शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको सांस्कृतिक शून्यचेत

बिहीबार, ०३ माघ २०७५, १२ : ४३
बिहीबार, ०३ माघ २०७५

२०६२÷०६३ पछि नेपाल गणतान्त्रिक युगमा प्रवेश गरे पनि हालसम्म पनि देशमा सामन्तवादी संस्कृतिको रजगज राजनीति तथा कला साहित्यका आदि केन्द्र  भागमा नै पाइन्छ । 

कार्लमाक्र्सका अनुसार हरेक युगमा शासक वर्गका विचार प्रभावी हुन्छन्, बुद्धि र बौद्धिक शक्ति पनि उसैको हुन्छ । 

यस्तै कुप्रभावका वाहक कथित केही बुद्धिजीवीहरू जन्मँदै जर्नेललाई जम्लाहात जोड्छन् तर कर्मशील तथा  जनअनुमोदित महामहिम राष्ट्रपति  विद्या भण्डारीलाई  महिलाका नजरियाले हेरेर हेप्न खोज्छन् र आफ्नै आमा विधवा भएको बिर्सिएर धारे हात लगाउँछन् ।

नेपाली काङ्ग्रेस सम्बद्ध नेता तथा सर्जक कुनै पनि विषय र सन्दर्भको मन्तव्यका क्रममा बीपी कोइरालालाई सिरानी हालेर विचार प्रवाह गर्छन् तर यता नेकपाका नेता र सर्जकहरू छँदाखाँदाको सम्मानित सिरानीलाई सरापेर कुरा सुरु गर्छन् ।   

वर्ग पक्षधर मानिनेहरू वर्ग स्खलित लाग्छन् भने सामन्तवादी तथा पुँजीवादीहरू शक्ति, व्यक्ति र समुदायहरू आपसी वैमनश्य थाँती राखेर आर्थिक तथा सांस्कृतिक आदि पक्षधरतामा चट्टानी अडान लिन्छन् ।
यसरी सदियौँदेखिको सामन्तवादी विचार, चिन्तन जस्ता आत्मिक संस्कृतिको परोक्ष प्रभाव नेकपाका अधिकांश नेताहरूमा पनि  पाइन्छ । 

पठन संस्कृतिका एक उदाहरणीय शीर्षस्थ महान् नेता माओ आफैले पनि पुराना विचारहरू परित्याग गर्न खोज्दा पनि केही जीवनपर्यन्त बाँकी रहेको बताएका छन् । उनका अनुसार  पुराना विचारधाराका अवशेषहरू धेरै दिनसम्म रहिरहने मात्र होइन, ती सजिलै मेटिँदैनन् । 

शरीर र वस्त्रमा लागेको फोहोरमैला साबुन तथा सरफले धोएर जान्छ तर मनको मैलो सफा गर्न हर्दम कला, साहित्य, शिक्षा, संस्कृति, गीत र सङ्गीतको श्रवण, अध्ययन र  पूर्ण अनुराग अपरिहार्य हुन्छ  । 

कला साहित्य  नै मनको मैलो सफा गर्ने अद्भूत साबुन हो । तर प्रसिद्ध समालोचक निनु चापागाईंका अनुसार नेकपाका उपल्ला तहका कतिपय नेतामा  उपर्युक्त खालको पठन संस्कृति शून्य रहेको कटु यथार्थ हालै पोखरामा सम्पन्न लिटिररी फेस्टिबलमा नेकपाका नेताका अगाडि नेका नेता गगन थापाको प्रस्तुति  प्रभावी हुँदा थाहा भयो  । 

नेकपाका अधिकांश नेताहरूलाई समाजवाद उन्मुख होइन प्रगतिशील संस्कृति निर्माण नै  कसरी गर्न सकिन्छ भन्ने सामान्य ज्ञान हुँदो हो त तिनले आफ्नो अन्तरवार्ता, लेख र परिसंवाद कार्यक्रमका प्रारम्भमा नै पार्टी र सरकारका सकारात्मक कामहरू जोणकोण मिलाएर प्रभावशाली रूपमा राख्थे होलान् र आम जनतालाई उत्साहित गर्थे होलान्  तर तिनले सुरुमै निराशा प्रवाह गरेर आफ्नै समेत बेइज्जत गरिरहेका छन् । 

सञ्चारमन्त्रीले एक अन्तरवार्तामा १९ करोड विनियोजित आयोजनामा २१ करोड घोटाला भएको समाचार प्रकाशित गरिएको बताएका थिए । सिस्नु पानी नेपालले नेपालका मिडिया विदेशीका गुडिया भनेझैँ गोयवल्स प्रचारले सचेत व्यक्तिहरू नै गुमराह पारिँदा अवस्था नाजुक हुनसक्नभ देखिन्छ । 

नेताहरूले सत्य कुरा पनि बारबार र हजार बार उल्लेख गर्दा मात्र जनमनमा त्यसको गहिरो प्रभाव पर्ने मात्र होइन यसले  समय क्रममा संस्कृृतिको स्वरूप ग्रहण गर्छ भन्ने बुझ्नुपर्छ । 

यस लेखकका चिरपरिचित धन र मान मोहग्रस्त भरतमोहन  अधिकारीजस्ता नेता  नै सारसउँदो अवस्थामा मात्र होइन, अस्पतालको शय्याबाट समेत ओली सरकारविरुद्ध अफबाह अलापेर कुरूप संस्कृतिकै पक्षपोषण गरिरहेका छन् । 

नेपालको संविधानले सामन्ती, निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पसहित लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्र हितलाई सर्वोपरि मानेको देखिन्छ । तर सांस्कृतिक, वैचारिक दिशा र दृष्टि तदनुसार उन्मुख भएको देखिँदैन । 

अझै पनि नेपाली तमाम विद्युतीय तथा छापा मिडियाहरूमा सदियौँ पुरानु सामन्तवादी धार्मिक, सांस्कृतिक अत्यन्त जड चेत, चिन्तन  र चरित्रलाई अहोरात्र अत्यन्त कलात्मक तथा सङ्गीतात्मक  शैलीमा प्रवाह गरेर जन मानसलाई भ्रमित पारिएको  देखिन्छ ।

 आध्यात्मिक, धार्मिक, देवी द्यौता तथा चाडपर्वहरूमा निहित जीवन जगत्का ऐतिहासिक  बहुआयामिक  सत्य तथ्य   उत्खनन तथा उजागर गरेदेखि समाजमा व्याप्त सबै खालका चरम अन्धविश्वासबाट समाज क्रमशः मुक्त हुनसक्थ्यो । 

पाथीभरा, दन्तकाली आदि मातृशक्ति  हुन् तर अहिले पनि मठमन्दिरमा  त्यससम्बन्धी सत्यतथ्य सामान्य पर्चा, पुस्तिकाका माध्यमबाट पनि प्रवाह हुन नसक्दा समाज  भाग्यवाद र पुर्पुरोवादको शिकार भइरहने अवस्था आउने थिएन । 

सर्वभूतेषु आत्मवत् सम्पूर्ण प्राणी जगत्लाई आफ्नो आत्मासरह मान भन्ने जस्ता उच्च उदात्त सनातन धर्म संस्कृतिका आधारमा तामाम धर्म ग्रन्थ, पुराण तथा जन्मदेखिका सबै संस्कार विधि र पद्धितिको नवीन भाष्यबिना संस्कृतिमा गुणात्मक रूपान्तरण असम्भव देखिन्छ । 

 याज्ञवल्क्य स्मृतिको १ अध्यायको नवौँ श्लोकमा जन्मदेखि मृत्युसम्मका संस्कार विधिका बारेमा तद्विषयक विद्वान् र विज्ञहरूले आपसी छलफल गरेर विधि र पद्धति निर्माण गर्न सकिने  कुरा उल्लेख गरिएको देखिन्छ । 

त्यसैगरी गरुड पुराणको १२ अध्यायको २३ श्लोकमा राजा, अग्निहोत्री ब्राह्मण, ब्रह्मनिष्ठ सन्यासीलाई जुठो सुतक लाग्दैन भनेर त्यतिबेलै व्यावहारिक विकल्पहरू सुझाएको पछि त्यसैका सामयिक र सरल विकल्प उपयोगमा ल्याउन सकिन्छ भन्ने कुरा कहिले र कसले बुझ्ने ?

संविधानको भाग ४ को   धारा ५१ को ग को ५ मा धर्म, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने उद्घोष पनि गरिएको छ । तर हर क्षेत्रमा विभेद तथा शोषण र  उत्पीडनका सारतत्वहरू व्याप्त रहेको छ । यसलाई निस्तेज गर्ने नीति, विधि र पद्धति सुरु गर्ने सोच अझै नभएझैँ लाग्छ ।   

क्रिया कर्मका १३ दिनमध्ये कुनै एक दिन मृत व्यक्तित्वलाई श्रद्धाञ्जली अर्पण कार्यक्रम जुराएर संस्कार  विषयक ऐतिहासिक तथा परिवर्तित विधि र पद्धतिका बारेमा सविस्तार विचार विमर्श गर्दै व्यावहारिक रूपान्तरणलाई सहज बनाउन सकिन्थ्यो । यस्ता विषयमा सम्बन्धित मोर्चा र निकाय किन मौन ?

 सांस्कृतिक रूपान्तरण समाजलाई गुणात्मक रूपमा परिवर्तन गर्ने सर्वोपरि महत्त्वको विषय हो । परिवर्तित राजनीतिक शासन व्यवस्थालाई सुदृढ र समुन्नत बनाउन तदनुसारको सांस्कृतिक जगको निर्माणबिना प्राप्त सरकार र सत्ता  रुसमा झैँ  तासको घर हुन्छ । 

भौतिक आन्दोलनबाट सामन्तवाद वा राजतन्त्रका स्थानमा गणतन्त्र आउँछ वा ल्याइन्छ तर समाजको अन्तरमन वा आत्मामा जब्बर बनेर बसेको समान्ती संस्कृतिलाई घटाउन र हटाउन त्यति सजिलो छैन । 

सामाजिक परिवर्तनपछि पनि लामो समयसम्म  सामन्तवादी  सोच, समझ, सिर्जना जस्ता आत्मिक संस्कृतिले जकडिएको समाजलाई मुक्त नगरेसम्म परिवर्तित राजनीतिक परिपाटी स्थापित तथा सुदृढ हुन सक्तैन । 

त्यसैले जननेता मदन भण्डारीले गणतन्त्रको प्राप्ति वा उपलब्धिलाई अधिरचना वा उपरिसंरचनामा आएको परिवर्तन ठहर गरेका हुन्  । उपरिसंरचना परिवर्तन हुने बित्तिकै रातारात आधारमा परिवर्तन  हुँदैन । तरकारी तथा फलफूल क्षेत्रका बिचौलियाले नै सरकारलाई हैनार पारेको यथार्थबाट यो कुरा बुझ्न सकिन्छ  ।  

भण्डारीका अनुसार गणतन्त्र र तदनुसार निर्मित  संविधानका आधारमा मात्र रातारात नयाँ जनवाद वा बहुदलीय जनवादका सबै कार्यभार पूरा हुँदैनन् । 

उनका अनुसार यो अवस्था राजनीतिक कार्यभार समेत पूरा भएको तर यही कार्यभार पनि सबल र सुदृढ भएको अवस्था होइन । यसलाई एक्काइसौँ शताब्दीको समाजवादमा समेत उल्लेख गरिएको देखिन्छ ।  

त्यसैले भण्डारीले यस्तो अवस्थामा पुरानो व्यवस्थाका सांस्कृतिक, आर्थिक तथा विकास निर्माणात्मक सबै अवशेषहरू समाप्त गर्ने अवधिलाई पहिलो अवधि हो भनेका हुन् ।

यस खालको पछौटे चेत, चिन्तन र चिन्तकले समाजको अग्रगमन गर्ने सोच नै राख्तैन । पश्चगामी, परिवारवादी र व्यक्तिवादी सरकार, सत्ता, सत्ता र संयन्त्रले समाजवाद उन्मुख मार्ग देख्नै सक्तैन ।   

सरकारले सामाजिक सुरक्षासम्बन्धी युगान्तर अनेक तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन देश र जनहितका कार्यक्रमहरू सुरु गरेको देखिन्छ तर तिनलाई पनि आम जनतानलाई सुसूचित हुने खालका कलात्मक सङ्गीतात्मक बान्कीहरूमार्फत् प्रवाह गर्नु अपरिहार्य  हुन्छ । 

सामन्तवाद तथा पुँजीवादले कुरूप तथा अपसंस्कृतिलाई  सुमधुर तथा मनमोहक गीत, संगीत, नृत्य र अभिनयबाट कलात्मक हस्तक्षेप गर्छ र आम जनमनमा गहिरो र दीर्घकालीन प्रभाव पार्छ । 
यसैले प्रतिक्रियावादले शिक्षा, कला, साहित्य जस्ता संस्कृति निर्माणका सर्वोपरि महत्त्वका विषयहरूमा पक्षधर विचार, दर्शन र मान्यतालाई अन्तर्घुलन गरेको हुन्छ । यसको गहिरो प्रभावका कारण जनताहरू आफ्नै विरोधी सत्ता र सरकारका खातिर  मर्नमिट्न तयार भएका हुन् । 

 प्रधानमन्त्री  ओली  व्यक्रिगत दैनिक  नित्यकर्म जस्तो गरी पार्टी र सरकार सञ्चालनका विरोधी रहेकाले विधिसम्मत रूपमा द्रुतमार्गबाट बहुआयामिक विकास गर्न सरकारले तत्परता देखिइरहेको छ ।  प्रधानमन्त्री सिर्जना र संस्कृति मैत्री रहे पनि सबैमा यस खालको उन्नत चेतको अभाव देखिन्छ । मृत्युसित पटक पटक जुध्ने र चमडी जोगाएर नेतृत्व गर्ने नेतामा आनको तान फरक हुन्छ । 

त्यसैले धेरैजसो नेताहरूमा त सांस्कृतिक चेत शून्यझैँ लाग्छ । अझ रूपान्तरण त धेरै परको कुरा भयो ।    

यही माघको १६ गतेदेखि  दमक नगरपालिकाले प्रदेश १ स्तरीय बहुआयामिक सिर्जनात्मक बाल सम्मेलन गरेजस्तै सबै गाउँ र नगरहरूमा बालसञ्जाल मार्फत् भुइँ तहदखि नै राष्ट्र, राष्ट्रियता, इमानदारिता र नैतिकताको जग बलियो बनाउने कामको परिणाम फलदायी हुन्छ  ।

  चीनको राष्ट्रिय इमानसहितको मलिलो  आधारभूमि तयार पार्न मन्त्री पद परित्याग गरी बालबालिका शिक्षालाई अभियानका अगुवा  कन्फ्युसियस जस्ता महान् व्यक्तित्वको योगदान रहेको देखिन्छ ।

बालबालिका तथा युवाहरूमा राष्ट्रिय भावधाराका गीत गायन प्रतियोगिताको अभियानले पनि सकारात्मक प्रभाव पार्ने छ । 

अहिले त संविधानअनुसार अनेक सामाजिक कुरूप पक्षहरूमा कलात्मक हस्तक्षेप गर्दै रूपान्तरणमा ठोस सहयोग पुर्याउने कला साहित्य र संस्कृति अपरिहार्य हुन्छ भन्ने कुरा सम्बन्धित मन्त्रालय, प्रतिष्ठान र संस्थानहरूले सोचेको छ । 

 प्रा.डा. युवराज सङ्ग्रौलाका अनुसार देशको द्रुततर विकासको तीव्र चाहना भएका सेवा निवृत्त कर्मचारी, शिक्षक तथा प्राध्यापकहरूलाई समेत यथोचित ऐच्छिक सेवाका लागि आह्वान गर्न सकिन्छ । 

विपक्षीहरूबाट पार्टी र सरकारको विरोधका आधारमा बहकिनु जरुरी छैन । तर आफै विरोधी भन्दा तीनबित्ता उफ्रिनु चाहिँ रहस्यमय छ । माओका अनुसार दुस्मनबाट हाम्रो विरोध गरिएको छ भने त्यो राम्रो कुरा हो ।

 माओले नै भनेझैँ सूचनाहरूको आदान प्रदान नगर्ने हो भने र यसमा कतिपय ब्वाइलर नेता र कार्यकर्ता चुस्त दुरुस्त  नहुने हो भने आफ्नै अगाडि खनिएको खाल्टो पनि देखिन्न  ।
कामै नदेख्ने कमरेडहरूले असरल्ल परेका काम त देख्दैनन् तर जिम्माका कामहरू पनि अधकल्चो पार्छन् ।  माओकै अनुसार  कामरेडहरू मुख्य कामलाई समाउँछन् तर बेसरी समाउँदैनन् । त्यसो हुँदा काम सफल हुँदैन । 

बल्ल बल्ल प्राप्त मौकालाई अत्यन्त सतर्क र सचेतताका साथ सदुपयोग नगर्ने हो भने नेकपा केही देशी र अझ पश्चिमा शक्तिको कोपभाजन नपर्ला भन्न सकिन्न । लोकप्रिय मतबाट  सरकार निर्माण गरेर देश र जनताको हितमा उल्लेख्य काम गर्र्ने  निकारागुवा र ब्राजिल जस्ता देशहरूका बामपन्थी सत्तालाई षडयन्त्रपूर्वक अपदस्थ गरिएको ताजा उदाहरण हाम्रा सामु छ । 

र नेपालमा अहिले सुरु दक्षिणपन्थी शक्तिको अप्रत्याशित तथा अघोषित निकटतालाई यसै परिप्रेक्षमा हेर्न सकिन्छ ।  

निर्वाचनबाट कम्युनिस्टहरू सरकार र सत्तामा नआउन् र आए भने तिनीहरू टिक्न नसकून् भनेर के कस्ता आन्तरिक र बाह्य विग्रह विप्लव साम्राज्यवादीले मच्चाउँछन् भन्ने कुरालाई गम्भीर रूपमा मनन गरेर सरकार र पार्टी पहिले आफूलाई नै रूपान्तरित गर्दै अगाडि बढ्न  जरुरी देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप