शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारदेखि रोजगार कार्यक्रम संयोजक भर्ना प्रक्रिया सुरु हुने

बिहीबार, ०३ माघ २०७५, १९ : १६
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि शुक्रबारदेखि सबै स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो । 

मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्ने भएको छ । मन्त्रिपरिषद्ले रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेपछि मन्त्रालयले भर्ना प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयका  सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख प्रकाश दाहालले १ बर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरि शुक्रबारदेखि दरखास्त आव्हानको सूचना प्रकाशित गरिने जानकारी दिए । 

मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी(नासु सरह)को र १० हजार भन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको छ । स्वीकृत दरबन्दीमा भोली शुक्रबारदेखि अनलाईन फारम भर्ने व्यवस्था सहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफंैले अनलाईन फारम भर्न सक्नेछन् ।

मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ । रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने भएको छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ बर्ष भन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ ।

पहिलो चरणमा सबै मापदण्डअनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा ३ जनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाईनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइनेछ । कम्युटर ज्ञानको नतिजा पनि सफ्टवेयरमार्फत नै तत्काल निस्कने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले फागुनभित्र सबै प्रक्रिया पुरा गरि रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत्र १ गतेबाट बेरोजगारहरुको सुचीकृत गर्ने काम सुरु हुने दाबी गरेको छ । रोजगार संयोजकले वेरोजगार, रोजगारदाता, रोजगार दिने संस्था लगायतको सूचना संकलन गर्नेछन्  । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैया बजेट विनियोजन गरेको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप