बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘विनाशकारी ठक्कर’ को पथमा हाम्रो आकाशगङ्गा

बिहीबार, ०३ माघ २०७५, ०४ : ३९
बिहीबार, ०३ माघ २०७५

एस्ली स्ट्रिकल्याण्ड

सिएनएन । खगोलशास्त्रीहरुले अबको ८ अर्ब वर्षपछि हाम्रो मिल्की वे आकाशगङ्गा एन्ड्रोमेडा आकाशगङ्गासँग ठोक्किने बताउँदै आएका थिए ।  तर, अहिले आएर उनीहरु अर्को ‘विनाशकारी ठक्कर’ त्योभन्दा चाँडो हुने बताउन थालेका छन् ।

द रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक नोटिसमा प्रकाशित एक अध्ययनमा ‘द लार्ज मगेलानिक क्लाउड’ र हाम्रो मिल्की वे आकाशगङ्गा अबको २ अर्ब वर्षमा एकअर्कासँग ठोक्किने बताइएको छ । 

लामो समयदेखि बाँकी रहेको यो ठक्करले गर्दा हाम्रो सौर्यमण्डललाई ‘अन्तरिक्षमा हुत्याइदिने’ सम्भावनासमेत रहेको अध्ययनमा उल्लेख छ ।

हाम्रो आकाशगङ्गालाई स–साना अन्य ‘स्याटेलाइट’ आकाशगङ्गाले चक्कर लगाउने गर्छन् । यो ‘नृत्य’ प्रायः अर्बौँ वर्षसम्म निरन्तर जारी रहन्छ । तर, कुनै बेला यसले भयानक मोड लिन पनि सक्छ । साना ‘स्याटेलाइट’ आकाशगङ्गा मिल्की वे आकाशगङ्गातर्फ मोडिन सक्छन् र एकअर्कासँग ठोक्किन सक्छन् ।

‘द लार्ज मगेलानिक क्लाउड’ ले मिल्की वे आकाशगङ्गालाई चक्कर लगाउन थालेको नयाँ–नयाँ हो । करिब १.५ अर्ब वर्ष पहिले यो हाम्रो आकाशगङ्गा छेउमा प्रवेश गरेको हो ।

अहिले यो हाम्रो आकाशगङ्गाको सबैभन्दा चम्किलो ‘स्याटेलाइट’ आकाशगङ्गा हो । यो मिल्की वेबाट १ लाख ६३ हजार प्रकाश वर्ष टाढा रहेको छ ।

यसअघि खगोलशास्त्रीहरुले ‘द लार्ज मगेलानिक क्लाउड’ शान्तरुपमा मिल्की वेको परिक्रमा गर्ने वा मिल्कीको गुरुत्वाकर्षणभन्दा टाढा भाग्ने अनुमान गरेका थिए ।

तर, नयाँ मापनले भने यो स्याटेलाइट आकाशगङ्गाले ठूलो रहस्य लुकाइराखेको पत्ता लागेको छ । खगोलशास्त्रीहरुले यसअघि अनुमान गरेकोभन्दा यसको घनत्व ठूलो रहेको खुलासा भएको छ ।

यसको अर्थ ‘द लार्ज मगेलानिक क्लाउड’ ले आफ्नो उर्जा गुमाउँदैछ जसले गर्दा यो मिल्की वे आकाशगङ्गासँग ठोक्किन आउनेछ ।

‘मिल्की वे आकाशगङ्गाले समाहित गरेर द लार्ज मगेलानिक क्लाउडको अन्त्य हुँदा हाम्रो आकाशगङ्गामा ठूलो उथुलपुथुल ल्याउनेछ । यसको केन्द्रमा रहेको ब्ल्याक होल सक्रिय बन्नेछ भने हाम्रो आकाशगङ्गा

‘एक्टिभ ग्यालेक्टिक न्युक्लियस’ वा क्वासर बन्नेछ,’ शोधकर्ता तथा डरह्याम विश्वविद्यालयका पोस्टडक्टोरल फेलो मारियस कउटनले वक्तव्यमा भनेका छन् ।

यसको अर्थ के ?

‘यो प्रक्रियाले ब्ल्याक होलको ठीक बाहिरबाट उच्च शक्ति भएको विकिरणका शक्तिशाली तरङ्गहरु सृजना गर्नेछ,’ काउटनले भनेका छन् । ‘यसले हाम्रो सौर्यमण्डललाई असर नपर्न पनि सक्छ । तर, दुई आकाशगङ्गाको ठक्करबाट पैदा हुने नतिजाबाट बच्ने सम्भावना निकै कम रहेको छ । यसको कारण हाम्रो सौर्यमण्डल मिल्की वे आकाशगङ्गाबाट धकेलिएर इन्टरस्टेलर अन्तरिक्षमा पुग्नसक्छ,’ उनको भनाई छ ।

२ अर्ब वर्ष हाम्रो लागि धेरै समय लागे पनि ब्रम्हाण्डको १३.८ अर्ब वर्षको आयुको तुलनामा निकै कम हो । हाम्रो मिल्की वे आकाशगङ्गा पनि करिब १३.५ अर्ब वर्ष पुरानो हो । 

त्यसो भए के यो आकाशगङ्गाले यसअघि पनि यस्ता ‘ग्यालेक्टिक ठक्कर’ को सामना गरेको छ त ?

‘हाम्रो विचारमा हाम्रो आकाशगङ्गाले अहिलेसमम् आफूभन्दा साना आकाशगङ्गासँग ठक्कर खाएको छ,’ अध्ययनकी सह–लेखिका तथा डरह्याम विश्वविद्यालयमा रिसर्च फलो एलिस डिसन बताउँछिन् । 

उनका अनुसार मिल्की वेले अहिलेसम्म आफ्नो आकार बराबरको आकाशगङ्गासँग ठक्कर खाएको छैन जबकी हाम्रो नजिकको आकाशगङ्गा एन्ड्रोमेडाले मिल्की वेले ‘निलेको’ साना आकाशगङ्गाको तुलनामा ३० गुणा ठूला आकाशगङ्गालाई आफूमा समाहित गरेको छ ।

‘द लार्ज मगेलानिक क्लाउड’ सँगको ठक्कर पछि हाम्रो सौर्यमण्डललाई अन्तरिक्षामा हुत्याएन भने यो प्रक्रिया पृथ्वीबाट हेर्न लायकको हुने अध्ययनकर्ता बताउँछन् । 

यस्तै भयानक प्रक्रियाहरुले नै ब्रम्हाण्डको आकार तय गरेको उनीहरुको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप