केन्द्रीय संस्करण

पैसा कुहिए पो भ्रष्टाचारीलाई किरा पर्छ !

person explore access_timeमाघ ३, २०७५ chat_bubble_outline0

के तपाईंलाई लाग्छ– भ्रष्टाचारीलाई किरा पर्छ ?! अहँ, नेपाल मात्रै होइन नि हजुर सारा संसार नै भ्रष्टाचारको महामारीले ग्रसित बन्दा हामी कसरी अछुतो बनौँला त । हामी त यस मामलामा बलियो बन्दै जानैपर्यो नि । नेपाल भ्रष्टचरित्रको पासोमा हिजोभन्दा अभैm बेस्सरी फस्दै छ भन्ने त्रास छैन र ? हुन त, हामी अभाव र गरिबीको मारमा फसेकै होइनौँ, मात्र कृत्रिम अभावको ज्वारभाटा मच्चाइएको हो । आजसम्म विकासोन्मुख देशकै दर्जामा हलो अड्काएर अस्थिर सरकार र अदूरदर्शी नेतृत्व, भ्रष्टाचारको प्रहार, अठोटरहित योजना तथा कार्यान्वयनभित्रको गुमराहले सोला हानिरहेकै छ । यता, आयल निगमको जग्गा खरिद विवाद होस् या त नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिद प्रक्रियासँगका अनियमितता प्रकरण– मुलुकमा भ्रष्टाचारको जरो नै घगडान छ ! दूरसञ्चार प्रदायक कम्पनी एनसेलले कर नतिरेका घटना, ३३ केजी सुन प्रकरण तथा ६ अर्ब घोटाला, ठेकेदार र राजनीतिका कुरामा अख्तियारको जाँगर सञ्चारका डाकसँग यसो आँखा मिच्दै हाई गर्छन् । 

सञ्चार माध्यमले कसरी सत्यता र निष्पक्षतामा रहेरबिना पूर्वाग्रह उत्रिन्छन्, त्यहाँ सुुसञ्चारका विषय पारदर्शी हुन्छन् । जनताले परिवर्तनको आभास र सुसूचित हुने अवसरको अबको मियो सञ्चार हो । तब कर्मचारीतन्त्रको पासोबाट कर छली प्रकरणमा मुछिएका साना माछादेखि ठूलाठूला ह्वेल समात्ने चिम्टा कस्तो र कत्रो होला– यसको जवाफ पारदर्शी छ त ? नेताजी भ्रमणमा सरकारी ढुकुटी रित्याउँछन् । नेता हुनु भनेको मोज लुट्नु पनि त हो, पार्टीको शक्तिमा पार्टी मनाउनु पनि हो । भन्न नसकिने तर धेरैले सोचेको मनोविज्ञानभित्र रहेको सत्य कुरा हिजो चुनावी प्रचारमा खर्चेको लाखौँको रकम असुल्ने विषय समेटिएको हुँदो हो । 

अलिकति अघिका इतिहासलाई हेर्नुहोस्– राजदरबार हत्याकाण्ड अमुक, मदन–आश्रितको हत्यारा अमुक, द्वन्द्वपीडित र बेपत्ता परिवारका पीडा उस्तै अमुक अनि आज आएर अब सुशासनको ढोल कसरी बज्छ ? यसमा दोषी वर्तमान सरकार मात्रै हो भन्ने लाञ्छना भिराउनु पनि पूर्वाग्रही हुन्छ । हरेक नेतृत्व र सरोकार किन मुख खोल्दैन अनि फेरि जनता र जवाफदेहिताका कुरा कहाँ जनप्रेमी बन्छ ? घुस्याहा चरित्र कति भयानक हुन्छ, त्यो यस्तै इतिहासले छोप्दै र ढाक्दै आएका तीता विडम्बना हुन् । घुस चारित्रिक, आर्थिक, मनोवैज्ञानिक या त हिंसाजन्य हुन्छ । तब मान्छे द्रव्यपिशाच बन्छ । किरा कसरी पर्छ, पैसा त पानीमा नहाली राम्रोसँग कुहिँदैन ।

सन् २०१८ को तथ्याङ्कले फिनल्यान्डलाई सबैभन्दा बढी खुसी हुने देशको रूपमा देखायो । साथमा डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वेआदि अग्र स्थानमा रहेका छन् किनकि तिनले भ्रष्टाचार नियन्त्रणका कुरै गर्नुपर्दैन, मात्र आर्थिक आयको चलायमान हुने गरी सरकारी सेवामा जनतालाई खुसी राखेका छन् । भ्रष्ट चरित्रको प्रपञ्चमा सोझाले झमेला व्यहोर्छन् । निरिहको श्रमलाई आफ्नो स्वार्थको जाल फिँजाएर जानाजान या त ओहोदा र अहम्को बुई चढ्नेहरूले भ्रष्टाचार गर्छन् ।

जनतालाई महँगीको पहाड बोकाएर आपूm अलेसान महलमा मग्न बनिरहँदा न्यायको मन्दिरमा शैतानले रडाको मच्चाउँछ । त्रासको बर्को ओढेर मुर्दाघरमा जबर्जस्ती कुरुवा बस्नुपर्दा सेवाग्राहीले शोषण र अत्याचारको चक्रव्युहमा फस्न विवस बनिरहनुपर्छ । मुलुकले समृद्ध नेपाल ः सुखी नेपालीका नारामा सामाजिक सुरक्षाका कन्दराभित्र करतन्त्रको सिकार बोक्दै दगुरेको देखिन्छ । सिंहदरबारको सिंह ग्रामीण बस्तीमा गर्जँदा जनताजनार्दनको मनमा सङ्क्रमणको आवाज, द्वन्द्वको दाग, भूकम्पको धङधङेले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा सङ्घीय व्यवस्थामा हात लागे शून्य त घोकाउँदै छैन ? सरकारी, गैरसरकारी या त निजी निकायमा अनेकौँ जुक्तिका चङ्गुलबाट भ्रष्टाचार मौलाउँदो छ । स्थानीय नेतृत्वदेखि केन्द्रसम्म हिजोको चुनावी खर्च असुल्ने ध्याउन्नमा, नातावाद कृपावादको भनसुने शैलीबाट प्रायः सरकारी निकाय स्वच्छताको घेराभन्दा माथि उठ्न चाहेकै लाग्दैनन् । आज बढिरहेका खाने मुखहरूले आँ गरेर सल्बलाइरहँदा देशको ढुकुटी साँच्चै विकासको वृक्षमा प्रयोगशील बन्ला त !?

बीबीसी समाचारमा बताएअनुसार ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०१६ मा सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा नेपाल २९ अङ्कसहित १३१औँ स्थानमा रहेको बताएको बुझिएको छ । उक्त निकायले ४० भन्दा कम अङ्क ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गरेको पाइन्छ । यसमध्ये सन् २०१७ मा ९ स्थान माथि उक्लेर नेपाल ३१ अङ्कसहित १८० वटा देशमध्ये १२२औँ स्थानमा उक्लिएको तथ्याङ्क छ । तर सन् २०१३ मा नेपाल ३१ अङ्कसहित नै १ सय १६ औँ स्थानमा थियो । नेपालको भ्रष्टाचारको जरो बनेको राजनीतिभित्रको खुलेआम भागवण्डे संस्कारभित्र सुधारको बाजा पनि त बेमौसमी छ । अक्षम कर्मचारीलाई नातावादले काखी च्यापेर माथि पुर्याउँदा देशले लगानी, प्रक्रिया र प्रतिफलमै भ्रष्टाचार नियन्त्रणको मार्गमा काँडेतार बेरेको विडम्बना छ । तब विकास र विनास– सँगै दगुर्छन्, कलियुगमा जित त असत्यकै हुन्छ । सत्य तीतो हुन्छ, जनतालाई सास्ती दिएका सबै कुण्ठा बजारमा व्याप्त हुँदैनन् । 

अत्याधुनिक विकासका कुरा, सेवा सुविधाका बाटामा, सिन्डिकेट पद्धतिको जञ्जिरले सर्वसाधारणको स्वतन्त्र र स्वच्छ कर्म गर्ने आशा मर्छ, न्यायको डोरोमा ग्रहण लाग्छ । सरकार भ्रष्ट हो या भ्रष्टाचार नियन्त्रक भन्ने प्रश्नमा समस्या घट्यो या बढ्यो भन्नुभन्दा जनताले सुखसुविधाको उपभोग गर्ने रणनीति सरकारको नजरमा बढ्दै छ या घट्दै छ भन्नुपर्ने पनि त रहेछ । देशका होनहार प्रतिभालाई कथित मुठ्ठीभरका व्यक्तिले पलायन हुन विवस बनाउँछन्, तब पावन श्रीखण्डको उद्यानभित्र केवल टट्टीको दुर्गन्ध पैmलिन्छ । जनताले अनावश्यक हैरानी व्यहोर्दा पनि चुपचाप सहनुपर्छ । कर्मको नैतिक बन्धनभित्रको मुकपीडामा जलिरहनुपर्छ ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ र २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठनको व्यवस्था गर्ने तथा आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था उल्लेख छ । भ्रष्टाचार निवारण ऐनको ठेलीलाई बेलाबेलामा सफा गर्न नसक्दा नै माकुराको जालोसँगै मक्काएको पनि हुन सक्छ । हुन त नैतिक मूल्य भएकाले कानुनी मूल्यको आडमा बाँधिनै पर्दैन । कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ भनी संविधानले पनि तोक लगाएकै छ ।

कोही गलगिज्ज खाने, फोहोरदानीमा कुहाएर फाल्ने कोही पापी पेट भर्न नसकेर तड्पीतड्पी मर्नुपर्ने बाध्यतालाई केवल भ्रष्टाचारले बुई बोकाएको हो । हुँदा खाने र हुने खानेका खाडलभित्र फसेर मानवता, नैतिकता, आदर्शता, कर्तव्यबोधमा धमिरा लाग्दा आज मुलुक कछुवाकै तालमा छ । काँचो धागोलाई फलामको दाम्लो हो भन्दै रटाइएका परम्परालाई तोडेमा हाम्रो संस्कृति लोप हुने भय पनि होला ! ‘निरिहलाई बाँध्ने कानुन– घुसखोरीले जानून्’ भन्ने हेपाहा शैलीभित्र शोषक नै पानीमुनिको ओभानो भएर डुक्रन्छ । सुकुम्बासी समूहका नेतृत्व सम्हाल्ने सुटेडबुटेड लिडरले पाँचतारे होटलमा दुईचार रात बिताएर गफ गर्दा, हेलिकप्टर चढेर चुनावमा भोट माग्दा पनि जनताका लेबीको रकम अर्थात् ९६ वर्षका वृद्ध रामबहादुरले पुसको चिसोमा आकाशको छानोमुनि रात बिताएका आजकै यथार्थ कहाँ पेचिला बन्लान् । 

सामान्य मान्छे कतिपय अवस्थामा बेकसुर हुँदा पनि कसुरदार हुन्छ तर उपल्ला स्थानको आसनमा बसेर पैसाको बिटोले मानवता बेच्ने मस्तिष्कले कर्तव्यलाई कठपुतली बनाउँछन् । कानुनलाई पञ्जामा राखेर घुमाउँदा विकास निर्माणका हरेक जगमा, ठेक्कापट्टामा देखादेखि भ्रष्टाचार मच्चिन्छ तर किरा पर्दैन, अचम्म छ । सेवाग्राही बिचरा बाध्य बन्दा पसिना सुम्पन विवस बन्छन् । के गर्नु काम गर्नुपरेको हुन्छ । कत्रो पीडा– कसुरदारलाई अनुगमन र दण्डित गर्ने हरेक जाँगरलाई सञ्चार माध्यमले नै खोतल्नुपर्ने प्राचीन रीतलाई आजसम्मका कुनै तन्त्रका मन्त्रले तोड्लान् जस्तो लाग्दैन । 

भ्रष्टाचारको रूप कहाँ मेकअप गरेर कोरीबाटी देखिन्छ र ? संवैधानिक निकाय पार्टीको आडमा खुट्टा कमाएर चल्छ, न्यायालयको तराजुमा नेपथ्यका सत्ता र शक्ति कति गहकिलो छ ? राजनीति दलको सदस्यता लिएर तिनको झोले नबनेका जनताले आज नुनतेलको जोहो गर्दा काँप्नुपर्छ । शिक्षालाई सार बनाएर रगटिएका जनशक्ति सीपलाई सिरानी हालेर सपनाका सहरमा हाकिम बन्छन्– हबिगतमा मनोरोगी । राज्यकोषको दुरुपयोग गरेर सुविधाभोगी सत्ताको धुरी चढ्नेहरूले देशलाई उँभो लगाउलान् त !? समाजसेवाको परिचयपत्र भिरेर समाजवादको भाषणमा डुक्रने थितिभित्र व्यक्तिगत गोजीनीतिको रहस्यको गुदी छ । 

शिक्षा विकासको जरो त्रि.वि.देखि हरेक विद्यालय, विद्यालय व्यवस्थापन समिति, त्यहाँका झोले शिक्षक पार्टीको भागबण्डामा चलायमान हुन्छन् । पार्टीको धम्कीमा विद्यालयभित्र झण्डाको मन्त्र रटेर जागिर खान्छन् । सम्मान पाउनलाई राजनीति गर्छन्, सबल र सफल नायकको दज्र्यानी पनि पाउँछन् । विचरा पार्टीको पहुँच नभएकाहरू वर्षौँसम्म निजी विद्यालय, अफिसमा इमानदार भएर घोटिइरहन्छन् तर राज्यले तिनको श्रमलाई गलहत्याइरहन्छ अर्थात् देशका लागि ती शक्ति र बौद्धिक वर्गको क्षमता बेकम्मा र अगणनीय हो । तिनैले देशको शैक्षिक गुणस्तरलाई हेर्नुहुनेसम्मको उँचो नतिजा पस्कन योगदान गर्छन् फेरि ती निकम्मा बौद्धिक वर्ग असक्त, दुर्घटित बन्दा भिखारी नै हुन्– न संस्थाले हेर्छ न राज्यले । 

पृथ्वीनारायण शाहले दिव्योपदेशमा घुस लिने र दिने दुवैलाई दोषी भन्थे । “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावभित्र देशको समृद्धि रश्मि छ । महान् व्यक्तिले आफ्नो धन समेत समाज रूपान्तरणका लागि खर्चिए, विचार र व्यक्तित्व निर्माणार्थ अर्पिए । चाहे हामी आदर्श पुरुष रामको आदर्शता, बुद्धको त्याग र तपस्या, कविशिरोमणि लेखनाथ पौड्यालका नैतिक ज्ञान, महात्मा गान्धी, विवेकानन्द, कालिदास, नेल्सन मण्डेलासम्मलाई सोचौँ, जसले विलक्षण विचार र व्यवहारका लागि उदाहरणीय मर्मबोध गरे, गराए । ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनिरहँदा किरा चाहिँ पर्ला नपर्ला तर इतिहासले सधैँ भ्रष्ट, पथभ्रष्ट, दुष्ट चरित्रलाई धिक्कारिरहन्छ । जीवनको सुख परिश्रमको फल मीठो हुन्छ भन्ने भावमा हुन्छ । 

अर्काको पसिनालाई शोषण गरेर धन सञ्चय गर्ने मानिसलाई आदिकवि भानुभक्तले तुच्छ कर्मको द्योतक नराधम मान्छन् । महाकवि देवकोटाले सम्पत्तिलाई हातको मैलो भनेको भावभञ्जनभित्र सम्पत्ति सङ्कलनभित्र कतै, कहीँ आनन्द र शान्तिको तुष छैन । ठग्नु, लुट्नु, चोर्नु, हेप्नु, धम्क्याउनु, दादागिरी गर्नु सबै एममुष्ट धिक्कार कुकर्मका सूचीभित्र पर्छन् । अधिकार र कर्तव्यको मूल्य चुक्दा मियोबिनाको दाइँ चलिरहन्छ । गैरकानुनी हैसियत, लोभ लालचले मानिसलाई जति भए पनि पुग्दैन । पाँचतारे होटल र लजमा गफ हानेर, स्थानीय नेतृत्व सधैँ सङ्घमा बसेर भोट माग्न मात्र जाने हो भने विकास कसरी हुन्छ ? राम्रा जनप्रतिनिधि पनि आज चाहेर काम गर्न सक्दैनन् । अल्पमतमा पर्छन् । मर्यादा तोड्न नचाहने पनि बाध्यताको चङ्गुल र गुमराहको चक्रव्यूहभित्र फस्छन् । लोभीको भाँडो सधैँ थोत्रो, कुरूप र चुहिने हुन्छ । ‘बाहिर टाइ फिटिङभित्र जुम्राको मिटिङ’ भएकाहरू सबैथोक भएर पनि अभावको ढलभित्र छट्पटाउँछन् । भ्रष्टाचारीले महलमा बसेर झुप्रोमा बस्नेसँग शान्तिको भीख मागिरहनुपर्छ किनकि चोरले हात काटिएरभन्दा बढी मन फाटिएर जीवनमा दुःखी बन्नुपर्छ । 

प्रजातान्त्रिक युगमा जनता नै शासक हुन् भने कर जनताकै हो । राज्यको ढुकुटीलाई कसैले लुकेर, ठगेर अत्याचार गरे, कसैको पसिना र श्रमलाई बाध्यात्मक स्थितिमा ठगेमा त्यो कर्तुतले भावी सन्ततिसम्मलाई पोलिरहन्छ । अब कतै लुक्ने, हराउने, दबिनेभन्दा बढी पारदर्शी तथ्यमा मानिस बाठो छ । कतै न कतै, कहीँ न कहीँ गएर त रहस्य खुस्कन्छ । दुई हजारले दुई जुनीसम्म खँगारिरहन्छ । यदि ढुक्कसँग बाँच्ने रहर अपूरै हुँदा आर्यघाटमा पुगिन्छ भने त्यो जीवन नरकमा जाकिए सरह हुन्छ । यसर्थ स्वाभिमानी मान्छेले द्रव्यपिशाची बनेर पारदर्शी समाजको रङ्गमा धब्बा लगाउनु भनेको दुष्चक्रको जालोमा बेरिनु हो ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...