केन्द्रीय संस्करण
इन्टेरियर डिजाइन

विन्द्रा कक्षपतिको इन्टेरियर डिजाइन : राजा वीरेन्द्रको सम्बोधन कक्षदेखि प्रधानमन्त्री कार्यालयसम्म

‘इन्टेरियर डिजाइन आर्ट एन्ड साइन्सको कम्बिनेसन हो’

person explore access_timeमाघ ५, २०७५ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

इन्टेरियर डिजाइनर विन्द्रा कक्षपति प्रधानलाई केही समयअघिसम्म मानिसले तपाईंको काम कोठा मिलाइदिने त हो नि भन्ने गरेको खुब याद आउँछ । तर अहिले समयले कोल्टे फेरेको छ । 

मानिसको चेतना स्तरमा वृद्धि भएको छ, मानिसहरू कमाउने मात्र होइन, सुखी र खुसी जीवनको खोजी गर्न थालेका छन् । सबैको चाहना हुन्छ सुन्दर घरको । सुन्दर घरको परिकल्पनासँगै जोडिन्छन इन्टेरियर डिजाइनर ।

ललितपुर इमाडोलमा रहेको ‘किन इन्टरप्राइजेज’की संस्थापक विन्द्रा कक्षपतिले इन्टेरियर डिजाइन सुरु गरेको २३ वर्ष भयो । इन्टेरियरप्रतिको सोचाइमा आएका परिवर्तनको साक्षी बनेकी विन्द्राले आफ्नै हातले अनेकौँ संरचनालाई सिँगार्ने काम गरेकी छिन् ।

आर्किटेक इन्जिनियर बन्न हिँडेकी विन्द्रालाई २०४६ सालको जनआन्दोलनले इन्जिनियरको ढोका बन्द गरिदिएको थियो । आर्किटेक इन्जिनियरिङको भर्ना गर्न कलेज जाँदा आन्दोलनको बीचमा परेपछि दिल्लीतिर लागेकी थिइन उनी । 

इन्डियन मोडर्न स्कुलबाट प्लस टु गरेकी कक्षपतिलाई भाउजू सपना प्रधान मल्लले दिल्लीको आईपीडब्ल्यू (इन्टरनेसनल पोलिटेक्निक फर ओमन) मा पुर्याएकी थिइन् । जहाँबाट विन्द्राले इन्टेरियर डिजाइनिङको कोर्स पूरा गरिन् । रेगुलर कोर्ससँगै उनले बिदाको दिन पारेर म्यानेजमेन्ट पनि पढिन् । त्यसले उनलाई आज विजनेसमा सहयोग पुर्याएको छ ।

सन् १९९५ मा दिल्लीको आईपीडब्ल्यूबाट इन्टेरियर डिजाइनको कोर्स सकेर नेपाल फर्केकी विन्द्रा आजकी एक सफल इन्टेरियर डिजाइनर मात्र होइनन् सफल विजनेस ओमन पनि हुन् । 
मास्टर्स पढ्न बाहिर जाने कि यहीँ केही गर्ने ? परिवार बाधक बनिदियो बिदेशको लागि । अब एउटै विकल्प बाँकी रह्यो नेपालमै काम सुरु गर्ने । 

मास्टर्स पढ्नलाई विदेश नै जानुपर्ने बाध्यता थियो । हुन त अभैसम्म पनि नेपालमा इन्टेरियर डिजाइनिङमा मास्टर्स लेभलको पढाइ हुन सकेको छैन । 

नेपालमा इन्टेरियर डिजाइनर ३, ४ जना मात्रै थिए त्यतिबेला । विन्द्राले केही सिनियरहरूको कम्पनीमा काम गर्ने मौका पाइन् । निर्माणाधीन होटल लगायत कर्पोरेट हाउसहरूका लागि इन्टेरियर डिजाइनरको खोजी हुन थालेको थियो । कामकै सिलसिलामा विन्द्रालाई एउट कर्पोरेट हाउसको इन्टेरियर गर्ने अफर आयो २५ हजारमा । ३ हजार ५ सयको जागिरे उनलाई यो अफरले प्रोफेसनल इन्टेरियर डिजाइनर बनाइदियो ।

इन्टेरियर डिजाइनिङसँगसँगै विजनेस
विन्द्राको मिहिनेत र कलाको प्रसंसा एक कान दुई कान हुन थालिसकेको थियो त उनलाई एकपछि अर्को कामको अफर आउन लागे । विन्द्रा यति व्यस्त हुन थालिन् कि साइटमै रातको १२ बजेको पनि पत्तो पाउन्नथिन् । 

फ्रिल्यान्सरको रूपमा काम गरेकी उनले पेसालाई व्यवस्थित पार्नकै लागि ‘पर्फेक्ट इन्टेरियर डिजाइनर’ नामको कम्पनी दर्ता गराइन् र सुरु गरिन आफ्नै विजनेस । सोही कम्पनी अहिले ‘किन इन्टरप्राइजेज’को रूपमा सञ्चालित छ ।

एक विजनेस ओमन भएपछि आफ्नो काम, कार्यालय अनि कर्मचारीका लागि पनि उत्तिकै कटिवद्ध हुनु पर्छ । उनलाई वेला वेला गेस्ट क्लास लिइदिन देशबाट मात्र होइन विदेशबाट पनि प्रस्ताव आउँछन् । समय मिलाएर दिल्लीसम्म पनि गेस्ट लेक्चरका लागि पुग्छिन् । नयाँ पुस्तामा देखिने सिर्जनशिलताले उनलाई थप उर्जा मिल्ने गरेको छ ।

विन्द्राको डिजाइनका फर्निचर आफ्नै फमबाट पनि निर्माण हुन्छ । उनले खेर जाने काठका टुक्राटाक्रीदेखि कपडा लगायतबाट विभिन्न कलात्मक डिजाईन तयार पारेर विक्रीवितरण पनि गर्ने गरेकी छिन् । जसले आम्दानी पनि हुने र खेर जाने सामानबाट विभिन्न आकर्षक डिजाइन बन्ने हुँदा त्यो उपयोगी हुन्छ ।

मिहिनेत, धैर्यता र लगनले नै विन्द्रालाई आजको अवस्थामा पुर्याएको छ । आज उनीसँग कामको चाङ नै छ । हरेक दिनजस्तो साइटमा हुन्छिन् । बैङ्कर श्रीमानको साथले उनलाई थप हौसला मिल्छ । विन्द्रा कामबाट फुर्सद निकालेर श्रीमान अनि छोरीका लागि विभिन्न परिकार बनाएर खुवान पनि भ्याउँछिन् । 

पुरुषको तुलनामा महिला बढीनै सिर्जनात्मक पाएकी छिन् विन्द्राले त्यसैले होला यो पेसामा महिलाको सहभागिता बढीनै छ । पुरुषहरू पनि यो पेसामा प्रशस्तै नभएका होइनन् तर महिलाहरुको धैर्यता र लगनले यो पेशामा उनीहरुलाई टिकाएको छ । विन्द्राले पनि आफ्नो फमको लागि महिला कर्मचारीलाई बढी ग्राह्यता दिने गरेकी छिन् ।

टिमवर्कमा विश्वास छ विन्द्रालाई । त्यसैले त २ सयभन्दा धेरै जनशक्ति उनको वरिपरि काम गर्छ । डिजाइनर, कारपेन्टर, पेन्टरदेखि टेलरबीचको कामको सही कम्बिनेसनबाटे नै स्तरीय संरचना दिन सफल छिन उनी ।

निर्वाचन आयुक्तको कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म अनि ठूला ठूला विजनेस घरानादेखि राजा वीरेन्द्रको सम्बोधन कक्षसम्मको डिजाइन गर्न भ्याएकी कक्षपतीलाई यो पेसाले जति इज्जत अरू केबाट मिल्थ्यो होला र ? उनी आफैलाई प्रश्न गर्छिन् ।

इन्टेरियर डिजाइन आर्ट एन्ड साइन्स 
इन्टेरियर डिजाइन आर्ट एन्ड साइन्सको कम्बिनेसन मान्छिन् विन्द्रा । डिजाइन आर्टिस्टिक हुनु पर्छ नै तर त्यसमा साइन्सले काम गर्यो भने बल्ल त्यो डिजाइन पर्फेक्ट हुने उनको विश्वास छ । 

डिजाइनर बन्न क्रिएटिभ माइन्ड चाहिन्छ, जसले ठाउँ, लागत, समय सबैलाई विचार गरेर आकर्षक डिजाइन बनाउन सकोस् । 

इन्टेरियर डिजाइनरहरूले घरको पहिलेको स्वरूपलाई परिवर्तन गरिदिने मात्र होइन कि कोठाको बनावट, आकार, उचाइ आदिमा अनुसन्धान गरी सुहाउँदो तरिकाले सजाउन सक्छन् । लाइट, कलर, फर्निचर, कार्पेट, टायल, झ्याल, ढोका, पर्दा सबैको सुन्दर संगम गराइदिन सक्छन् इन्टेरियर डिजाइनरले । 

घरभित्र र बाहिरको संरचनाअनुसार त्यसलाई सुशोभित तथा सुव्यवस्थित ढङ्गले डिजाइन गर्ने काम इन्टेरियर डिजाइनरले गर्छन् । विन्द्राको डिजाइनमा डिजाइन मात्र नभएर डेकोर, फङ्सनल पार्ट, डिस्प्लेलगायत शास्त्र पार्ट पनि समेटिन्छन् । हुन पनि यसरी सजाइएको घरको रूपरङ नै फरक र व्यवस्थित हुन्छ । 

आश्यकताअनुसार कोठाको फर्निचरको व्यवस्थापन गर्नेदेखि सानो स्पेसलाई भरपुर रूपमा सदुपयोग इन्टेरियर डिजाइनरले गरिदिन्छन् । 

इन्टेरियर डिजाइन गर्दा घरको प्रवेशद्वारदेखि भर्याङ, बेड रुम, भान्सा, डाइनिङ, लिभिङ रुम, फेमिली लाउन्ज, पूजाकोठा, स्टोर, वर्कआउट कक्ष सबै पर्छन् । त्यसैगरी, घर वरिपरि बगैँचा, पार्किङ तथा टेरेस गार्डेन सेट गर्ने काम पनि इन्टेरियरले गर्ने विन्द्रा बताउँछिन् ।

इन्टेरियर डिजाइन गर्न धेरै खर्च गर्नु पर्दैन थोरै खर्चले पनि आफ्नो घरलाई सुव्यवस्थित पार्न सकिन्छ । हुन त नेपाली समाज आर्थिक रूपमा केही बलियो बन्दै गएको भान नेपालीहरूको जीवनशैलीले पनि देखाउँछ । मानिस आरामदायी जीवनशैलीका लागि खर्चमा कम्प्रोमाइज गर्दैनन् आजभोली ।

दिनभरीको थकान मेटाउन सुन्दर घरको चाहना राख्ने धेरै पाएकी छिन विन्द्राले । उनी भन्छिन्, ‘तनावबाट मुक्ति पाउँन स्विट होमको अवधारणा विकास भएको छ र मानिस घरको भित्री आवरणसँगै बाहिरी आवरणलाई पनि सुन्दर बनाउन चाहन्छ ।’

राजा वीरेन्द्रको सम्बोधन कक्ष डिजाइन 
२०५८ सालमा राजा वीरेन्द्रको सम्बोधन कक्ष डिजाइन गर्नुपर्ने अफर आयो वीन्द्रालाई । तत्कालीन अवस्थामा राष्ट्रको सर्वोच्च व्यक्तित्व राजा हुन्थे । आफूले बनाएको ठाउँमा बसेर राजाले सम्बोधन गर्ने भन्दा विन्द्राको खुसीको कुनै सीमा नै थिएन । 

१७ वर्षअघिको त्यो क्षणलाई सम्झिँदा विन्द्राको अनुहारमा त्यहीबेलाको जस्तै चमक आयो । उनी कति खुसी थिइन् होला त त्यो क्षण ? कल्पना गर्न सकिन्थ्यो । सम्बोधनका लागि राखिएको कुर्सी, दूरी मिलाएर राखिएको टेबल, दुईवटा सोफाको बीचमा ऐना निकै आकर्षक थियो त्यो कक्ष । 

विडम्बना, राजाले विन्द्राको डिजाइन देख्न पाएनन्, विन्द्राको डिजाइनको प्रसंसा गर्न पनि पाएनन् । आफूले मिहिनेत गरेर सजाएको त्यो कक्षमा राजालाई देख्न पाइनन् विन्द्राले । सम्बोधनको दिन नआउँदै दरबार हत्याकाण्ड भयो । जेठ १९ गते राजा रानीसहित राज परिवारका १० सदस्यको हत्या भयो । 

विन्द्राले त्यो डिजाइनको फोटो लिन पाइनन् । आफूसँग क्यामेरा थिएन, त्यति बेला प्रयाप्त क्यामेरा हुन्न थियो । पेपरमा स्केच गरेर डिजाइन गरेकी उनले आफ्नो डिजाइन सुरक्षित गर्न पनि सकिनन् ।  
२०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । उनको कक्षलाई सजाउनको लागि पनि विन्द्राको माग भयो । उनको डिजाइन देखेर बाबुराम मख्ख परे । बाबुराम टेक्निकल भाषा बुझ्थे, त्यसैले त्यही मौका छोपेर विन्द्राले पनि आफ्नो आशा पोख्न भ्याएकी थिइन् । 

प्रधानमन्त्रीलाई विन्द्राले ‘तपाईं त आर्किटेक इन्जिनियर अब हाम्रो देशको रूप पनि पक्कै परिवर्तन हुनेछ र हामी जस्ता इन्टेरियर डिजाइनरहरूको पक्षमा पनि सरकारले केही गर्नेछ ।’ प्रधानमन्त्री भट्टराईको सकारात्मक प्रतिक्रिया स्वरूप मुस्कान मात्र पाइन् विन्द्राले । सरकारी कार्यालयहरूमा इन्टेरियर डिजाइनरको महत्व बढ्ने विन्द्राको आशा फाट्फुट काममै सीमित भयो ।
फर्निचर सोरुममा पार्ट टाइम डिजाइनरको काम गर्दा मन्त्रिपरिषद् बैठक कक्षको डिजाइन गर्ने मौका मिलेको थियो विन्द्रालाई । सरकारी कार्यालयहरूमा इन्टेरियर डिजाइनर नहुने सीधै फर्निचर लगिने रहेछ । त्यस्तैमा सोरुमले उनलाई डिजाइन गरिदिन आग्रह गरेको थियो ।

विन्द्रा भन्छिन्, ‘सरकारले ठूला ठूला सभा कक्षहरू साथै कूटनीतिक भेटघाट कक्षहरूलाई स्तरीय र सुन्दर ढङ्गले सजाउनुपर्छ । जसले पाहुनाहरूप्रति सकारात्मक भावना जागृत गराउन सकिन्छ ।’ उच्च स्तरीय भेटघाट हुने ठाउँलाई सुन्दर बनाउँन सरकारले इन्टेरियर डिजाइनरको नियुक्ति गर्नुपर्ने विन्द्राको सुझाव छ ।

विन्द्राले निर्वाचन आयोगको बैठक कक्ष, मिडिया सेन्टर अनि प्रमुख निर्वाचन आयुक्तहरूको कार्यालयको पनि डिजाइन गरिन् । उनले भोजराज पोखरेल, नीलकण्ठ उप्रेती अनि डा. अयोधीप्रसाद यादवका कक्षलाई सजाउने काम गरिसकेकी छिन् ।

थ्री डी डिजाइनको मार्केट
विन्द्राको अनुभवमा पहिले पेपरमा स्केच गरेर डिजाइन तयार पारिन्थ्यो भने अहिले डिजाइन कम्प्युटराइज्ड हुने गरेको छ । आजभोलि भर्चुअल डिजाइनमा मानिसको आकर्षण बढेको छ ।  

इन्टरनेटको जमाना भएकाले पनि धेरैले इन्टरनेटबाट डाउनलोड गरेर यस्तै डिजाइन चाहियो भन्छन् । त्यसका लागि त्यही अनुसारको डिजाइन आफूले बनाउनुपर्ने हुन्छ । विन्द्रा आफूले थ्री डी डिजाइन नगर्ने भएकाले थ्री डी गर्नेहरूसँग समन्वय गर्ने गर्छिन् । 

ग्राहकहरू व्यापारीको कुरामा विश्वास गरेर महँगा तर स्थान नसुहाउने सामान खरिद गर्न बाध्य हुँदा ठूलो ठाउँ पनि भद्दा हुन पुग्छ । त्यसैले पनि थ्री डी डिजाइनरले स्पेस अनुसारको डिजाइन कम्प्युटरमै देखाइदिँदा ग्राहकले सजिलै बुझ्न सक्छन् ।

टेक्नोलोजीको प्रयोग बढेसँगै इन्टेरियर घरभित्रको सजावट मात्र नभई बाहिरी सजावट अर्थात् एक्सटेरियरको पनि महत्त्व बढेको छ । त्यसैले पनि बजारमा डिजाइनरको माग बढ्दै जाँदा चुनौती पनि उत्तिकै थपिइरहेका छन् । 

इन्टेरियर डिजाइनमा कलर कम्बिनेसन 
१० वर्ष अगाडिसम्म इन्टेरियर डिजाइनरको काम सोफा टेबल मिलाउने भनिए पनि आज सामान्य अवस्थाको व्यक्तिले समेत आफ्नो घरको सुन्दरताका लागि इन्टेरियर डिजाइनरको सहयोग लिने गरेका छन् । 
डिजाइनमा कलरले सुनमा सुगन्घ ल्याउने काम गरिरहेको हुन्छ । डिजाइनरले संरचनामै परिवर्तन ल्याउने मात्र होइन कलर कम्बिनेशनद्वारा भिन्न चमक दिन सक्छन् ।   

विन्द्राको डिजाइनमा कलर कम्बिनेसन मुख्य प्राथमिकतामा पर्छ किनकि कलरले मानिसको हरेक मुडलाई प्रतिनिधित्व गर्छ । 

कुनै पनि संरचनामा समय समयमा कलर पविर्तन गर्ने हो भने त्यसमा नयाँपन पाउँन सकिन्छ । त्यसैले धेरै वर्ष टिक्ने भन्दै महँगा कलरको प्रयोग गर्नभन्दा समय समयमा परिवर्तन गर्ने गरी कलर रोज्न सल्लाह दिन्छिन् विन्द्रा ।

सामान्यत घरभित्र एउटा कलर र बाहिर एउटा कलर गर्ने चलन हुन्छ । तर बच्चाहरूको रुम, लिभिङ रुम, बुढाबुढीको रुम, भर्याङलगायतका स्थान अनुसार फरक कलर गरी आकर्षक बनाउन सकिन्छ घरलाई । आजभोलि वालपेपरको प्रयोग पनि बढेको छ । स्थान अनुसार वालपेपर टासेर कोठाहरुलाई सुन्दर बनाउन सकिन्छ ।

इन्टेरियर डिजाइन आजको आवश्यकता
विन्द्राको अनुभवले इन्टेरियर आजको आवश्यकता देख्छ । केही समयअघिसम्म इन्टेरियरलाई फेसनको रूपमा हेरिए पनि तर आज यो आवश्यकता नै बनेको छ । 

सानो, पुरानो अनि अव्यवस्थित घरलाई पनि व्यवस्थित अनि नयाँ बनाउँन इन्टेरियरको भूमिका महत्वपूर्ण हुन्छ । थोरै खर्चमै पनि एउटा पुरानो घरलाई नयाँ लुक दिन सकिन्छ ।

२३ वर्षको यात्रामा थुप्रै उकाली ओराली गरेकी विन्द्राले इन्टेरियरलाई मानिसले आवश्यकताको रूपमा लिनुलाई चेतना स्तरमा आएको परिवर्तन ठान्छिन् ।

विशेष गरेर बैंक, वित्तिय संस्था, कम्पनीहरु, होटल, रेस्टुराँ, ठूला ठूला घरानाहरुले इन्टेरियरको सहयोगमा सजावटलाई विशेष ध्यान दिने गरेता पनि अहिले सामान्य घरमा पनि इन्टेरियरको माग हुन थाल्नु सुखद पक्ष हो । 

डिजाइनरहरुका लागि प्रेरणा बनेकी उनले भविष्यमा नयाँ पुस्ताका लागि काम गर्न चाहन्छिन् । आफूले आर्जन गरेको अनुभव र सिपलाई नयाँ पुस्तालाई सिकाउन प्रयास गर्दै छिन् उनी ।

इन्टेरियरको मागलाई व्यवस्थापन गर्न आईसी कलेज अफ आर्ट एन्ड फेसन र केएचएमसीले इन्टेरियर डिजाइनको पढाइ गराउँदै आएका छन् । स्नातक तहसम्मको पढाइ हुने गरे पनि नेपालमा स्नातकोत्तर तहको पढाइका लागि विद्यार्थी विदेशिनुपर्ने बाध्यता यथावत छ । 

इन्टेरियर डिजाइनर विन्द्राको सरकार अनि शैक्षिक क्षेत्रलाई विशेष अनुरोध यो पनि हो कि नेपालमै अध्ययन गर्न चाहने विद्यार्थीका लागि मास्टर्स लेभलसम्मको पढाइ सुरु गरियोस्, जसले विदेशिन लागेका युवाहरूलाई स्वदेशमै केही गर्न प्रेरित गर्नेछ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...