बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरु जुधाएर पनि समृद्धिको ढोका खोल्न सकिन्छः कृषिमन्त्री खनाल (गोरुजुधाई कार्यक्रमका तस्बिरसहित)

मङ्गलबार, ०१ माघ २०७५, १७ : ३४
मङ्गलबार, ०१ माघ २०७५

धादिङ–कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले गोरुजुधाई कार्यक्रम पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण पक्ष भएको बताएका छन् । 

धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टे–फ्याक्सेमा माघेक्रान्तिको अवसरमा आयोजित पाँचौ गोरुजुधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले गोरु जुधाई कार्यक्रमलाई पर्यटनका विभिन्न विधामा जोडेर अघि बढाइनु सान्दर्भिक हुने बताए । 

उनले कतिपयले पशु जुधाएर मनोरञ्जन लिनु गलत भनेपनि आफूलाई त्यस्तो नलाग्ने भन्दै यस्ता संस्कृतिले विगत सम्झन र आर्थिक विकास गर्नका लागि ढोका खोल्ने धारणा राखे । 

‘कतिले पशु जुधाएर किन मनोरञ्जन लिएको भन्न सक्लान् । तर मलाई लाग्छ, केही परम्परा यस्ता छन् जसले हामीलाई अगाडि बढ्न, विगत सम्झनको लागि र आर्थिक विकास गर्नका लागि ढोका खोल्दछ । यो कार्यक्रमका लागि ऐक्यबद्धता जाहेर गर्दछु ।’ 

नेपालको समृद्धि र विकास नै सरकारको लक्ष्य भएको भन्दै खनालले यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकास र स्थानीयको आर्थिकस्तर सुधारमै महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे । 

‘नेपालको समृद्धि र विकास नै हाम्रो लक्ष्य हो । त्यसको प्राप्तिको लागि हामीले कृषि, पर्यटन, ऊर्जाजस्तै अरु कयौँ कार्यक्रमहरु अघि बढाउनु परेको छ’, उनले भने, त्यसकारण यो कार्यक्रमले यहाँहरुलाई एकताबद्ध मात्रै पार्ने छैन, देशैभरी सकारात्मक सन्देश प्रवाह गर्नेगरी यहाँहरुले पर्यटन व्यवसाय, कृषिमा आधुनिकीकरण, उद्योगधन्दा र  ऊर्जाको क्षेत्रमा रहेका असीमित सम्भावनाहरुलाई  विकास गर्नका लागि धेरै नै महत्व राख्दछ ।’ 

गोरु जुधाई कार्यक्रम मनोरञ्जनको माध्यम मात्रै नभएर संस्कृति पनि भएकाले यसको जगेर्ना गर्नुपर्नेमा मन्त्री खनालले जोड दिए ।  

यस्तै खाल्टे क्षेत्रको कृषि क्षेत्रको विकास, विस्तार र बजारीकरणका लागि सघाउन अफू तयार भएको भन्दै उनले केही त्यस्तो योजना भएर आफूकहाँ ल्याउन पनि मन्त्री खनालले आग्रह गरे । 

कृषिलाई माथि नउठाई सरकारले अघि सारेको आर्थिक समृद्धिको योजना सफल हुन नसक्ने भन्दै खनालले  विदेशिएका युवालाई फर्काउन कृषिमा क्रान्ति जरुरी रहेको पनि धारणा राखे । 

कार्यक्रममा स्थानीय समेत रहेका नेकपाका केन्द्रीय सदस्य ओम शर्माले गोरु जुधाई प्रतियोगितालाई स्थानीयबीचको मनोरञ्जनको रुपमा मात्रै नलिई यसलाई व्यापक प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने योजना बनाउन जरुरी रहेको बताए । 

पर्यटनबाटै यसक्षेत्रको समृद्धि सम्भव रहेको धारणा राख्दै केन्द्रीय सदस्य शर्माले गोरु जुधाई कार्यक्रम एउटा महत्वपूर्ण माध्यम हुन सक्ने बताए ।

काठमाडौं नजिकै भएर पनि यो क्षेत्र आर्थिक रुपमा पछि परेको अवस्थामा गोरुजुधाई जस्तो संस्कृतिलाई उपयोग गर्दै धेरैभन्दा आन्तरिक र बाह्य पर्यटक तान्न सकिने उनको धारणा थियो । 

हजारौंका सहभागिताका बीच  कार्यक्रममा ९ हल गोरु जुधाइएको थियो । विजेता गोरु धनीलाई ३ हजार ५ सय र प्रमाणपत्र, उप–विजेतालाई १ हजार ५ सय नगद र प्रमाण पत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप