केन्द्रीय संस्करण
सौर्यमण्डलको सेरोफेरो

सौर्यमण्डल र ग्रह-उपग्रहहरुबारे केही रोचक जानकारी

person explore access_timeमाघ ३, २०७५ chat_bubble_outline0

रातोपाटीको यस लेख–श्रृङ्खलामार्फत् हामी आदरणीय पाठकहरुलाई ब्रम्हाण्डका रोचक, अनौठा रज्ञानबर्द्धकजानकारी पस्कँदै खगोलयात्रामा लैजाने कोशिश गर्नेछौं । यसअन्तर्गत ब्रम्हाण्डमा रहेका ब्लाकहोल, आकाशगंगा, तारा, नेबुला लगायत हाम्रै सौर्यमण्डल  र यसका सदस्यहरुका बारेमा, अनिगिन्ती ग्रह, उपग्रह उल्कापिण्ड, धूमकेतू आदिका बारेमा जानकारी दिनेछौं । साथै,  ब्रम्हाण्डका अद्भूत र विचित्रका जानकारीहरु पनि यसमा पस्कने हाम्रो कोशिश रहनेछ ।

यो खगोलयात्राको शुरुवात हाम्रो सौर्यमण्डलका विविध पक्षहरुका बारेमा जानकारीमूलक सामग्रीबाट गर्दैछौं ।

के हो सौर्यमण्डल

सौर्यमण्डल भनेको सूर्यको परिवार भनेर बुझ्दा पनि हुन्छ । सौर्यमण्डलभित्र यसको केन्द्रमा रहेको तारा सूर्य र यसलाई फन्को लगाएर घुम्ने सबै ग्रह, फुच्चेग्रह, उपग्रह, पुच्छरे तारा आदिहरु पर्दछन् । ती सबै आकाशीय पिण्डहरुले सूर्यको गुरुत्वाकर्षण बल (आफूतिर तान्ने शक्ति)को कारण सूर्यलाई केन्द्र बनाएर वरिपरि परिक्रमा गरिरहेको हुन्छ ।

ग्रहहरुको क्रम

सौर्यमण्डलका सबैभन्दा प्रमुख सदस्यमा ग्रहहरु पर्दछन् । हाम्रो सौर्यमण्डलमा जम्माजम्मी ८ वटा ग्रहहरु छन् । २०६३ साल सम्म मा हाम्रो सौर्यमण्डलमा जम्मा ९ वटा ग्रहहरु छन् भनी मानिदै आइएको थियो । तर सन् २००६ मा आएर इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन (International Astronomical Union- AU) ले प्लुटो (Pluto) अर्थात् यमलाई अब उप्रान्त ग्रह नमान्ने, बरु त्यसलाई फुच्चे ग्रह मान्ने निर्णय गरेपछि ग्रहहरुको संख्या ८ वटामा सीमित भएको हो ।

स्मरण रहोस्, प्लुटोलाई सन् १९३० मा अमेरिकी खगोलशास्त्री क्लाइड टमबग (Clyde Tombaugh) ले पत्ता लगाएका हुन्

हाम्रो सौर्यमण्डलमा सबैभन्दा सानो ग्रह यम थियो । तर ग्रहको संख्या आठ वटामा झरेपछि सबैभन्दा सानो ग्रह बुध हुन पुगेको छ । सूर्यबाट सबैभन्दा नजिकको ग्रहबाट क्रम मिलाउँदा पनि पहिलो ग्रह बुध नै हो । बुधपछि क्रमशः शुक्र (Venus), पृथ्वी (Earth), मंगल (Mars), बृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus)  र बरुण (Neptune)  पर्दछ । प्लुटो पनि ग्रहकै रुपमा रहिरहेको भए सबैभन्दा सानो र सबैभन्दा टाढाको ग्रह यही नै हुनेथियो ।

आकारका आधारमा भन्ने हो भने चाहिँ सबैभन्दा ठूलो ग्रह बृहस्पति हो । त्यसपछि क्रमशः शनि, अरुण, बरुण, पृथ्वी, शुक्र, मंगल, बुध पर्दछ ।

सबै ग्रहहरु किन गोलाकार छन् ?

सबै ग्रहहरु करिब करिब गोलाकार छन् किनभने, सबै ग्रहहरुको आफ्नै गुरुत्वाकर्षण शक्ति छ । त्यो गुरुत्वाकर्षण शक्तिले आफू वरिपरिका सबै बस्तुहरुलाई आफ्नो केन्द्रमा तानिरहेको हुन्छ । आजभन्दा अरबौं वर्ष पहिले सौर्यमण्डलको निर्माण भएको थियो । त्यसबेला ग्याँस र धूलोका थुप्रोहरु गुरुत्वाकर्षणकै कारण अलग अलग समूहमा जम्मा हुँदै विभिन्न ग्रहहरु बनेको थियो ।

त्यसरी ग्याँस र धूलोका कणहरु एक आपसमा मिल्ने र विलय हुने क्रममा बनेको ग्रह अति तातो र पग्लिएको अवस्थामा थियो । त्यसरी तातो र पग्लिएको पदार्थलाई ग्रहमा भएको गुरुत्वाकर्षणले चाहिँ निरन्तर रुपमा आफ्नो केन्द्रभित्र तिर तानिरहेको थियो । यसरी गुरुत्वाकर्षणले त्यो पग्लिएको पदार्थलाई चारैतिरबाट केन्द्रमा तान्ने क्रममा नै ग्रहको आकार गोलाकार बन्दै गयो । पछि ग्रहको बाहिरी क्षेत्रहरु सेलाउँदै जाँदा त्यो गोलाकार रुप कायम रहिरह्यो ।

अझै पनि ग्रह पूरै सेलाइसकेको छैन । ग्रहको भित्री भागहरु अझै पनि पग्लिएको, तातो र तरल अवस्थामा नै छ ।

त्यसो त ग्रहको आकार पूरै गोलाकार छैन । यो तलमाथि केही खुम्चिएको र बीचमा केही फुकेको जस्तो (Spherical) रुपमा रहेको छ । यसको रुप यस्तो हुनुको कारण चाहिँ सबै ग्रहहरु आफ्नै धूरी (अक्ष)मा फन्को मार्नाले नै हो । गुरुत्वाकर्षणले चाहिँ केन्द्रतिर तान्ने तर ग्रहले फन्को मार्नेक्रममा सतहका बीच बीचतिरका भागहरु चाहिँ गुरुत्वाकर्षण बलको विपरीत बलको कारण उछिट्टिनु खोज्नाले यस्तो हुन गएको हो ।

सबै ग्रहमा चक्का छ ?

शनि ग्रह

सौर्यमण्डलका ग्रहहरुको चित्रलाई नियालेर हेर्नुहोस्, शनि ग्रहको वरिपरि एउटा चक्का (Ring) देखिन्छ, अरु ग्रहहरुमा त्यस्तो चक्का देखिँदैन । चित्र हेर्दा हामीलाई लाग्न सक्छ, हाम्रो सौर्यमण्डलमा चक्का भएको ग्रह एउटै मात्र छ । तर कुरा यस्तो होइन । सन् १९७० को दशकअघिसम्म सबैले शनिको मात्र चक्का छ भनी सोच्थे तर पछि थाहा लाग्यो, हाम्रो सौर्यमण्डलका अरु ठूला ग्याँसयुक्त ग्रहहरु बृहस्पति, अरुण र बरुणमा पनि चक्का छ ।

बृहस्पति ग्रह

तर यी ग्रहहरुमा भएको चक्का शनिको तुलनामा निक्कै सानो, अँध्यारो र धमिलो छ । त्यसैले हत्तपत्त चित्रमा त्यसलाई देख्न सकिँदैन ।

ग्रहहरुको नाम कसरी राखियो ?

पृथ्वीको नाम छोडेर अरु सबै ग्रहहरुको अंग्रेजी नाम रोमन र ग्रीक देवी देवताको नामको आधारमा राखिएको छ । हाम्रो नेपाली वा देवनागरी लिपीमा चाहिँ ग्रहहरुको नाम हिन्दू धर्मका देवीदेवताका नाममा राखिएको छ ।

रमाइलो कुरा के छ भने, अंग्रेजी भाषामा जुपिटर, स्याटर्न, मार्स, भेनस र मरक्युरी नामकारण हज्जारौं वर्ष पहिले नै गरिएको थियो । ती सबै ग्रहहरु आजभन्दा धेरै पहिले नै पत्ता लागेका थिए । अरु ग्रहहरु चाहिँ टेलिस्कोपको आविष्कार हुनुभन्दा पहिले पत्ता लागेका थिएनन् । पछि अरु ग्रहहरु पत्ता लागेपछि पनि रोमन र ग्रीक देवी देवताका नाममा नै ग्रहहरुको नामाकारण गरिने परम्परा कायम राखेर बाँकी ग्रहहरुको नाम गरिएको थियो ।

मरक्युरीको नाम यात्रासम्बन्धी रोमन देवताको नाममा राखिएको हो । त्यसै गरी, भेनस प्रेम र सौन्दर्यका रोमन देवी, मार्स युद्धका रोमन देवता, जुपिटर रोमन देवताहरुको राजा, स्याटर्न कृषिसम्बन्धी रोमन देवता, युरेनस प्राचीन ग्रीक देवताहरुका राजा र नेप्च्यून चाहिँ रोमन समुद्र देवताको नाममा राखिएको हो । त्यसैगरी, फुच्चे ग्रह बनाइएको प्लुटोको नाम जमीनभित्रका रोमन देवताको नाममा राखिएको हो । नेपालीमा चाहिँ यसको नाम क्रमश हिन्दू देवताहरु  बुध, शुक्र, मंगल, बृहस्पति (देवताका गुरु), शनि, अरुण (हावाको देवता), बरुण (पानीको देवता) र यम (मृत्युको देवता) का आधारमा राखिएको हो । पृथ्वीको नाम चाहिँ अंग्रेजी र नेपालीमा मिल्दोजुल्दो छ । अंग्रेजीमा Earth को अर्थ  जमीन हुन्छ भने नेपालीमा पनि पृथ्वीलाई धरती अर्थात् जमीन नै भन्ने गरिन्छ ।

किन ग्रहहरुले सूर्यको चक्कर लगाउने गर्छ ?

सौर्यमण्डलको निर्माण निरन्तर रुपमा घुमिरहेको वा फन्को मारिरहेको ग्याँस र धूलोको बादलबाट भएको हो । सौर्यमण्डल निर्माण हुने क्रममा पहिले सूर्यको निर्माण भयो र बाँकी रहेको ग्याँस र धूलोको बादलले त्यस नयाँ तारा सूर्यलाई फन्को मार्न थाल्यो । वास्तवमा, सूर्यले त्यो ग्याँस र धूलोको बादललाई आफूतिर गुरुत्वाकर्षण बलको कारण तानिरह्यो र त्यो ग्याँस पनि निश्चित दूरीमा रहेर सूर्यको फन्को बन्न थाल्यो । त्यसरी फन्को मार्ने क्रममा बाँकी रहेको धूलो र ग्याँसको बादलबाट नयाँ नयाँ ग्रहहरु, उपग्रहहरु, पुच्छरे तारा, फुच्चे ग्रह, छुद्रग्रहहरु पनि बन्न गए । यसरी बनेका नयाँ नयाँ आकाशीय पिण्डहरुले पनि स्वभाविक रुपमा सूर्यको गुरुत्वाकर्षण बलको कारण सूर्यलाई केन्द्र बनाएर घुम्न थाल्यो ।

यसरी ग्रहहरु लगायत सौर्यमण्डलका अरु सदस्य पिण्डहरुले सूर्यलाई फन्को मार्नुको एउटै कारण सूर्यको गुरुत्वाकर्षण बलले तिनीहरुलाई आफूतिर तान्नु नै हो । अनि,  त्यसलाई अरुतिर धकेल्न वा रोक्न सूर्यको गुरुत्वाकर्षण शक्तिभन्दा बलियो अरु शक्ति वरिपरि नहुनु नै पनि हो ।

के सबै उपग्रहहरु ग्रहभन्दा साना हुन्छन् ?

ग्रहहरुले सूर्यलाई फन्को मार्ने गर्छ । त्यसरी नै ग्रहहरुलाई फन्को मार्ने पिण्डहरु पनि हुन्छन् । ती पिण्डहरुलाई उपग्रह भनिन्छ । आकारको कुरा गर्ने हो भने उपग्रहहरु आफूले फन्को मार्ने ग्रहभन्दा निश्चित नै रुपमा सानो हुन्छ । सानो बस्तुको तुलनामा ठूलो बस्तुको गुरुत्वाकर्षण बल बढी हुने गर्छ । त्यही कारण नै सानो बस्तुले ठूलो बस्तुलाई फन्को मार्ने काम गर्छ । त्यसो त तुलना गरेर हेर्ने हो भने कतिपय ग्रहहरुको उपग्रह अरु ग्रहको तुलनामा ठूलो पनि रहेका छन् । हाम्रो सौर्यमण्डलमा पृथ्वीको उपग्रह चन्द्रमा लगायत सातवटा उपग्रहहरु पहिलेका ग्रह अहिलेका फुच्चेग्रह प्लुटो (यम)भन्दा पनि आकारमा ठूलो छ । जुपिटर (बृहस्पति)को उपग्रह गानिमेडे र शनिको टाइटन उपग्रहहरु हाम्रो सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुधभन्दा पनि ठूला छन् । हाम्रो चन्द्रमा, जुपिटरको कालिस्टो, लो र युरोपा अनि नेप्च्यूनको ट्रिटोन प्लुटोभन्दा ठूलो तर बुधभन्दा सानो छ ।

सबैभन्दा ठूलो उपग्रह

सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह बृहस्पतिको गानिमेडे हो । यसको गोलाइ ३२७० माइल अर्थात् ५,२६८ किलोमिटर छ । गानिमेडेको मध्यभाग (Core) मा चट्टान, बीच भाग (Mantle) मा पानी र बरफ र बाहिरी भाग (Crust) मा चट्टान र बरफ छ । यस उपग्रहमा पर्वतहरु, उपत्यकारहरु, क्रेटरहरु र लाभा बगेको पुराना खोचहरु छन् ।

सबैभन्दा छिटो घुम्ने ग्रह

सबै ग्रहहरुले सूर्यलाई घुम्ने गर्छ । ग्रहहरुले सूर्यलाई घुम्ने मात्र हैन, आफैं फन्को मार्ने काम पनि गर्छ । ग्रहहरु आफैंले फन्को मार्ने कारण नै ग्रहहरुमा रात र दिन पनि हुने गर्छ । तर सबै ग्रहले एकनासको गतिले आफैं फन्को मार्ने काम चाहिँ हुँदैन । कोही ग्रहले चाँडो फन्को मार्छ भने कोहीले ढिलो । हाम्रो सौर्यमण्डलमा सबैभन्दा चाँडो फन्को मार्ने ग्रह चाहिँ जुपिटर अर्थात् बृहस्पति नै हो ।

हाम्रो ग्रह पृथ्वीले आफैंमा एक फन्को मार्नको लागि करीब २४ घण्टा समय लगाउने गर्छ । तर बृहस्पतिले त्यसको आधाभन्दा पनि कम अर्थात् औसत रुपमा १० घण्टा मात्र लगाउने गर्छ । बृहस्पतिको ठूलो साइजको तुलनामा यसको घुम्ने यो गति अति छिटो हो । यसरी चाँडो एक फन्को लगाउने हुनाले बृहस्पतिमा दिन र रात पनि चाँचाँडो हुने गर्छ । अर्को शब्दमा भन्ने हो भने, सौर्यमण्डलमा सबैभन्दा छोटो दिन र छोटो रात बृहस्पतिमा नै हुन्छ ।

बृहस्पति ग्याँसयुक्त ग्रह हो । त्यसैले यो अरु ठोस ग्रहहरु जस्तो एकनासले घुम्ने गर्दैन । बृहस्पतिको भूमध्य भाग (Equator)  त्यसको धु्रवीय भाग (तल र माथिल्लो भाग) भन्दा अलि छिटो घुम्ने गर्छ । बृहस्पतिको भूमध्य भागको घुमाइको गति प्रतिघण्टा ४३००० किलोमिटर हुने गर्छ । यसरी एकनासले सबै ठाउँमा नघुम्ने हुनाले बृहस्पतिको ध्रुवीय भागमा एक दिन बराबर ९ घण्टा ५६ मिनेट हुन्छ भने भूमध्य भागमा चाहिँ ९ घण्टा ५० मिनेट ।

कुन ग्रहमा सबैभन्दा तीब्र हावा चल्छ ?

हावाको कुरा गर्नेबित्तिकै हामी वायुमण्डल सम्झने गर्छौं । हामीमध्ये धेरैलाई लाग्न सक्छ, पृथ्वीमा मात्रै वायुमण्डल छ, अरु ग्रहहरुमा छैन । तर यो कुरा सत्य होइन । अरु कतिपय ग्रहहरुमा पनि वायुमण्डल छ । फरक यति मात्रै हो, ती ग्रहहरुको वायुमण्डल र पृथ्वीको वायुमण्डल चाहिँ एकैखालका छैनन् । अलि फरक फरक खालका छन् ।

हाम्रो सौर्यमण्डलमा सबैभन्दा बढी तीब्र हावा चल्ने ग्रह नेप्च्यून हो । नेप्च्यूनको वायुमण्डलमा मिथेन ग्याँस अति धेरै छ । सूर्यबाट नेप्च्यून धेरै टाढा रहेकोले त्यहाँ पर्याप्त मात्रामा तातो पुग्न पाउँदैन । त्यसैले त्यहाँ मिथेन ग्याँसको रुपमा हैन, जमेको रुपमा हुन्छ । त्यही जमेको मिथेन ग्याँस प्रतिघण्टा २ हजार किलोमिटरको गतिले त्यहाँको वायुमण्डलमा हुइँकिइरहेको हुन्छ । यो गति भनेको पृथ्वीमा अमेरिकी वायुसेनाको  F/A-18 Hornet fighter jet    को गति जत्तिकै हो । पृथ्वीमा चल्ने सबैभन्दा तेजिलो हावाको गति चाहिँ प्रतिघण्टा ४०० किलोमिटर जति मात्रै हुन्छ । यस हिसाबले यहाँको तुलनामा नेप्च्यूनमा ५ गुना बेसी तेजले हावा चल्ने गर्छ ।

सौर्यमण्डलको सबैभन्दा अग्लो पर्वत कुन हो ?

पृथ्वीमा सबैभन्दा अग्लो पर्वत सगरमाथा हो भन्ने कुरा पढेलेखेका सबैलाई थाहा छ । तर सौर्यमण्डलकै कुरा गर्ने हो भने चाहिँ सबैभन्दा अग्लो पर्वत सगरमाथा होइन । सौर्यमण्डलकै सबैन्दा अग्लो पर्वत र ज्वालामुखीको दर्जा मंगलग्रहको ओलम्पस मोन्स (Olympus Mons) लाई प्राप्त छ । यसको उचाई १६ माइल अर्थात् २४ किलोमिटर छ । यो भनेको सगरमाथाको उचाईभन्दा तीनगुना बेसी हो । फेरि यो ३४० माइल अर्थात् ५५० किलोमिटर चौडा पनि छ । यो भनेको अमेरिकाको हवाई द्वीपसमूहभन्दा पनि बढी ठूलो हो । अति चौडा रुपमा फैलिएको यो पर्वत २ देखि ५ डिग्री झुकेको छ । यो पर्वत निभेको ज्वालामुखी हो, जुन लाभाको विस्फोटनबाट बनेको छ ।

ग्रहका रंग थरि थरिका

सबै ग्रहका रंगहरु एकैथरिका छैनन् । फरक फरक देखिन्छन् । यसरी ग्रहहरु फरक फरक रंगको देखिनुको कारण चाहिँ तिनीहरुहरुको बनौट र तिनका सतहले सूर्यको प्रकाशलाई सोस्ने र फर्काउने कुरामा निर्भर गर्दछ ।

बुधको रंग गाढा खराने रंगको छ । बुधको सतह चट्टाने छ र यो धूलोको बाक्लो पत्रले ढाकिएको छ । यसको सतह इग्नियोस सिलिकेट (igneous silicate) को चट्टान र धूलोले बनेको विश्वास गरिएको छ ।

शुक्रको वायुमण्डल पूरे कार्बन डाइअक्साइडले ढाकिएको छ भने त्यहाँको वायुमण्डलमा सल्फ्यूरिक एसिडको बादल छ । त्यसैले त्यस ग्रहको रंग पहेंलो देखिन्छ ।

पृथ्वीको रंग सागर महासागरका कारण निलो, बादलका कारण सेतो, सतहका बनजंगलका कारण हरियो र जमिनका कारण खैरो रंगको देखिन्छ ।

मंगल ग्रह आइरन अक्साइड अर्थात् खियाको मिहिन धुलोले ढाकिएको छ । त्यसैले यसको रंग सुन्तले देखिन्छ ।

ग्याँस पिण्डको रुपमा रहेको बृहस्पतिको वायुमण्डलको ठूलो हिस्सा हाइड्रोजन र हिलियम ग्याँसले भरिएको छ । त्यसको साथै त्यहाँ पानीका थोपाहरु, बरफका क्रिस्टलहरु, एमोनिया क्रिस्टल र अरु तत्त्वहरु पाइन्छ । यी तत्त्वहरुको मिश्रणले बृहस्पतिको रंग सेतो, सुन्तले, खैरो र रातोको सम्मिश्रण देखिन्छ ।

शनि पनि अर्को ग्याँसको गोलायुक्त ग्रह हो । यसको बाहिरी वायुमण्डलमा मुख्यतः हाइड्रोजन र हिलियम ग्याँस रहेको छ । त्यसबाहेक, त्यहाँको वायुमण्डलमा एमोनिया, फोस्फिन, पानीका वाफ र हाइड्रोकार्बनहरु पनि केही मात्रामा रहेका छन् । यी सबै कुराहरुको मिश्रणले शनिको रंग पहेंलो खैरो देखिन्छ ।

अरुण (युरेनस) पनि धेरै मात्रामा मिथेन ग्याँस भएको ग्रह हो । त्यसका साथै त्यहाँको वायुमण्डलमा हाइड्रोजन र हिलियम ग्याँस पनि रहेको छ । मिथेन ग्याँसको कारण युरेनसको रंग हरियो मिसिएको निलो रंगको देखिन्छ ।

बरुण (नेप्च्यून) ग्रहमा पनि बढी मात्रामा मिथेन नै पाइन्छ । त्यसका साथै त्यहाँ पनि हाइड्रोजन र हिलियम पनि पाइन्छ । यस ग्रहको रंग निलो देखिन्छ ।

खगोल यात्राको यो श्रृङ्खलाअन्तर्गत हामी आगामी लेखमा हाम्रो सौर्यमण्डलका मुली सूर्यको बारेमा चर्चा गर्नेछौं ।

सबै तस्विरहरुः गुगल सर्च

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ