वाइडबडीमा माहुरी झुम्मिएपछि...
काठमाडौँ — काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्यो ।
विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको नौं नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोक्यो,’ निगम उच्च स्रोतले भन्यो, ‘त्यसपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरे।’ माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए। अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइयो।
रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एक ढिक्का भएर बसे। ग्राउन्ड ह्यान्डिलिङ्ग गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राक्ने काम सकेर कार्गो ढोका बन्द गरे। जहाजलाई पार्किङ क्षेत्रबाट ट्याक्सीवेमा पुर्याइयो। माहुरीहरू इन्जिनबाट निस्केको हावाको बेगले उड्न थाले। माहुरी भागेपछि रिमोट पार्किङमा लैजानु पर्ने झन्झट टर्यो। ‘यदि माहुरीको गोला पखेटाबाट नडेको भए जहाज समयमै उड्ने थिएन, समस्या आइपर्ने थियो,’ सम्बद्ध स्रोतले भन्यो, ‘तर पनि माहुरीकै कारण विमान ४० मिनेट ढिलो भयो।’ उक्त विमानको कमान्डर पाइलटमा एमएम डंगोल थिए।
निगमका अर्का पाइलटका अनुसार बैंङलोरमा जहाजमा माहुरी झुम्मिएको यो तेस्रो घटना हो। ‘यसअघि अन्य कम्पनीका विमानलाई माहुरीले असर पुर्याएको थियो,’ ती पाइलटले कान्तिपुरसँग भने, ‘हाम्रो विमानका लागी यो पहिलो घटना हो।’ यदि कामदारले असावधनीबस औषधि छर्केको भए त्यहाँ रहेका अन्य विमानका यात्रुलाई माहुरीले आक्रमण गर्ने सम्भावना थियो। तर, संयोगबस त्यस्तो हुन पाएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा