मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माघ २ प्रदेश ५ हेडलाईन : कहाँ के–के भयो ?

बुधबार, ०२ माघ २०७५, १९ : १६
बुधबार, ०२ माघ २०७५

बराह क्षेत्रको संरक्षणका लागी अर्घाखाँचीमा महोत्सव

बुटवल– अर्घाखाँची जिल्लाको एकमात्र गोही पाउने ठाउँ बराहक्षेत्रको गरिमालाई राष्ट्रभर चिनाउनका लागि पहल गर्ने प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले बताएका छन् । पाचौँ बराहदह तथा माघी मेलाको अवसरमा गरिएको महोत्सवमा रायमाझीले यहाँ गोही पाइदैँन भनेर हामी भ्रममा थियौँ, तर प्रत्यक्ष गोही देखियो, अब यहाँको विकास र संरक्षणका लागी सवै लाग्छौँ रायमाझीले भने । अर्घाखाँचीको कर्णाली भनेर चिनिएको सितगंगा नगरपालिकाको विकासका लागि, लुकेर रहेको क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

उनले जिल्लाको विकास निमार्णका लागी विकासले फड्को मादैँ गइरहेको बताए । राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्जलले बराहदहमा गोही कहाँबाट आएको हो, गोही कति वर्षदेखी यहाँ बस्दै आएको छ, गोही संरक्षणका लागि विस्तृत अध्ययन गरी अगाडि बढ्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य चेतनारायण आचार्यले प्रदेश तथा राष्ट्रिय स्तरमा यहाँको पहिचानलाई चिनाउन सबै लाग्नुपर्ने बताए । उनले सितगंगा नगरपालिकालाई माथी उठाउँनका लागी प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई, कृषिको क्षेत्रमा बजेट विनियोजन गरेको बताए ।

शितगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बराहदहको संरक्षण, प्रर्बद्धनका लागी नगरपालिकाले विशेष योजना बनाएर अगाडी बढेको बताए । सयौँ बर्ष पहिलेदेखि एक गौरवमय धार्मिक इतिहास बोकेको बराहादह प्राकृतिक सम्पदाको प्रमुख स्थल पनि रहेको छ । धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचारप्रसारका लागि विगतका केही वर्षहरु देखि मेला आयोजना गर्दै आइरहेको शितगंगा ९ का वार्ड अध्यक्ष भिम केसीले बताए ।

धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् । माघे सक्रान्तिका दिन बिहानैदेखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ । यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकिय रुपमा व्यापक प्रचार–प्रसार तथा प्रवद्र्धनन गर्न भन्दै विविध कार्यक्रमको साथ यस क्षेत्रमा मेला आयोजना गर्न लागिएको बराहदह संरक्षण समितिका अध्यक्ष पदम केसीले बताए ।

अर्घाखाची जिल्लाको सितगंगा नगरपालिकाको अमराईबाट करिब ३ घण्टाको जंगलमा गाडीको यात्रा र महेन्द्र राजमार्गको धानखोलाबाट १ घण्टामा यहाँ पुग्न सकिन्छ । यहाँ टेलिफोनले काम गदैँन, क्षेत्र अत्यन्त विकट रहेको छ । रातभर मेला चल्छ ।

सैनामैनामा प्रथम नगस्तरीय खेलकुद सप्ताह सुरु              

बुटवल– रुपन्देहीको  सैनामैनामा आज  देखी नगरस्तरीय खेलकुद सप्ताह सुरु भएको छ । अतिरिक्त क्रियाकलापबाट विद्यार्थी तथा विद्यालयको सर्वाङगीण विकासका लागि सैनामैनाका १८ सामुदायिक तथा १८ संस्थागत विद्यालयका बीच एकहप्ता सम्म विविध खेलकुद सञ्चालन  भएको छ । आजको उद्घाटन खेलमा दुई खेल सम्पन्न भएका छन् ।

जसमा पर्रोहा माध्यमकि विद्यालयको खेलकुद मैदानमा भएको १५ सय मिटर मावि स्तरीय खुल्ला दौड प्रतियोगितामा प्रथम पर्रोहा माध्यामिक विद्यालयका छात्र रामकृपाल यादव, द्धितिय रामापुर माध्यमिक विद्यालयका सुरेन्द्र चौधरी र तृतीय दुर्गा सापकोटा भएका छन् ।

यस्तै, आजै भएको छेलो फाल्ने प्रतियोगितामा प्रथम मलमला माध्यमिक विद्यालयका सुशील थापा, द्धितिय पर्रोहा माध्यमकि विद्यालयका विशाल परियार र तृतीय सैनामैना मेमोरियल स्कुलका नविन विक भएका छन् भने छात्रातर्फ भएको सोही खेलमा सुनगाभा पब्लिक माध्यमिक विद्यालय प्रथम, पशुपति माध्यमिक विद्यालय द्धितीय र सालझण्डी माध्यमिक विद्यालय तृतिय भएका हुन् । खेलकुद सप्ताहको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले शैक्षिक क्षेत्रको विकाससँगै खेलकुदको रुपमा सैनामैनालाई विकास गरिने बताए ।

वनको व्यवस्थापन कुनै कानुनले बाधा पराउदैन् : मन्त्री गिरी 

बुटवल– करहिया सामुदायिक वन उपभोक्ता समूहको १९ औँ बार्षिक साधारणसभामा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले वनलाई वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले वनको वास्तविक व्यवस्थापन गर्न नसक्दा वनजन्य स्रोतको उपयोग गर्न नसकेको अब कुनै कानुनले नरोक्ने बताए ।

उनले भर्ने  हिजो जस्तो होइन अब राम्रो काम गर्नको लागि कानुनले बाधा पुर्याउँदैन । कानुन परिमार्जन गर्न सकिन्छ । उनले सही तरिकाको वन व्यवस्थापन गरी वनलाई आयआर्जको रुपमा जोड्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।

करहिया सामुदायिक वन उपोभोक्त समूह ७–९ का अध्यक्ष खेमप्रसाद गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वनलाई वैकल्पिक र आधुनिक बगैंचा, वनभोजस्थल, पार्कहरुको निर्माण हरित बगैंचा बनाउने उद्धेश्यका साथ काम गरिने बताए । उनले वनको अतिक्रमित जग्गा रोकथाम तथा नियन्त्रण गर्ने प्रयास भइरहेको बताए ।

नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियनमा नयाँ नेतृत्व

बुटवल– नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन प्रदेश न ५ को प्रथम भेला सम्पन्न भएको छ । जसले ११ सदस्यको प्रदेश कमिटी गठन गरेको छ । ट्रेड यूनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतमको आतिथ्यमा भेला सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रीय अध्यक्ष चन्द्र थापा, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय विदेश विभाग सचिव दामोदर सापकोटा, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) प्रदेश नम्बर ५ का अध्यक्ष हरि कार्की, सचिव हुमाकान्त काफ्ले, खेमराज अर्याल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन उत्तमकुमार श्रेष्ठले गरेका थिए ।

भेलाले चन्द्र मल्ल अध्यक्ष रहेको नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्ष रत्ना गिरी, सचिव  खेमराज अर्याल, सहसचिव जिवनाथ गैरे र कोषाध्यक्ष रमेश घिमिरे निर्वाचित भएका छन् त्यस्तै सदस्यहमा वसन्ती घिमिरे, देवी गोदार, आनन्द न्यौपाने, गोकर्ण शाही, झरना बुढाथोकी र गोरखनाथ यादव निर्वाचित भएका छन्  ।

रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु हुँदै

बझाङ– पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलोपटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको हो ।

दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आजदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मी लगायतका दश समूहको सहभागिता रहने संयोजक शङ्कर खाँणले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख ५० हजार, द्वितीय पुरस्कार नगद रु एक लाख र तृत्तीय पुरस्कार नगद रु ५० हजार रहेको छ । प्रतियोगिता सञ्चालनका लागि करिब रु १२ लाख बराबरको रकम लाग्ने अनुमान आयोजकको छ ।

गाउँपालिकामा पक्की सडक निर्माण शुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकामा भित्री सडक निर्माणको कामलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका–६ पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवका अनुसार नेपालगञ्ज–गुलेरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर चौडा र सातै किलोमिटर लम्बाइको पक्की भित्री सडक निर्माण गर्न लागिएको हो । ‘गाउँपालिकाको गनापुर क्षेत्रमा उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारीसाधन हिँड्न कठिनाइ हुँदै आएको छ’ अध्यक्ष यादवले भने, ‘यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधन आवागमनमा सजिलो हुनेछ ।’

गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगन्ज–कोहलपुर सडक प्रयोग गर्दै आएपनि पश्चिमतर्फ भित्री भागमा रहेका उद्योगलाई यो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ ।
सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमीन प्राप्त गरी सात मिटर चौडाइको सडक निर्माण शुरु भएको  उनले बताए ।

धार्मिक पर्यटन प्रवद्र्धन गर्दै भुवरभवानी मेला
राँझा– नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी दीपबहादुर कठायत प्रत्येक वर्ष माघ १ गते भुवरभवानी मेला पुग्ने गर्छन् ।

‘राप्ती नदीमा नुहाइधुहाइ गर्यो, अनि भुवरभवानी मन्दिरमा पूजा गरी दिनभर मेला हेरेर साँझ फर्किन्छाँै, यो हाम्रो नियमितजस्तै भएको छ ।’ कठायतले भने । बाँकेको राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी माघी मेला कठायतको जस्तै धेरै दर्शनार्थीको धार्मिक केन्द्र बनेको छ । थारू समुदायको सबैभन्दा ठूलो चाड माघीलाई लक्षित गरी प्रत्येक वर्ष आयोजना हुने मेलामा स्वदेशीलगायत भारतीय दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

भुवरभवानी मन्दिर परिसरमा हरेक वर्ष माघे सङ्क्रान्तिको अघिल्लो दिनबाट मेला सञ्चालन हुँदै आएको छ । विगतको वर्षझँै यस वर्ष पनि स्थानीय बासिन्दाको व्यवस्थापनमा मेला सञ्चालनमा ल्याइएको मेला आयोजक समितिका अध्यक्ष तुलसीराम थारूले बताए ।

‘भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ ।’  संयोजक चौधरीले भने, ‘धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।’

उनका अनुसार, २०१३ सालमा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै माघ १ गतेबाट ३ गतेसम्म विशेष पूजाआजासहितका मेला लाग्ने गरेको छ । चार दिनसम्म चल्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप