बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रीले नै सहिदका भाइलाई जागिरबाट निकालेपछि...

शनिबार, ०५ माघ २०७५, १३ : २२
शनिबार, ०५ माघ २०७५

–चन्द्रकाला देवी कापड 
(सहिद अमित कापडका आमा, महोत्तरी)

०७४ भदौ २३ गते मेरो सर्वस्व नै हरण भएको थियो । कमाउने छोरा नै गुमाउन पुगेँ । मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर छोरा अमित कापडको मृत्यु भएको थियो । 

मृत्यु भएपछि घरमा थुप्रै नेताहरु आएर अनेक आश्वासन दिनुभयो । ठूलाठूला सपना देखाउनुभयो । 

‘आन्दोलनमा सहादत दिएका परिवार तथा घाइतेहरुले अब कुनै दुःख पाउने छैन । अब मधेश सुखी सम्पन्न हुन्छ,’ उहाँहरुले भन्नुभएको थियो । 

वहाँहरुको आश्वासनपछि छोरा गुमाए पनि चित्त बुझाएको थिएँ । 

अहिले आएर ती कुराहरु सम्झँदा पीडा हुन्छ । 

मेरो परिवारले के पायो÷पाएन त्यो बेग्लै कुरा हो । किनभने मेरो छोराले परिवारको लागि मात्र सहादत दिएको होइन । देशका लागि दिएको हो । मधेशको लागि दिएको हो ।

सहिदको नाममा कोही सांसद हुनुभयो । कोही मन्त्री बन्नुभयो । तर देशले के पायो ? मधेशले के पायो ? 

वास्तवमा न देशले केही पायो न मधेशले न छोराको परिवारले । 

कमसेकम मधेशले अधिकार पाएको भए हुन्थ्यो । मधेशमा विकास भएको भए हुन्थ्यो । तर त्यो पनि भएन ।  

सबै आ–आफ्नो स्वार्थमा लागेका छन् । सबै लुट्नमा लागेका छन् । 

कहाँ छ मधेश ? कहाँ छन् सहिद ? कहाँ छन् आन्दोलनका घाइते ? त्यसबारे अहिले कसैलाई सोच्ने फुर्सद पनि छैन । 

अमितले सहादत दिएपछि केही दिन हाम्रो घरमा खुट्टा राख्ने ठाउँ भएन ।  नेताहरुको आउजाउ बाक्लियो । अनेकन आश्वासन पाइन्थे ।  

कसैले ‘तपाईँ आफ्नो छोरीको विहेको लागि चिन्ता नगर्नुहोस्, हामी छौँ’ नि भन्नुहुन्थ्यो । कसैले ‘तपाईँको छोरालाई मैले पढाई दिन्छौँ, पढाइको चिन्ता नलिनुस्’ भन्नुहुन्थ्यो । कसैले घर नै बनाइ दिन्छु भनेर आश्वासन दिनुहुन्थ्यो । तर ती सबै एकादेशको जस्तो लाग्छ । 

एक लाख रुपैयाँ ऋण लिएर छोरीको विहे गरेको दुई वर्ष भयो अहिलेसम्म ऋण चुक्ता गर्न सकेको छैन । छोरीको नै विहे गरिदिन्छु भन्नेहरु विवाहको दिन हेर्न पनि आउनुभएन । 

जमिनको नाममा पाँचधुर मात्र छ । गुजारा गर्ने अन्य कुनै उपाय छैन । छोरा अमित गाडी चलाउँथ्यो । त्यसैले हाम्रो घरको गुजारा चल्थ्यो । 

हामी गरिब परिवारका भएका कारणले छोरा अमितलाई धेरै पढाउन पनि सकेका थिएनौं । तीन कक्षासम्म मात्र पढाउन सक्यौँ । अमितले पढाई छाडेर गाडी चलाउन सिक्यो र गाउँमै एकजनाको ट्याक्टर चलाउँथ्यो । आन्दोलनको क्रममा त्यो ट्याक्टर पनि चल्न बन्द भयो र छोरा आन्दोनलतिर लाग्यो । र, आन्दोलनकै क्रममा ज्यान गयो ।

अहिले एउटा छोरा सुजितलाई वन विभागमा जागिर दिलाइएको छ । उसैको कमाईबाट गुजारा भइरहेको छ । एकजनाको कमाईले घरपरिवार धान्न निकै गाह्रो छ । 

यसअघि प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अरु दुईटा छोरालाई जागिर लगाई दिने भनेर घरबाट बोलाएर लग्नुभएको थियो । दुईटै छोरालाई ९–९ हजार रुपियाँ तलब दिने उहाँले भन्नुभएको थियो । एकजना जलेश्वरस्थित घरमा काम गर्ने र अर्को एकजना जनकपुरमा मन्त्रीको क्वाटरमा काम गर्ने । 

केही दिन एउटै तलबमा दुवैजनालाई काम गराउनु भयो मन्त्री शर्माले । जब त्यो कुरा बाहिर आयो उहाँले एकजनालाई घर फर्काई दिनुभयो । 

सुमित मन्त्रीज्यूकै निवासमा काम गरिरहेको थियो । 

सुमितको नागरिकता थिएन । नागरिकता नहुँदा पछि जागिर खान समस्या हुने भनेर छोरा सुमित नागरिकता बनाउनका लागि घर (महोत्तरी) आयो । नागरिकता बनाउन चार दिन लाग्यो । 

चार दिनपछि नागरिकता बनाएर जाँदा राज्यमन्त्री शर्माले जागिर नदिई घर फिर्ता गरिदिनुभयो । 

शर्माको घरमा साउनदेखि काम शुरु गरेको थियो तर ६ महिना नपुग्दै पुस १५ गते छोरा अमितलाई जागिरबाट निकाल्नुभयो । 

मेरो छोरा रुँदै घर फर्केको थियो । 

मधेश सरकारले प्रत्येक सहिद परिवारका एकजनालाई जागिर दिने निर्णय नै गरेको छ । तर, जागिर दिएकालाई मन्त्रीले नै यसरी फर्काइदिएपछि हाम्रो निकै चित्त दुखेको छ  । 

अब हामी फेरि जागिर माग्न कहाँ जाने ? मेरो पाँच छोरा र तीन छोरी छन् । त्यसमध्ये जेठो छोरा अमित कापडको निधन नै भइसक्यो । 

बाँकी रहेका चार छोरामध्ये सुजितलाई हिरा शर्मा भन्ने एकजना आफन्तले वन विभागमा जागिर लगाई दिनुभएको छ । 

अन्य तीनजना छोराहरु त्यतिकै घरमा बसेर दिन काटिरहेका छन् । 

तीनजना छोरीमध्ये एकजनाको मात्र विवाह भएको छ । अब दुईजनाको विवाह गर्न बाँकी छ । 

अहिलेदेखि नै छोरीको विवाहको चिन्ता लागि रहेका छ । मेरो श्रीमान पनि अपाङ्ग हुनुहुन्छ । त्यति हिँडडुल गर्न सक्नुहुन्न । उहाँ घरमै बस्नु हुन्छ । 

जेठो छोराको मृत्यु भएपछि अहिले पुरै घर नै अपाङ्ग जस्तो भएको छ । 

सहयोगको नाममा सुरुमा सरकारबाट पाएको १० लाख रुपियाँ अमितको श्रीमतीले पाएकी थिइन् । त्यो घरपरिवारमा खर्च भएको छैन । अमितका बालबच्चाका लागि राखिएको छ । त्यसबाहेक अरु कुनै सहयोग कहिँ कतैबाट प्राप्त भएको छैन । 

मधेश सरकार गठन भएपछि सहिदको लागि यो गर्ने, त्यो गर्ने विभिन्न नाराहरु लगाइयो । 

चुनावको समयमा नेताहरुले विभिन्न आश्वासनहरु बाँड्ने काम भयो तर अहिलेसम्म सहिदको नाममा केही भएको छैन । हामीलाई निकै दुःख लागेको छ ।    

(रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप