बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताले गति लिएन : नेता रावल

बिहीबार, ०३ माघ २०७५, २१ : २३
बिहीबार, ०३ माघ २०७५

अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले पार्टी एकताको कामले गति लिन नसकेको बताएका छन् । 

प्रेस सङ्गठनद्वारा आज अछाम सदरमुकाम मङ्गलसैनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘केही समय अघि बसेको स्थायी कमिटी बैठकले दिएको सुझावअनुसार पार्टी एकताको कामले गति लिन सकेको छैन ।’ 

नेता रावलले पुस मसान्तभित्र केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी बाँडफाँट, जिल्ला कमिटी गठनलगायतका काम गर्ने गरी नौ सदस्यीय कार्यदल बनाइएको भए पनि काम सम्पन्न नभएको र यसबाट विभिन्न क्षेत्रमा समस्या परेको बताए । 

‘पार्टी स्थानीय कमिटीको एकता र पूर्णताका काम हुन नसक्दा सयौँ नेता कार्यकर्ता बेरोजगार जस्तै भएको छ’, उनले भने, ‘यसको असर सरकार सञ्चालनमा पनि परेको छ ।’ 

नेता रावलले सरकार सञ्चालन गर्दा पनि पार्टीले सङ्घीय, प्रदेश तथा स्थानीय चुनावमा अघि सारेको चुनावी एजेण्डा र घोषणापत्रअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए । 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने बताउँदै उनले यस विषयमा आफूले पटकपटक आवाज उठाएको धारणा व्यक्त गरे । 

टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई शपथग्रहण गराइएको विषयमा समेत पार्टीमा छलफल नभएको उनले बताए । 

नेता रावलले सुदूरपश्चिमको विकासका विभिन्न योजनालाई प्रभावकारीरुपमा अघि बढाउन आफूले सरोकारवालालाई घच्घच्याइरहेको उल्लेख गर्दै अब छिट्टै सेती लोकमार्गको काम अघि बढ्ने बताए । 

मध्यपहाडी लोकमार्गलेसमेत गति लिएको, पश्चिम सेती निर्माणका लागि सरकारलाई खबरदारी गरिरहेको बताउँदै उनले नेपालकै महत्वपूर्ण योजनाका रुपमा रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा चलखेल भइरहेको धारणा व्यक्त गरे । 

नेता रावलले अछाममा निर्माणाधीन चित्रे र रिठाबगर पुलको काम तत्काल हुनुपर्ने कुरामा आफूले जोड दिएको बताउँदै विकास, समृद्धि, राष्ट्रियता र स्वाधीनताका लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप