बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलिदानी दिवस : सिरहामा प्रदेश २ सरकारले नै कार्यक्रम गर्दै

शुक्रबार, ०४ माघ २०७५, १२ : २५
शुक्रबार, ०४ माघ २०७५

काठमाडौं–मधेशमा मनाइँदै आएको बलिदानी दिवस प्रदेश नम्बर २ सरकारले औपचारिक रुपमै मनाउने भएको छ । 

मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका विद्यार्थी नेता रमेश महतोको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । सोही दिनको स्मरणमा मधेश केन्द्रीत दलहरुले प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आएको अवस्थामा यसवर्ष प्रदेश सरकारले नै औपचारिक रुपमा बलिदानी दिवस मनाउन लागेको हो । 

निबार सिरहाको लहानमा प्रदेश सरकारले विशेष कार्यक्रम गरी बलिदानी दिवस मनाउने प्रदेश सरकारका प्रवक्ता विजय यादवले जानकारी दिए ।

घाइते तथा सहिद परिवारलाई सरकारको तर्फबाट विशेष सम्मान गर्ने तथा घाइतेका लागि उपचारको विशेष प्याकेज घोषणा गर्ने बताइएको छ । 

यसअघि दलगत आधारमा सहिद परिवार तथा घाइतेलाई सम्मान गर्ने कार्य हुन्थ्यो । तर अब सरकारले नै मन्त्रिपरिषद्को निर्णय अनुसार सहिदको योगदानको उच्च कदर गर्दै सम्मान गरेर आधिकारिकता दिन लागेको हो । 

लहानमा हुने कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहने छन् भने भने विशिष्ट अतिथिको रुपमा प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउत रहने छन् । 

कार्यक्रममा प्रदेश सरकारका सबै मन्त्री तथा राजपा र फोरम नेपालका सांसदलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ । साथै, केन्द्रबाट फोरम नेपालको तर्फबाट उपेन्द्र यादवसहित सो पार्टीका अन्य नेताहरुको पनि सहभागीता रहनेछ । यस्तै राजपा नेपालबाट पनि कार्यक्रममा सहभागी हुने बताइएको छ । 

यद्यपी राजपा नेपालबाट सो कार्यक्रममा  को को सहभागि हुनेछन् भन्नेमा टुगों लागेको छैन । राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले आज पार्टीको बैठक बसेर लहानमा हुने बलिदानी दिवसको कार्यक्रम बारे आवश्यक निर्णय लिने बताए । 

विगतका वर्षहरुमा लहानमा माघ ५ गते कार्यक्रम गर्नका लागि प्रतिस्पर्धा नै हुन्थ्यो । फोरम नेपाल र अन्य मधेशवादी दलहरुले त्यहाँ शक्ति प्रदर्शन गर्दै कार्यक्रमको आयोजना गर्थे ।  तर, यसपटक प्रदेश सरकार नै आयोजक भएपछि त्यस्तो प्रतिस्पर्धा देखिएको छैन ।

प्रदेश २ मा राजपाको सहयोगमा फोरम नेपाल नेतृत्वको सरकार रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप