बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालले लिने ऋण सहायता बढ्यो, आइएनजिओको सहयोग घट्यो

बुधबार, ०२ माघ २०७५, १४ : २६
बुधबार, ०२ माघ २०७५

नेपालले लिने अनुदान सहायता भन्दा ऋण सहयताको रकम बढेको छ । गत आर्थिक वर्षको (२०७४÷०७५) विकास सहायता प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्रालयले ऋण सहायताको रकममा बृद्धि भएको तथ्यांक पेश गरेको छ । कुल सहायतामध्ये ऋण सहायताको अंश मात्रै ५०.५ प्रतिशत रहेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले देश सबल हुदै गएपछि ऋण सहायता रकम बढ्नु स्वभाविक भएको बताए । उनले देश सन २०२२ सम्ममा स्तरोन्नती हुने चरणमा रहेको र ऋण तिर्ने क्षमताको विकास क्रमश हुदै गरेकोले यस्तो अवस्थामा अनुदान सहायता भन्दा पनि ऋण सहायता बढ्ने गरेको उल्लेख गरे । ऋण सहायता बढ्नुलाई ऋण तिर्ने क्षमतासँग पनि हेरिने गरेको उनको तर्क छ । 

यस्तै नेपालले पाउँदै आएको वैदेशिक सहायतामा अनुदान सहायताको अंश ३५ प्रतिशत, प्राविधिक सहायताको अंश १४४ प्रतिशत रहेको छ  । यस वर्ष (२०७४/७५) करिब १ अर्ब ६२ करोड २८ लाख अमेरीकी डलर बराबरको वैदेशिक सहायता प्राप्त भएको हो । यसमध्ये ऋणको अंश आधा भन्दा बढी रहेको छ । अघिल्लो वर्ष (२०७३/७४) को तुलनामा वैदेशिक सहायता १६ प्रतिशतले बृद्धि भएको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष १ अर्ब ३९ करोड ४६ लाख अमेरीकी डलर वैदेशिक सहायता प्राप्त भएको थियो । 

यी सहायतामध्ये ७५ प्रतिशत बजेट प्रणालीबाटै खर्च भएको छ भने बाँकी २२ प्रतिशत बजेट प्रणालीभन्दा बाहिर रहेर खर्च भएको छ । परिचालि सहायता मध्ये ७२ करोड ७० लाख अमेरीकी डलर प्रत्यक्ष वा अप्रतयक्ष रुपमा लैङ्गिक सहायतासँग सम्बन्धित रहेको प्रतिवेदनले भनेको छ । 

यो प्रतिवेदन अर्थमन्त्रालयले विगत ८ वर्षदेखि वैदेशिक सहायताको पारदर्शिता बृद्धि गर्ने उदेश्यले अर्थमन्त्रालयले सार्वजनिक गर्दै आएको छ । 

बहुपक्षिय साझेदारमा विश्व बैंक अगाडी
बहुपक्षिय विकास साझेदारमध्ये विश्व बैंकले नेपालाई सबैभन्दा बढी सहायता प्रदान गरेको छ । विश्व बैंक समुहले ५३ करोड ३५ लाख डलर सहयता नेपाललाई दिएको छ । त्यसपछि एसियाली विकास बैंक रहेको छ । एडिबिले २९ करोड १७ लाख अमेरीकी डलर सहयोग गरेको छ । यता युरोपियन युनियनले ११ करोड ७८ लाख डलर, संयूक्त राष्ट्रसंघ समुहले ६ करोड ३६ लाख डलर, कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोषको १ करोड ५८ लाख अमेरीकी डलर सहायता प्रदान गरेको छ । 

यता द्विपक्षीय विकास साझेदारमा भने बेलायत अगाडी देखिएको छ । वेलायतले १२ करोड ३९ लाख अमेरीकी डलर सहायता प्रदानगरेको छ । त्यसपछि अमेरिका, जापान, चीन र भारत रहेका छन् । 

आइएनजिओको सहयोग घट्यो

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपाललाई दिदै आएको सहायता रकम उल्लेख्य घटेको छ । आव २०७४÷०७५ मा ११ करोड ३ लाख अमेरीकी डलरमात्र परिचालन भएको छ । जवकी यस अघिको वर्षमा १८ करोड ६५ लाख ३० हजार डलर आइएनजिओको पैसा परिचालन भएको थियो । यस वर्ष आर्थिक सुधारको क्षेत्रमा सहायता बढी परिचालन भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप