शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘भूकम्प सुरक्षा दिवस : नागरिकलाई सचेत गराउन दिवस’

बुधबार, ०२ माघ २०७५, १२ : २७
बुधबार, ०२ माघ २०७५

काठमाडौं– ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ प्रतिवद्ध रहेको सन्देश दिँदै २१ औं ‘भूकम्प सुरक्षा दिवस’ मनाइएको छ । 

विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस काठमाडौंलगायतका देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको हो । 
यसै अवसरमा बुधबार बिहान काठमाडौंको भूगोल पार्कस्थित ‘भूकम्प स्मारक’मा एक कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले नेपालमा पटक–पटक भूकम्प गई ठूलो धनजनको क्षति भएकाले अव त्यस्ता धनजनको क्षति हुन नदिन सबै नागरिकलाई सचेत गराउन भूकम्प सुरक्षा दिवस मनाउने गरिएको स्मरण गराए ।

उनले भूकम्पबाट हुने धनजनको क्षति हुन नदिन सरकारले कानुनी र प्राविधिक दुवै पक्षलाई सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।

भूकम्प लगायतका प्राकृतिक विपत्तिबाट धनजनको क्षति हुन नदिन संघ, प्रदेश र स्थानीय सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई छ । त्यस अवसरमा गृहमन्त्री थापाले २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका भवनहरुको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिने पनि बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट जनधनको क्षति नहुने गरी भवनहरुको निर्माण गर्न सन्देश दिने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाइएको बताए ।

उनले भूकम्पबाट पुनः क्षति व्यहोर्नु नपरोस् भनेर महानगरपालिकाले भूकम्प प्रतिरोधि भवन निर्माणका लागि अभियाननै संचालन गरिरहेको पनि बताए । 

कार्यक्रममा गृहमन्त्री थापाले ‘विपद् सम्पर्क पुस्तिका’ पनि विमोचन गरेका थिए । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पले ८ हजार ६ सय नागरिकको ज्यान लिएको थियो भने २५ हजारभन्दा बढि नागरिकका घरहरु भत्केका थिए ।

 सोही दिनको स्मरण गर्दै सरकारले २१ वर्ष अघिबाट भूकम्प सुरक्षा दिवस मनाउन सूरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप