शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : बुढेसकालका सारथी

शनिबार, ०५ माघ २०७५, १५ : ४३
शनिबार, ०५ माघ २०७५

घरको पिँडीमा एक वृद्ध आँखाभरी आँसु लिई टोलाइरहेका थिए । उनको माटोले बनेको घर पूर्वतिर ढल्किएर लड्ला किजस्तो देखिन्थ्यो । उनीसँगै ४ जना अधबैंसे पुरुषहरू पुस महिनाको जाडोयाममा आधा शरीर ढाक्ने पातलो सेतो कपडा लगाएर बसेका थिए । ४ जना महिला कम्बल ओढेर कपाल फिँजाएर बसेका थिए । घरभरी मानिसको आवतजावत देखिन्थ्यो । कोही फलफूल बोकेर आउँथे त कोही चामल अनि मिस्री बोकेर आएका थिए । म पनि मेरा बाले पठाएको चामल र अलिकति घिउ बोकेर त्यही घरअगाडि उभिएकी छु । केही समयमा एक जना महिला आएर मेरो सामान लिएरभित्र जान्छिन् । म भने आँगनमा राखिएको खाटको छेउमा बस्छु । 

सबै जना विभिन्न थरीका गफ गरिरहेका हुन्थे । तर ती बुढा मान्छे अरूले गरेका कुराको खासै ध्यान दिए जस्तो लाग्दैनथ्यो । जब उनकी श्रीमतीसँग जोडिएका कुरा आउँथे । तब बल्ल उनी आफ्ना केही कुरा राख्दै भक्कानिन्थे । उनको अगाडि रहेको सुन्तलाको बोटको कुरा आउँदा होस्, घरमा पालिएको भैँसीको कुरा होस्, खानाको कुरा होस, घरको कुरा नै किन नचलोस् । हरेक कुरा अन्तिममा आफ्नो श्रीमतीसँग लगेर जोडिदिन्थे । 

त्यहाँ उपस्थित सबै जिन्दगीको आआफ्नै परिभाषा दिइरहेका थिए । संसार यस्तै हो भन्नेहरूको कमी थिएन । आफन्तहरू यसो भनिरहँदा उनी आफ्नो टाउको दायाँ–बायाँ तलमाथि हल्लाइरहन्थे । यो सबै भन्नेहरूका लागि सजिलो भएको थियो । तर भोग्नेका लागि एकदमै कठिन । मलाई पनि उनीसँगै भलाकुसारी गर्न मन लागेकाले उनको छेउमा गएँ । मैले आफूले उनीसँग केही व्यक्तिगत कुरा गर्न चाहेको भनीसकेपछि उनी केही पर आई परालले बनेको पिर्कामा बसे । मलाई पनि बस्नका लागि एउटा मुडा व्यवस्थापन गरिदिए । हाम्रो छलफल सुरु भयो । त्यहाँ उपस्थित ४ जना अधबैंसे उनका छोराहरू रहेछन् । सबै छोराको बिहे भइसककेको रहेछ । मैले केही प्रश्न सोध्न नपाई उनी आफ्नो दुःख पोख्न थाले । 

नानी मेरी श्रीमती जहिले मेरा श्रीमानभन्दा अगाडि मर्न पाए हुन्थ्यो भन्थी । मेरा काखमा मर्न पाए हुन्थ्यो भन्थी । नभन्दै अन्तिम सास जाने बेलामा मेरै काखमा भई । बाबै ऊ त गई तर मलाई टुहुरो बनाएर गई ।

अबको जिन्दगी कसरी बित्ला खोइ ?

म सबैले दिने सान्त्वना दिइरहेको थिएँ । 

 ‘बा यस्तै हो । भनेको सबै नहुने रहेछ । चित्त बुझाउन सक्नुपर्ने रहेछ । दुःख र सुख जिन्दगीका दुई पाटा रहेछन् । सुखमा त सबै हास्छन् रमाउँछन् । दुःखमा चित्त बुझाएर हिँड्न सक्नु महान हो । छोराबुहारी छन् नि बा । उनीहरू हेरेर चित्त बुझाउनु पर्यो नि ।’

‘त्यसै त भन्नुपरो । छोरा बुहारी नाति नातिना भएका छन् । यिनीहरू पनि यो किरिया सक्किएको भोलि पल्टदेखि यो बुढो घर टेक्दैनन् होला । यही आमा बितेकाले गर्दा आएका हुन् नानी । यो घरमा त हामी बूढाबूढी मात्रै थियौ । अब त म एक्लै हुनेछु । घरको एउटा भैंसी छ, त्यो पनि बेचिदिने बिचार गरेछु । किन्ने मान्छे भेटे भनिदेऊ है । म बाथ र छातीको रोगी छु । सक्दिनँ ।’
‘त्यसो भए बा छोराहरू सहर छन् हो ?’ मैले उत्सुकतापूर्वक सोधेँ । 

‘हो नानी । ठूलो माहिलो, साहिँलो छोराले पक्की घर बनाएको छ सहरमा । कान्छो छोरोले पनि बनाउने भन्दै छ । अहिले सम्म कान्छो छोरो डेरामै छ ।’ 

बा छोराहरूको प्रगति सुनाउन पाउँदा एक छिन भए पनि खुसीजस्तै देखिन्थे । उनको बोली पनि अलि टाठो भए जस्तो देखिएको थियो । आखिर बाबु आमालाई छोरा छोरीको प्रगती देख्दा यति गर्व हुँदो रहेछ भन्ने कुरा मैले तिनै बाको अनुहारबाट बुझेको थिएँ । यो नै उनीहरूको साँचो माया जस्तो लाग्यो । 

‘अब त एक्लै हुनुभयो । छोराहरूकोमा जाँदा होला नि बा ।’

‘खोइ नानी म छोराहरूको बोझ हुन चाहन्न । उनीहरूले मनले लगे पो जाने मैले नै कर लगाएर त जान्न बा । अस्ति नै छातीको रोगले च्यापेर सहर जँचाउन गएको बेलामा कुनै छोरा पनि हामीलाई लिन आएनन् । सहरको ठाउँ कसैले कसैलाई चिन्दोरहेनछ । बूढी र म बल्ल बल्ल खोज्दै राति ११ बजे जेठो छोराको घर पत्ता लगायौँ । उनीहरूको गेट लागेकोले हामी बूढाबूढी रातभरी त्यही गेट बाहिर बस्यौँ । गेटमा त हातले हानेर ढकढक त गरेका थियौँ । सायद उनीहरू सुतेकाले होला ढोका खोल्न कोही आएनन् । साह्रै भोक लागेकाले घरबाट छोरा बुहारी नाति नातिनालाई बुढीले बनाएर ल्याएको घिउ एक एक चम्चा खायौँ । थकाई पनि बेस्सरी लागेकाले त्यहीँ निदायौ । भोलि बिहान भने ढोका खुलेकाले बल्ल भित्र छिर्न पायौँ । वरिपरिका मानिसले हामीलाई भने देखेका थिए । बुहारी भने एक चोटि पनि बोलिनन् । छोराले उपचार गर्न लगिदेला भनी भनेको छोरोले पनि काम छ भोलि लगिदिने भन्दै हिँड्यो । त्यो बेलुका पनि हामी पुराना बिग्रिएका सामान राख्ने कोठामा सुत्यौँ । तर छोरोले उपचार गर्न लगिदिएन । नाति नातिना पनि हामीलाई देख्ने बित्तिकै भाग्थे । हामीलाई त ‘सावाँ भन्दा ब्याज प्यारो जस्तो लाग्ने’ नाति नातिनालाई खेलाएर काखमा राख्न मन लागेको थियो । तर उनीहरूलाई कहिल्यै काखमा राखेर हजुरबा भन्ने शब्द उनीहरूको मुखबाट पाइनँ । बसुन्जेल हामीसँग कोही पनि बोलेनन् । हामी झुत्रे नै भए पनि तिनीहरूका बाआमा त थिए नि नानी । त्यस्तो हेला खानु भन्दा आफ्नै घर ठीक । हामी उपचार नगरी फर्केको नानी । 

म भने एक तमास हेरिरहेँ । यो कुराले मन भरिएको थियो । सायद यो २५ बर्षे उमेरको मलाई, वृद्धको पीडा बुझ्ने यो पहिलो खुड्किला भएकाले उत्तर पनि दिन सकिन । साँच्चै बुढेसकाल सार्है गाह्रो पो हो कि, आफन्तले नहेरेर गाह्रो भएको हो कि, आफ्नो जीवन साथी बितेपछि बल्ल महसुस हुनेहो कि यो बारे भने म प्रस्ट हुन सकिरहेको थिइनँ । मलिन अनुहार बनाउँदै हो भन्ने जनाउमा टाउको हल्लाएँ । 

हिजो आफ्नो गास काटेर छोराछोरी हुर्काउने बा आमा, आफ्नो फाटेको लुगा काटेर, टालेर जे जसरी मिल्छ भन्दै छोरा छोरीको चाहना पूर्ति गर्ने बाआमा, जिन्दगीभर माटो र गोबरमा लडिबुडी खेल्दै आफूले पढ्न नपाएको दुःख सम्झी छोरा छोरी पढाउने बाआमा आज छोराछोरी हुर्केपछि तिनै बाआमा फोहोरी लाग्ने सोच भएका सन्तान कसरी पढेलेखेको भए भनी सोच्न सकिरहेको थिइनँ । सायद हामीले पढ्ने पुस्तकमा व्यावहारिक र नैतिक शिक्षाको कमी भएको महसुस गरिरहेँ । 

बा घरि आफ्नो आँसु झर्न नदिन आकाशमाथि हेर्थे, घरि मेरो अनुहार नहेरी दायाँ बायाँ हेर्थे । म पनि टाउको झुकाएर घरिघरि मात्र ती बालाई हेर्थेँ । उनले ममाथि पूर्ण विश्वास गरी आफ्ना सम्पूर्ण व्यथा पोखिरहेका थिए जस्तो लाग्यो । अर्काेतर्फ यस्तो लाग्यो कि यो सबै व्यथा सुनिदिने पनि उनको कोही नभएर कसलाई भनूँ भन्ने भएकोमा म फेला पारेर भनेकी जस्तो लाग्यो । 

‘अब त नानी यो किरिया सकेपछि यो घरभित्र कसरी पसुँ जस्तो भाछ । अहिले मान्छे छन्, कोही भेट्ने कोही सम्झाउने, नाति नातिना पनि छन् तिनीहरू उफ्रेको देखेर पनि अलि चित्त बुझाएको छु । यी सबै गएपछि कसरी यो घरमा बस्ने भन्ने चिन्ता परिरहेको छ । खाना पकाउँदा, खाना खाँदा, रात पर्दाको अँध्यारोमा, बिरामी हुँदा दिने तातो पानी, उसले छोएका हरेक चीज हेरेर कसरी चित्त बुझाउने । म कसरी जिउने ? उसलाई नै झल्झली देख्छु । हिजो बेलुका सपनामै चिच्याएँछु । छोराहरूले भन्दै थिए । मैले बूढीलाई चिया ल्याउन जाडो भयो भनेको रहेछु । ऊ अझै घरमै छे जस्तो लाग्छ । किरिया बसेका छोराबुहारी देखेसी झस्किन्छु । म रोइरहेको त्यसले देखेकी भए, उसलाई स्वर्ग पुग्न गाह्रो हुन्छ भनी आँसु थाम्न खोज्छु तर सक्दिनँ । मलाई पनि भगवानले ऊसँगै लगिदिएको भए कति आनन्द हुने थियो । यो हेरेपछि बुढो भएर बाँच्न मन छैन । यो संसार नै अँध्यारो लागेको छ । बिरामी भएर ओछ्यानमा सुत्दा ऊ भान्छामा खाना पकाउँदै रहेछे भने पनि उसले लगाएका चुरा बज्थे । अब त बिराला र मुसा पनि मेरो घरमा आउँदैनन् होला । म त एक्लो भएको छु । मलाइ ज्वरो आउँदा टाउको छाम्थी । मलाई स्याहार गर्थी । मेरो स्वास्थ्यको चिन्ता उसलाई बढी हुन्थ्यो । अब बिरामी हुँदा के गर्ने होला । सम्झिएरै अत्यास लागेको छ । मेरो संसार नै सानो भएको छ नानी । मेरो संसार नै साँघुरो लाग्छ । मेरो संसार नै उही मात्रै हो कि जस्तो लाग्छ । ऊ गई त मेरो संसार नै लिएर गई जस्तो लाग्छ । ? यतिभन्दा उनका हात कामिरहेका थिए । भन्न अझै खोजे जस्तो गर्ने उनी मुखबाट आवाज भने आएन । केवल भावनाले मिसिएको एक धर्काे आँसु भने बग्यो । 

उनलाई देखेर यस्तो लाग्थ्यो, सायद भौतिक रूपमा आफ्नी श्रीमाती गुमाए पनि उनका यादहरू उनले फेर्ने हरेक सास, उनले हेर्ने हरेक चिज, उनी आफै नै किन नहोस हरेक वस्तुसँग मिसिएको छ । नहोस पनि कसरी ? उनी आफ्नी श्रीमतीसँग १४ वर्षको हुँदादेखि अहिले ७४ वर्षसम्म सँगै सुखदुःख बाँडेका थिए । आसु पनि अचम्मको चिज रहेछ जस्तो लाग्यो । भक्कानिएको स्वर र उनको रोक्दारोक्दै झरेको आँसुले उनका शब्दभन्दा धेरै वजन बोकेको जस्तो भान भयो । आँसु निस्कन कति ठक्कर खानुपर्छ । कति शक्ति खर्च गर्नुपर्छ, कति दुखाइ हुनुपर्छ भन्ने यन्त्र भइदिएको भए सायद उनलाई लागेको चोटको मर्म सबैले बुझ्न सक्थे होलान् । तर हरेक व्यक्तिको आफ्नो ठाउँ हुन्छ । उक्त ठाउँमा कोही पनि पुग्न सक्दैन । यस्तै लाग्यो उनको मर्का मैले बुझेझैं गरे पनि उनीलाई भएको पीडा उनले मात्र बुझ्न सक्थे । योबाहेक अरू

कसैले सक्थेन । 

केही छिनपछि उनलाई सोधे– ‘बा अब के गर्ने विचार छ त ?’

‘के गर्नु र नानी ? बुढेसकालको साथी भनेको ठूलो रहेछ । जब हात खुट्टा बस्दै गए । कम्जोर हुँदै गयौँ । एकअर्काको महत्त्व बुझ्दै गयौँ । आफ्ना सन्तान आफूसँग नभए पनि साथ दिने ऊ थिई । बाच्ने आधार एकअर्कालाई भएका थियौँ । तर अब त मेरो कोही छैनभन्दा पनि देख्नलाई सबै छन् तर यथार्थमा मेरो कोही पनि छैनन् । अब वस्तु बेच्छु नानी । छोरा बुहारीले लगेछन् भने उनीहरूले माया नगरे पनि गाली नगर्दिए, हेपेर तुच्छ वचन नाबोल्दिए, त्यही भर्याङमुनि सुत्न दिए पनि, एक छाक मात्र खान दिन्छु भने पनि उनीहरूसँगै पालैपालो बस्छु । यति गर्दा उनीहरूलाई गाह्रो पनि नहोला । छोरी पनि छैन । छोरी भाको भए अलिकति भए पनि बा भन्दै आउँथीकी जस्तो लाग्ने । ऊ जमानामा त मलाई ४ छोरा भएकाले भाग्यमानी भन्थे । तर आजकल गाउँघरतिर छोरीले बाआमालाई गरेको माया देखेर बल्ल बुजेको छु । बुहारी पनि छोरी नै हुन् । उनले पनि जन्म घर छोडेर आएकी हुन् । उनले घरको अलिकति ठाउँ जहाँ भए पनि दिए भने आफ्नैसँग बस्छु नि बाबु । नातिनातिना देख्न असाध्यै मन लाग्छ । माया ओरालो बग्छ भन्थे हो रहेछ क्यारे । यदि सक्दिन भन्छन् भने वृद्धाश्रम हुन्छ रे नानी हामी जस्ता बस्ने । त्यतै जान्छु ।’

मैले उनीलाई उनले मानेदेखी मेरै घरमा बस्न सक्ने भने । उनी केही बोलेनन् । म किरिया सकेपछि उनलाई लिन आउने भन्दै त्यहाँबाट हिँडे । जाँदै गर्दा उनले मेरो बिहे भए नभएको सोधे । मेरो बिहे नभएको थाहा पाएपछि उनी निरास भएर टोलाइराखे । 

बाटोभरी मेरो बिहे नभएको भन्दैमा उनी किन निरास भए भन्ने सोचिरहे । सायद मेरो बिहे गर्ने उमेर भइसकेको र भोलि बिहे गरेर अर्काे घर जाने भएकाले उनलाई भोलिका दिन अप्ठ्यारो हुन्छ कि भन्ने सोचेर होला, यसले नै निरास बनायो कि जस्तो लाग्यो । 

आखिर दुःख चिन्ता सबैलाई पर्छ । बच्चा, जवान, वृद्द यो त एउटा जीवनचक्र हो । आखिर मरेर लैजाने कसैले केही हुँदैन । बाचुन्जेल सबैलाई माया गर्न सिकौँ । आफूलाई हुर्काउने बा आमालाई सधैँ माया गरौँ । यदि प्रेम नै गर्न सक्दैनौँ भने तिरस्कार पनि नगरौँ । बाआमा आफ्ना छोराछोरीबाट तिरस्कारका शब्द सुन्नु नपरे पनि उहाँहरूको चित्त दुख्दैन । हरेक बाआमा सकेसम्म आफ्नै सन्तानसँगै बस्न चाहनुहुन्छ । हामीले बाआमालाई पाल्ने भन्ने शब्द प्रयोग नगरौँ । हरेक बाआमा मर्ने उमेरसम्म पनि हामीलाई ज्ञानगुनदेखि हाम्रो चिन्ता र स्याहर गर्न पछाडि हट्नुहँुदैन । बुढेसकालमा पनि बाआमाले हामीलाई नै पालेको हुनुहुन्छ भन्ने नबिर्साैं । उहाँहरूको छायामा बस्न पाउनु पनि हाम्रो भाग्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सविता सुवेदी
डा. सविता सुवेदी
लेखकबाट थप