शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समृद्धिको यात्रामा धोका हुँदैन : मन्त्री बाँस्कोटा

बुधबार, ०२ माघ २०७५, २० : १३
बुधबार, ०२ माघ २०७५

सिन्धुली । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको जनमत खेर नजाने उल्लेख गर्दै समृद्धिको यात्रामा वर्तमान सरकारबाट धोका नहुने बताएका छन् । 

सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आयोजित प्रथम फिक्कल महोत्सवको आज उद्घाटन गर्दै उनले आगामी पाँच वर्षभित्र मुलक विद्युत्मा आत्मनिर्भर हुने, रेल, नेपाली झण्डासहितको पानी जहाज, इँट्टाभट्टाजस्ता साना उद्योगमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुनेलगायतका कामबाट समृद्धि हासिल हुने जनाए । 

उनले पर्यटकीय गन्तव्यको विकास, सिँचाइ, बिजुली, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिमा सुधार र रोजगारको प्रबन्ध गरेर नयाँ पुस्तालाई समृद्धि हस्तान्तरण गर्ने लक्ष्यमा वर्तमान सरकार इमानदार रुपमा लागिरहेको बताए । 

उनले भने, ‘दुई तिहाइको जनमत लिएको वर्तमान सरकारको आलोचनाका गरेर आगामी निर्वाचनमा आफ्नो दुनो सोझ्याउने सपना कसैले नदेखे हुन्छ, हामी निर्वाचनमा व्यक्त गरेका सबै प्रतिबद्धता पूरा गरेरै छाड्नेछ ।’ 

वृद्धभत्ताको निरन्तरताका साथै तलब खाने हरेक छोराछोरीले निश्चित हिस्सा बाबुआमाको सुरक्षा र संरक्षणका लागि विनियोजन गर्नुपर्ने र यसलाई स्थानीय सरकारले पनि कार्यान्वयन गर्ने प्रबन्ध केन्द्रीय सरकारले गर्ने मन्त्री बाँस्कोटाले उल्लेख गरे । 

हालसम्म १४ गर्भवतीलाई हेलिकप्टरमार्फत मृत्युको मुखबाट जोगाएको जनाउँदै नागरिको सुरक्षाका लागि सरकार जिम्मेवार रहेको उनको भनाइ थियो । 

सरकारले चीन, भारत र अमेरिकासँगको सम्बन्धमा नयाँ आयाम विकास, साना किसानको ऋण मिनाहा, वैदेशिक रोजगारमा काम गर्न कानूनी प्रतिरक्षाका लागि प्रतिव्यक्ति रु १५ लाखको व्यवस्था गरेको मन्त्री बाँस्कोटाले बताए । 

उनले आगामी जेठभित्र फिक्कलमा टेलिफोनका टावर निर्माण भई सेवा सञ्चालन गरिने र सुनकोशी विद्यालयमा प्रविधिमा आधारित अध्ययनका लागि आवश्यक कम्युटर उपलब्ध गराउने घोषणा गरे । 

कार्यक्रममा प्रतिनिधिसभा विकास समितिका सभापति कल्याणी खड्काले अहिलेको अवस्थामा पनि कतिपय जनताले सञ्चारको सुविधा नपाउनु दुःखद भएको बताइन् । सिन्धुलीका सांसद गणेश पहाडीले महोत्सवले सडक, विद्यालय, बिजुली र पर्यटन प्रवद्र्धन गर्ने बताए । 

ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले कृषि, जडीबुटी, वन र पर्यटन समृद्धिको मूल आधार भएकाले यसका लागि सबै लाग्नुपर्नेमा जोड दिए । 

महोत्सवमा चर्चित कलाकारको प्रस्तुति हुनेछ भने सिन्धुलीको फिक्कल अवलोकन, सुनकोशीका जलयात्रा, प्याराग्लाइडिङ, सिन्धुली कला घर, स्थानीय कृषि र अन्य उत्पादनको प्रदर्शनी महोत्सवका आकर्षण हुने गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए । 

करीब एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको सो महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप