अष्ट्रेलियामा उखरमाउलो गर्मीः वन्यजन्तुको सामूहिक मृत्यु, बाटो पग्लियो, बिरामीको संख्या बढ्दो
अष्ट्रेलियामा गत शनिबारदेखिको चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ । गर्मीका कारण वन्यजन्तुको सामूहिक मृृत्यु हुने, सडक पग्लने, डढेलो फैलिने र मानिसहरु बिरामी परेर अस्पताल जानुपर्ने घटनाहरु ह्वात्तै बढेका छन् ।
न्यू साउथ वेल्सको एक शहरमा रातीको न्यूनतम तापक्रम ३५.९ डिग्री रह्यो जुन अष्ट्रेलियाभरी हालसम्म मापन गरिएको मध्ये त्यो सबैभन्दा उच्च न्यूनतम तापक्रम भएको मौसम विज्ञान विभागले बताएको छ ।
मौसम पूर्वानुमानकर्ताहरूले हालको चर्को गर्मीको अवस्थालाई सन् २०१३ को तापलहरसँग दाँजेका छन् जुन बेला तापक्रम लगातार सात दिनसम्म ३९ डिग्री सेल्सियसभन्दा बढी रहेको थियो।
अष्ट्रेलियामा मापन गरिएकामध्ये सबैभन्दा गर्मीको दिन सन् २०१३ को जेनुअरी सात तारिखको दिन थियो जुनबेला राष्ट्रिय औसत तापक्रम ४०।३ डिग्री सेल्सियस थियो।
गत हप्तादेखि लगातार बढिरहेको तापक्रमका कारण दक्षिण अष्ट्रेलियास्थित एडेलेडमा डढेलो लागेको छ भने चमेरोको सामूहिक मृत्यु भएको छ । रिपोर्टका अनुसार त्यहाँका दर्जन बढी मानिस अस्पतालमा भर्ना भएका छन् ।
शुक्रबार न्यू साउथ वेल्सको तापक्रम ४६ डिग्री सेल्सियस रह्यो । जुन अहिलेसम्मकै उच्च हो ।
प्रभाव कहाँ कहाँ परेको छ ?
न्यू साउथ वेल्सको ठूलो इलाका चर्को गर्मीको मारमा परेको छ। त्यसैगरी क्वीन्सल्याण्ड, साउथ अष्ट्रेलिया, भिक्टोरिया र नर्दन टेरिटोरीका केही भागहरूमा पनि तापक्रम चर्को छ ।
सप्ताहान्तको बेला दक्षिणी र मध्ये इलाकाहरूमा तापक्रम केही कम हुनसक्ने अनुमान गरिएको छ ।
तर मौसम पूर्वानुमानकर्ताहरूका अनुसार वेस्टर्न अष्ट्रेलियामा भने तापक्रम केही बढ्न सक्नेछ । उक्त राज्यका केही भागमा आगामी दिनमा औसतभन्दा १४ डिग्री सेल्सियसभन्दा बढीको विन्दूमा तापक्रम पुग्न सक्ने बताइएको छ।
के यो खतरनाक अवस्था हो ?
मौसमविज्ञहरूका अनुसार अत्यधिक तापक्रमको लहर अष्ट्रेलियका विभिन्न १० भन्दा बढी स्थानमा पहिले अभिलेख राखिएकोभन्दा बढी विन्दूमा पुगिसकेको छ।
साउथ अष्ट्रेलियाको आउटब्याक नगर टारकूलामा गर्मीले रेकर्ड तोडिसकेको छ, जहाँ मंगलबारको तापक्रम ४९ डिग्री पुगेको थियो । साउथ अष्ट्रेलियाको पोर्ट अगस्टामा ४८.९ डिग्री तापक्रम पुगेको थियो।
राज्य सरकारका अनुसार बुधवार अत्यधिक गर्मीका कारण साउथ अष्ट्रेलियामा १६ जना मानिसहरू अस्पताल भर्ना भएका थिए ।
अन्य राज्यका अधिकारीहरूले पनि मानिसहरूलाई घरभित्र नै रहन र थोरैभन्दा शारिरिक गतिविधि कम गर्न भन्दै स्वास्थ्य चेतावनी जारी गरेका छन् । खासगरी वृद्धवृद्धा, दीर्घ रोग भएका र बालबालिकाहरूको हेरविचारमा विशेष ध्यान पुर्याउन भनिएको छ ।
तटवर्ती शहरहरूमा थुप्रै मानिसहरू स्वीमिंग पूल, समुद्री किनार र पानी भएका अन्य स्थानमा भेला भएर गर्मी कम गर्ने प्रयास गरिरहेका छन् ।
बिहीवार भिक्टोरिया, ताज्मेनिया र न्यू साउथ वेल्सका विभिन्न स्थानमा दर्जनौं वन डढेलोका घटनाहरू भएका थिए।
न्यू साउथ वेल्स हेल्थले अत्यधिक गर्मीका कारण देखिने लक्षणबारे जानकारी दिएको छ । जारी गरिएको एक वक्तव्यमा भनिएको छ – गर्मीका कारण लाग्ने रोगको लक्षण रिंगटा लाग्ने, कमजोर महसुस हुने, चिड्चिडापन, तिर्खा लाग्नु, बेहोस हुनु, मांशपेशी दुख्नु, टाउको दुख्नु, छालाको रङ परिवर्तन हुनु, तीब्र नाडी, बान्ता हुनु र अलमलमा पर्नु इत्यादि छन् ।’
स्रोतः बीबीसी, इन्डिपेन्डेन्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
-
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ: सभामुख घिमिरे
-
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
-
महिला खेलाडीसँगको सम्बन्ध पुष्टि भएपछि बर्खास्तमा परे प्रशिक्षक विली किर्क
-
दक्षिण अफ्रिकामा तीर्थयात्री बोकेको बस दुर्घटना, ४५ जनाको ज्यान गयो