बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लघु कथा – मीठो चिया

शनिबार, ०५ माघ २०७५, १५ : ४१
शनिबार, ०५ माघ २०७५

–बलबहादुर थापा मगर

उसले रेप केसकी पीडित आफ्नी प्रेमिकासँग बिहे गर्ने निधो गर्यो । केटीले मानेकी थिइन । ऊ आफैले कर गर्यो ।

घरबाट स्वीकृति दिने कुरा भएन । दुवै जनाले भागेर विवाह गरे । सुब्बाको जागिर थियो । जिन्दगी जिउनलाई कुनै गाह्रो थिएन । समाजसँग लड्ने ठुलै साहस लियो । अनपढले नबुझे पनि शिक्षितले बुझ्छन् । ऊ धेरै आशावादी थियो । बिहेपछि दुवै जना खुबै भाइरल भए । मिडियाहरूले खुलेरै प्रशंसा गरे । सामाजिक सञ्जालहरूमा उनीहरूको प्रेम कहानीका स्टाटसहरू खुबै लेखिए । केटोको साहसको प्रशंसा खुवै गरियो । विवाहका लागि लिएको एक महिनाको बिदा पनि सकियो । ऊ अफिस गयो । अफिसमा सबैले जिस्क्याउन थाले– ‘पार्टी कहिले ?’ ‘गर्दै गरौँला नि ।’ 

ऊ पन्छिन खोज्थ्यो ।  उसलाई अति नै गर्न थाले । चिया खाँदा । अफिसमा काम गर्दा । शौचालाय जाँदा, जताजतै । अन्त्यमा पार्टी दिनै नै भयो । नजिकैको मगर बाजेको सेकुवा पसलमा । पार्टीमा खानपिनको राम्रै व्यवस्था गर्यो । मदिरा पिउनेलाई छुट्टै व्यवस्था । नपिउनेलाई छुट्टै ।

राम्रै खर्च गर्यो । रात बित्दै गयो । केटाहरूमा मदिरा चढ्दै गयो । जति मदिरा चढ्छ । कुरा त्यति नै बाहिर आउँछ । उनीहरूले जिस्क्याउन थाले । भन्नलाई के बाँकी छाड्थे । भन्न मिल्ने, नमिल्ने सबै भने । एउटा भन्दै थियो– ‘यो मुला ! अर्काले जुठो हालेको केटी ल्याउने । साथी भन्न पनि घिन लाग्छ यार ।’ अर्काे बोल्दै थियो– ‘त्यही त ! अबदेखि तैँले साथी नभन् ।’ अरू तीन चार जना आगोमा घिउ थप्दै थिए– ‘त्यस्ता, केटी जति नि पाइन्थे । हाम्लाई भनेको भए, एकसे एक भर्जिन खोज्दिन्थेँ ।’ अश्लील शब्दहरू धेरै बोल्न थाले । फोहोर कुराहरू धेरै नै गर्न थाले । उसलाई अति नै लाग्न थाल्यो । लागेको खर्च सबै तिर्यो अनि होटलबाट निस्कियो । डेरामा पुग्यो । श्रीमतीलाई केही भनेन । नबोली सुत्यो । 

भोलिपल्ट अफिस गयो । सोच्यो, हिजोको कुरामा साथीहरूले ‘सरी’ भन्छन् । तर कसैले भनेनन् । झन् खासखुस गर्दै थिए– ‘हिजोको कुरा महाराजको दिमागमा घुस्यो होला नि ?’ उसलाई अति नै लाग्यो । अफिसमा धेरै बेर बस्न मन लागेन । हाकिमलाई बिरामी छु भन्यो र अफिसबाट निस्कियो । नजिकैको कफी सपमा गयो । कफीको अर्डर गर्यो । कफी पिउन थाल्यो । नजिकैको अर्काे टेबलमा चार, पाँच केटीहरूको झुण्डले चिया पिउँदै थिए । उसलाई देख्ने बित्तिकै सेल्फी खिच्न आए । उसले इन्कार गरेन । सेल्फी खिच्यो । केटीहरूले तुरुन्तै फोटो फेसबुकमा अपलोड गरिहालेँ । फोटो क्याप्सनमा लेखेँ । 

विथ रियल हेरो, ग्रेड ब्रदर । उनीहरू मोबाइल चलाउँदै गफ गर्न थाले । उनीहरू त कुन ड्याङका मूला हुन् र ? कुरा काट्न के छाड्थे । खासखुस गरिहाले । एउटी भन्दै थिई– ‘मेरो दाइ भएको भए, मरे नि त्यस्ती केटीलाई बिहे गर्न दिन्नथे ।’ अर्कीले होमा हो मिलाउँदै भन्न थाली– ‘त्यही त केटी नै ठीक हुनुपर्यो नि, खुब सतीसावित्री बन्न खोज्थी । देखिहालियो नि !’ उसलाई त्यहाँ पनि असह्य भयो । ऊ केही नबोली निस्कियो । डेरा पुग्यो । श्रीमतीलाई मलिन स्वरमा चिया बनाउन अनुरोध गर्यो । चिया बनाउँदै गरेकी श्रीमती नजिक पुग्यो । पछिबाट अँगालो मार्यो । गालामा मीठो चुम्बन गर्यो । कम्मरमा बेस्सरी कसेर समात्यो । श्रीमतीले नजिस्किन अनुरोध गरी । उसले हात छोड्यो । र चिया हाल्न अनुरोध गर्यो । ‘आई लभ यु माई हर्ट ।’ लेखिएको कपमा उसले चिया हाली । श्रीमतीले नदेख्ने गरी खल्तीबाट पोइजन निकाल्यो र दुवै कपमा बराबरमा मिलायो । दुवै जनाले चियर्स गरेँ । केटोले मायालु स्वरमा ‘आई लभ यु ।’ भन्यो । केटीले ‘आई लभ यु टु’ भनी । दुवैले मीठो मान्दै चिया पिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप