शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वप्रेमिकालाई अन्तिम पत्र !

शनिबार, ०५ माघ २०७५, १५ : ५०
शनिबार, ०५ माघ २०७५

मेरी प्रिय जिन्दगी,
नसा नसामा रगत बगेको छ कि आगो कुन्नि, मुटु एकोहोरो पोलि मात्र रहन्छ ! यही आगोजस्तो तातो मुटुबाट केही लेख्ने दुस्साहस गर्दैछु । 

अचानक कसरी प्रेमको लालीगुँरास फूल्यो, यसरी फूल्यो, जिन्दगी नै फूल बन्यो । विगत डेड वर्षजति रहरहरू न तिम्रा मात्र भए न मेरा मात्र भए, हामी दुईका एकै भइदिए । 

आँखामा हेरेर सुरु भएको यात्रा जिन्दगी बनेर बगिरह्यो । तर जिन्दगीको खुसी यति छोटो रहेछ कि यति छिट्टै ओइलाएर गयो । 

यो बीच म ‘म’ नभएर तिमी भइसकेको थिएँ । प्रेमले ल्याएका खुसी र वर्षौं वर्षको सङ्केत सम्झेर जिवनको अर्को नाम नै खुसी राखिदिएँ र खुसी भनेकै तिमी सम्झेँ । 

जीवनमा खुसी जसरी आए फेरि त्यसरी नै पखालिँदै गए । खुसी पखालिनुमा गल्ती मेरो भयो कि तिम्रो त्यो पनि पत्तो पाउन सकिनँ । एक दिन अचानक फोन गरेउ र मूर्तिवत हुँदै सम्बन्धको अन्त्यको घोषणा गरेर गयौँ । तिम्रो स्वभाव यस्तो त हुँदै होइन कदापि । तिमीलाई म भँगेराजस्तै देखेथेँ । चञ्चल मात्र चञ्चल ।

यो संसार एकै पटक ध्वस्त भयो र म मात्र बाँचे भने कस्तो होला ? म आज त्यस्तै भएको छु । किनकि मेरो संसार त तिमी हौ । 

थाहा छ नानी– म उनीलाई नानी भनेर बोलाउथेँ, तिमीले मलाई एक पटक भनेकी थियौँ नि, “तिमी कति बदमास छौ है !” के तिमीलाई थाहा छ ? मैले अचेल बदमासी पूरै छाडिसकेँ नि । 

अचेल मलाई मेरो मन तिमीलाई पठाउन मन छ । हेर न विज्ञान र प्रविधिको यति धेरै विकास भइसक्दा पनि मन तिमी कहाँ पठाउन सकिँदैन, र त म उहीँ पुरानै शब्दहरूको सहारा लिँदैछु । 

अचेल बारम्बार म एक्लै आँशु बगाएको हुन्छु । खुब रुन्छु एकान्तमा । लाग्छ अब त आँशु सकिए तर केही बेरमा फेरि भरिहाल्दो रहेछ । सायद आँशुजस्तो तिम्रो माया पनि पुनः भरिएर आओस् र मलाई अँगालोस । तर फेरि तिमीले अर्कैलाई अँगालिसकेको यथार्थबोधले चिमोट्छ । 

अँ त तिमीलाई नयाँ जीवनको शुभकामना पनि दिन सकेको छैन । प्रेमी कति स्वार्थी हुँदा रैछन, आज म आफैलाई हेरेर थाहा पाउँदैछु । प्रेम संसारको सबैभन्दा मधुरतम भाव हो । जसरी जीवनका लागि श्वास, त्यसरी नै मुटुको लागि प्रेम । जब तिमीले मलाई प्रेम गरेको अनुभूति भयो तब मलाई ‘आफू व्यर्थै जन्मिएको होइन रहेछु भन्ने आभास’ भयो । 

तिमीलाई त थाहै छ, विश्वासले बाँच्न कति सहज छ । तर मलाई अहिले थाहा हुँदै छ, आघातमा बाँच्न कति कठिन हुने रहेछ । 

सुन न तिमीलाई एउटा कुरा सोध्न मन छ । के माया पनि बगैँचाको फूलजस्तै हो ? के त्यही बोटामा फेरि पनि उस्तै फूल फुल्छ ? के त्यो फूलजस्तै ममा पनि फेरि हाँसो फुल्छ ? के अर्को मान्छे देख्दा तिमीमा पनि त्यस्तै प्रेमको फूल फुल्यो जुन मलाई भेट्दा फुलेको थियोे ?

अँ त नानी, तिमीलाई मैले चुरोट पिएको खुब मनपथ्र्यो । के तिमीले रोजेको नयाँ मान्छेले पनि मैलेजस्तै चुरोट पिँउछ ? के मैलेजस्तै उसले नि बदमासी गर्छ ? यदि उसले चुरोट पिउँदैन र बदमासी पनि गर्दैन भने मैले गर्दा किन मन पर्यौ भनेर ढाँट्यौ ? यदि उसले यी कुरा गर्छ भने फेरि मैजस्तै किन छान्यौ ? मैजस्तो चाहिएको भए मैजस्तो त मभन्दा यो संसारमा अर्को को होला र ? 

जति रफ्तारमा यो सहर चलेको छ उति नै विस्तारै मेरो जीवन चलेको छ । अचेल म बसेको ठाउँतिर खुब चिसो बतास चल्छ । सायद तिमी कहाँ पनि पुग्दो हो । यो हुरीसँगै उडेर तिमीकहाँ पुग्न मन छ, सारा मनका कुरा सुनाउन मन छ । तर यो हुरी मलाई छोएर उड्छ, मलाई लिएर उड्दैन ।

जनवरीको महिना छ । वातावरण पूरै चिसो छ, मेरो मनजस्तै । उसो त एसी जडित कोठामा बस्छु तर ए.सी.ले कोठा मात्र तातो बनाउँछ, मन बनाउँदैन । 

अक्सर मलाई परीक्षको बेला र रिजल्ट थाहा पाउने बेला पिसाब च्यापेझैं हुन्छ । तिमीले पहिलो पटक प्रेम प्रस्ताव राखेको बेला पनि त्यस्तै भएको थियो । र त्यो बेला पनि, जब तिमीले हाम्रो प्रेमको अन्त्य भएको कुरा सुनाएकी थियौ । 

थाहा छैन अब तिम्रो र मेरो भेट होला नहोला । भेट नभए यसै सकियो, संयोगले भेट भयो भने एक खिली चुरोट सल्काएर तिम्रा छेउमा धुवाँ उडाउनेछु र सोध्ने छु, “के यो धुवाँ तिमीलाई अझै मन पर्छ ?”
अन्त्यमा औपचारिकता पूरा गरिहालुँ : “तिमी हाँसेर बाँच म त्यसमै खुसी छु ।” बुझिराख कि यो वाक्य भनिरहँदा म संसारकै सबैभन्दा दुःखी प्राणी बोलिराखेको हुनेछु । 
उही तिमीलाई माया गर्ने ।

–राजेन्द्र आचार्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप