शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्षका ड्रोन फोटोग्राफर, बिजनेस नै खडा गरेर कमाउँछन् लाखौं

बुधबार, ०२ माघ २०७५, ०८ : ४३
बुधबार, ०२ माघ २०७५

बिल कोड /बीबीसी

१३ वर्षका हडसन होर्न अष्ट्रेलियाको क्विन्सल्याण्डको सनशाइन कोस्टको चम्किलो बालुवामा ड्रोन उडाइरहेका छन् ।

उनको नजर मिनि–एयरक्राफ्टमा पनि थियो र त्योसँग जोडिएको मोनिटरमा पनि ।

मोनिटरमा कुनै उत्कृष्ट दृश्य देख्नेबित्तिकै उनी क्यामरालाई कमान्ड दिन्छन् र तस्बिर खिचिन्छन् ।

पैसा कमाउन संसारभरीका किशोर विभिन्न प्रकारको काम गर्छन् । कोही किशोर बच्चा सम्हाल्छन् । कोही घाँस काट्छन् । किरानाको सामान प्याक गरेर पनि केही किशोर पैसा कमाउँछन् ।

तर सबै किशोर मिनी–एयरक्राफ्ट बनाएर आकारशबाट फोटो खिच्दैनन् न नै उनीहरु यस्तो गरेर पैसा कमाउने बारे सोच्छन् । हडसन होर्न यस्तै काम गर्छन् । उनी १३ वर्षका ड्रोन फोटोग्राफर हुन् ।

उनीसँग हाम्रो पहिलो भेट सनसाइन कोस्टमा नै भयो । होर्नका अनुसार उनी एक ड्रोन बिजनेस चलाउँछन् जसको नाम नेक्स्ट लेवल लेन्स हो ।

अष्ट्रेलियाका ड्रोन किडः

होर्न एरियल फोटोग्राफी गर्छन् । उनलाई अष्ट्रेलियाका ड्रोन किडको रुपमा चिनिन्छ । आफ्नो आमा–बुवाको मद्दतले होर्नले ड्रोन फोटोग्राफीको व्यापार खडा गरेका हुन् ।

उनले आफ्नो शौखलाई व्यापारमा परिवर्तन गरेका हुन् र किशोर अवस्थामा नै उद्यमी बन्नतर्फ अग्रसर भए ।

होर्नका अनुसार उनी अतिरिक्त पैसा कमाउनका लागि दुई वर्षदेखि नयाँ प्रविधीको प्रयोग गरिरहेका छन् ।

गत वर्षले उनले सात हजार डलर बढी कमाएका थिए । कुनै स्कूले विद्यार्थीका लागि यो कमाई कम होइन ।

 होर्न रियल इस्टेटको फोटोग्राफी गर्छन् । उनलाई विशेष आयोजनाको फोटोग्राफीका लागि बोलाइन्छ । उनी फोटो खिच्छन्, त्यसलाई पोस्टकार्ड र प्रिन्ट बनाएर बेच्छन् ।

कहिलेकाँही उनी विवाहमा पनि ड्रोन फोटोग्राफी गर्छन् । केही प्रोजेक्ट डेभलपर र रियर इस्टेट बिल्डर पनि उनको सेवा लिन्छन् ।

होर्नले ९ वर्षको हुँदादेखि नै ड्रोन चलाउन सुरु गरेका थिए ।

 होर्नलाई त्यसअघि नै मशिनसँग प्रेम थियो । जब उनी ८ वर्षका थिए तब उनी रेडियो कन्ट्रोलकारको पार्टपुर्जा निकालेर त्यसको जाँच गर्ने गर्थे  ।

पछि ड्रोनसँग पनि उनले त्यस्तै प्रयोग गरे र त्यसबारे सिके । उनी भन्छन्, ‘मेरो रुची रोबोटिक्समा छ । यस्ता चिज कसरी चल्छन्, म त्यो बुझ्न चाहन्छु ।’

उनी ड्रोनको इन्जिन खोलेर त्यसको हरेक पुर्जाले के काम गर्छन् त्यसबारे बुझ्छन् । केही प्रयोग गर्छन् र मेसिनलाई पुनः जोड्छन् ।

आफ्नो पहिलो ड्रोनका लागि पैसा बटुल्नका लागि उनले आफ्नो सबै खेलौना बेचेका थिए । त्यति पैसाले नपुगेपछि उनले आमा–बुवासँग ऋण लिए ।

रियल इस्टेटको पहिलो कामः

एक दिन उनी समुन्द्र किनारा ड्रोन उडाउन र फोटो खिच्न अभ्यास गरिरहेका थिए । त्यहाँ उनकी आमाकी साथी आइन् जो रियल स्टेटमा एजेन्ट थिइन् । उनले होर्नलाई पहिलो काम दिलाइन् ।

रियल इस्टेट क्षेत्रमा पहिलो काम समाप्त गरेपछि उनले माझीबीच भएको प्रतिस्पर्धाको फोटोग्राफी गरे र उनीहरुको तस्बिर माझीलाई बेचे ।

यी किशोरले ६ महिनाको बिजनेस कोर्स पनि गरेका छन् जसमा उनले व्यापार र लगानीबारे सिके ।

उनी भन्छन्, ‘मैले सिकेँ कि यदि तपाईं केही नयाँ व्यापार खरिद गर्न चाहनुहुन्छ भने तपाईंले पछिल्लो लगानीको पैसा दोब्बर गर्नुपर्छ ।’

होर्नले जब व्यापार सुरु गरेका थिए तब उनी ११ वर्षका थिए । कानूनी रुपमा उनी काम गर्न सक्दैनथे त्यसकारण उनले एक फ्यामिल ट्रस्ट बनाए जसमार्फत् उनी कानूनी रुपमा आफ्नो व्यापार चलाउन सक्थे ।

पार्टपुर्जामा भविष्यः

होर्न फुर्सद हुँदा पनि ड्रोनसँग खेलिरहन्छन् । उनी भन्छन्, ‘म भिडियो गेम्स खेल्नुको साटो दिनभरी ड्रोनको पार्टपुर्जा जोड्न सक्छु ।’

होर्नका अन्य शौख पनि साधारण बच्चाहरुको भन्दा फरक छ । उनलाई पहाडमा साइकल चलाउन मनपर्छ र उनी स्कूल पनि साइकलमै जान्छन् ।

उनी भन्छन्, ‘म आफ्ना साथीहरुसँग यसबारे कुरा गर्छु । म यस्तो कसरी गर्छु भनेर उनीहरु हेर्न चाहन्छन् ।’

होर्नलाई भविष्यमा के हुन्छ, त्यसबारे थाहा छैन । तर रोबोटिक्सप्रति उनको प्रेमले नै उनको भविष्य सजाउनेछ ।

आफ्नो भविष्य ड्रोनसँग जोडिएको कुरामा भने उनी विश्वस्त छन् । उनी ड्रोन फोटोग्राफी गरेर मात्र सन्तुष्ट छैनन् । उनी एकदिन आफैंले ड्रोन बनाउने इच्छा राख्छन् ।

उनी भन्छन्, ‘यदि म यो व्यवसायबाट बाहिर भएँ भने पनि म ड्रोन बनाउन सक्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप