बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीको कार्यकुशलतामा प्रहरी बस्ने भौतिक संरचनाले ठूलो प्रभाव पार्छ : एआईजी राई

शुक्रबार, ०४ माघ २०७५, १८ : २७
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ठुले राईले प्रहरीको कार्यकुशलतामा प्रहरी बस्ने भौतिक संरचनाले पनि ठूलो प्रभाव पार्ने बताएका छन् । 

शुक्रबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको नवनिर्मित भवनको उद्घाटन गर्दै राईले प्रहरीले कतिपय स्थानमा भौतिक संरचनाको दयनिय अवस्थामा पनि उच्चस्तरको कार्यसम्पादन गरेको बताए । 

कार्यक्रममा  राईले नयाँ भवनको प्राप्तिसँगै समुदायको आवश्यकता अनुसार दत्तचित्त भई कार्य सम्पादन गर्दै जनताको सन्तुष्टीको स्तर वृद्धी गर्नुपर्ने बताउँदै आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।

प्रहरी कार्यालयमार्फत अन्यायमा परेका सेवाग्राहीले निर्वाध रुपमा न्यायको बाटो पहिल्याउन सक्ने चर्चा गर्दै उनले कानून कार्यान्वयन गर्ने सन्दर्भमा बफादार भई अधिकतम उपलब्धी हासिल गर्ने लक्ष्यसहित काम गर्नुपर्ने बताए । समुदाय(प्रहरी साझेदारी अवधारणा अनुसार स्थानीय सरकारसँग समन्वय गरी शान्ति सुरक्षा व्यवस्थापनमा खटिनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, स्थानीय सहयोग समितिका सदस्य तथा समाजसेवी प्रकाश श्रेष्ठ लगायतले भवन निर्माण सम्बन्धी आ(आफ्नो धारणा व्यक्त गरेका थिए ।  

उक्त अवसरमा एआईजी राईले भवन निर्माणका लागि जग्गा प्रदान गरी सहयोग गर्ने दिर्घकुमारी खतिवडालाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै प्रशंसापत्र समेत प्रदान गरे । साथै उनले उक्त कार्यालय परिसरमा सिसिटिभि जडान गरी सहयोग गर्ने बुढानिलकण्ठ नगरपालिकालाई समेत प्रशंसापत्र प्रदान गरे ।  

राईले भवन निर्माणमा उल्लेखनीय कार्य गर्ने प्रभागका पूर्व ईन्चार्जहरु प्रहरी निरीक्षक होमबहादुर पराजुली र रवीन्द्र पाण्डेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै प्रभागमा रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत प्रशंसापत्र तथा नगद पुरस्कार प्रदान गरे । 

करिब २ करोड ३१ लाख ६८ हजार ५ सय ८४ रुपैयाँ लागतमा साढे ३ तलाको उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । 

कार्यक्रममा पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, संचारकर्मी एवं प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप