बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

छोरीलाई भन्दा छोरालाई भावनात्मक समर्थन बढी आवश्यक, छोरा हुर्काउन आमाबुवालाई टिप्स

शुक्रबार, ०४ माघ २०७५, १२ : ५१
शुक्रबार, ०४ माघ २०७५

‘महिला र पुरुष एक हुन्’ यो वाक्य हामीले बारम्बार सुन्दै आएका छौं । तर यो वाक्य सुन्ने बानी परेका हामीले महिला र पुरुष कति फरक छन् भनेर ठ्याक्कै बिर्सन्छौं । मानिसहरुलाई पुरानो सोचले निकै गाँजेको छ । हामी पुरुषबाट के अपेक्षा गर्छौं ? हामी उनीहरु बलिया, कठोर र निर्णायक हुन् भन्ने चाहन्छौं । तर छोराहरुलाई हुर्काउने क्रममा हामीले उनीहरुको भावनात्मक पक्ष भने बिर्सन्छौं । यद्यपी, बच्चाहरुको विकासको क्षेत्रमा कार्यरत विज्ञले छोराहरु छोरीभन्दा कमजोर हुने भएकाले उनीहरुलाई अत्यधिक भावनात्मक समर्थनको आवश्यकता पर्ने खुलासा गरेका छन् ।  

गर्भभित्रै रहँदा पनि छोराहरुको तनाव प्रतिरोधी हर्मोन ढिला परिपक्व हुन्छ त्यसकारण छोराहरुलाई गर्भभित्र र बाहिर रहँदा वातावरणीय तनावले निकै चाँडै छुन्छ । आमाबुवासँग छुट्टिनुपर्दा (सेपरेशन एन्जाइटी) छोराहरु छोरीहरुभन्दा बढी विचलित हुन्छन् ।

जन्मिएको एक महिनादेखि १२ महिनासम्म छोराहरुले तनाव र बेचैनीको भाव अत्यधिक प्रकट गर्ने एक नयाँ अध्ययनले बताएको छ । छोराहरुको कार्टिसोल (स्ट्रेस हर्मोन) को स्तर पनि छोरीहरुको भन्दा निकै धेरै पाइयो ।

यी तथ्यलाई मध्यनजर गर्दै आमाबुवाले आफ्ना छोरालाई भावनात्मक समर्थन अत्यधिक प्रदान गर्नुपर्छ । उनीहरुलाई आफ्नो भावना नदबाउन पनि सिकाउनुपर्छ । उनीहरुले दैनिक रुपमा घरका ठूला सदस्यबाट प्रतिबन्धका थुप्रै शब्दहरु सुन्ने गर्छन् । जस्तैः ‘नरोउ, तिमी छोरा हौ !’, ‘गुनासो गर्न छोडिदेउ’, ‘‘तिमी रोइरहेको हो ? तिमी छोरी हौ र ?’

यस्ता दबाबले हामी उनीहरुको स्नायु विकासमा बाधा पुर्याइरहेका छौं । यस्ता छोराहरुमा भविष्यमा दुर्व्यवसनको खतरा देखिन्छ भने उनीहरु तनावमा हुने र एक्लो महसुस गर्ने समस्या देखिन सक्छ ।

छोरा हुर्काउने केही टिप्सः

१. तपाईंको छोराले रिस, डर, निराशालगायतका जस्तोसुकै भाव व्यक्त गरेपनि त्यसलाई सजिलै स्विकार्नुहोस् । तपाईंले छोराको कुरा बुझ्ने र  कहिलेकाँही आफूले पनि ठ्याक्कै त्यस्तै महसुस गर्ने गरेको बताउनुहोस् । ‘यस्तो महसुस गर्नु सामान्य हो’ । उनीहरुको दिमागमा कुनै आशा, सामाजिक दबाब भर्न बन्द गर्नुहोस् ।

२. तपाईं उसकै पक्षमा भएको थाहा दिनुहोस् । जस्तोसुकै अवस्थामा पनि तपाईंले उसलाई माया गर्ने कुरामा विश्वास दिलाउनुहोस् । उसलाई सहयोग गर्न आफूले के गर्नुपर्छ भनेर पनि सोध्नुहोस् ।

३. उसलाई आफ्नै उदाहरण दिएर विभिन्न भावनाबारे जानकारी दिनुहोस् । ‘म अहिले दुःखी छु । अहिले खेल्न जान मनै लागेको छैन’ अथवा ‘हेर त, त्यो बच्चा रोइरहेको छ, तिमीलाई के लाग्छ, उसलाई के कुरामा चित्त दुख्यो होला ?’ यसमा अरु बच्चाको पनि उदाहरण दिनुहोस्, ‘त्यो बच्चा उदास देखिन्छ । यसमा तिमीले सहयोग गर्न सक्छौ र उसलाई मेरो पनि साथी छ भनेर महसुस गराउन सक्छौ ।’

छोराहरुको सुरुवाती भावनात्मक विकासले भविष्यमा उनीहरुको मानसिक स्वास्थ्यमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसकारण अब अर्कोपटक आफ्नो छोरासँग कुरा गर्दा निकै ध्यान दिनुहोस् !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप