बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन लाख ५० हजारले महोत्सवको अवलोकन गरे

मङ्गलबार, ०१ माघ २०७५, १९ : ४५
मङ्गलबार, ०१ माघ २०७५

चितवन । नारायणी नदी किनारमा जारी चितवन महोत्सवमा ६ दिनमा तीन लाख ५० हजार दर्शकले अवलोकन गरेका छन् । 

उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले पुस २५ गतेबाट शुरु गरेको महोत्सवमा हालसम्म रु १५ करोडको कारोवार भइसकेको महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । 

उनका अनुसार, अघिल्ला महोत्सवमा भन्दा यस वर्ष दर्शक बढेका छन् । दुई वर्षअघिको महोत्सवमा छैटौँ दिनसम्ममा तीन लाख ३० हजारले अवलोकन गरेका थिए । 

गत शनिबार एकै दिन ४५ हजारले अवलोकन गरेका थिए । आज माघे सङ्क्रान्ति भएकाले सोही दिनको जति दर्शक अवलोकनका लागि महोत्सव छिर्ने अनुमान गरिएको प्रधानले बताए । 

महोत्सवमा दैनिक राष्ट्रिय कलाकार आउने भएकाले दर्शकको चाप बढिरहेको छ । महोत्सवको १२औँ संस्करणको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । माघ ४ गतेसम्म जारी रहने महोत्सवमा रु २५ करोडको कारोवार हुने अनुमान गरिएको छ । 

महोत्सव प्रदर्शन व्यवस्थापन समितिका संयोजक चुमनारायण श्रेष्ठका अनुसार चार विदेशीसहित २२ जिल्लाका प्रदर्शकहरुले स्टल राखेका छन् । महोत्सवमा ५७० स्टल छन् भने चीन, भारत, पाकिस्तान र बङ्गलादेशका स्टल पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप