कम्पनीको नाममा वैदेशिक लगानी(एफडीआई) आएको छैन । अझ मेरो नाममा स्वदेशमा अस्तित्वमा रहेका कम्पनीहरुमा म र मेरो श्रीमती बाहेक अरु कसैको लगानी समेत छैन । मेरा कुनै पनि कम्पनीमा एफडीआई आएको प्रमाणित भए त्यसलाई सरकारीकरण गरियोस् ।

म अटो मोविल्स, शिक्षा, हस्पिटालिटि, रियलस्टेट, उद्योगको क्षेत्रमा नेपालमा आफ्नै लगानीले उद्यम र व्यवसाय गरिरहेको उद्योगी÷व्यक्ति हुँ । मैले मेरा कम्पनीमार्फत मुलुकमा हजारौंलाई रोजगारी प्रदान गर्दै आएको छु भने करोडौं रुपैयाँ राजश्वमा योगदान समेत गर्दै आएको कुरा सर्वविदितै छ 

विदेशमा लगानी सम्बन्धीे ऐनको व्यवस्थालाई म र मेरो परिवारले पूर्ण रुपमा पालना गर्दै आएको र ऐनको आदेश वा निर्देशनको अक्षरंशः पालना गर्ने यसै विज्ञप्तिमार्फत पुनः एकपटक प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

 

अरुण कुमार चौधरी

२०७५ माघ ५ गते शनिवार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप