शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले भने, ‘चोभारमा अब चीन र भारतका रेलले ल्याउने सामानको भण्डारण हुन्छ’

बिहीबार, ०३ माघ २०७५, १५ : ३७
बिहीबार, ०३ माघ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चौभारमा बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताएका छन् । किर्तिपुर नगरपालिकास्थित चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्दै प्रधनमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए । 

प्रधानमन्त्री ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक बर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए । ‘संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ’ प्रधानमन्त्री ओलीले भने । 

बन्दरगाह निर्माणले स्थानीयवासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताए । ‘यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ । यातायातले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ’ प्रधानमन्त्री ओलीले भने, ‘स्थानीयवासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस् । सरकारले सकारात्मक ढंगले लिनेछ’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरेका छन् । ‘तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस् । गुणस्तरमा सम्झौता नगर्नुहोस्’ प्रधानमन्त्री ओलीले भने । बन्दरगाहा १ अर्ब, ४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप